कला

सुनिल थापाको जन्मदिन विशेष :  बलिउडमा ‘फ्लप’ नेपालमा ‘सुपरहिट’

सामीप्यराज तिमल्सेना |
जेठ ५, २०७८ बुधबार १७:४२ बजे

काठमाडौं  :  भनिन्छ, फिल्ममा भिलेन जति बलियो भयो हिरो उति नै बलियो हुन्छ । जब हिरो र भिलेन दुवै बलिया हुन्छन्, फिल्म बलियो हुन्छ । नेपालमा यसरी फिल्म बलियो बनाउने भिलेनको नाम लिँदा एक नम्बरमा सुनिल थापाको नाम आउँछ  । आजैको दिन भारतमा जन्मिएका सुनिल थापाले बलिउड फिल्मबाट करिअर सुरु गरेका थिए । अतिथि कलाकार हुँदै सन् १९८१ मा रिलिज भएको ‘ एक दुजे के लिए’बाट दमदार सुरुवात गरेका थापाको बलिउड करिअर अपेक्षाकृत भने रहेन तर  नेपाली फिल्ममा भने उनले नसोचेको सफलता पाए । आजबाट ६३ वर्ष लागेका सुनिल थापाको फिल्मी करिअरका केही रोचक किस्सा, उनको जन्मदिन विशेषमा ।

प्रोफेसनल फुटबलर, सौखिन फोटोग्राफर
सुनिल थापाको रुचि सुरुमा फुटबलमा थियो । स्कुले जीवनदेखि नै फुटबल खेलेका उनले मुम्बईका क्लबबाट प्रोफेसनल फुटबल खेलेका थिए । तर, यही दिनमा फोटोग्राफीको सौख बढेपछि उनले फोटोग्राफी पनि गरेका थिए । तर, यही समयमा उनले ऐतिहासिक फोटोग्राफी गर्ने अवसर पाए । सन् १९७४ मा सुनिल थापा कलकत्ताको जुनियर स्टेटसमेन पत्रिकाका लागि फोटोग्राफी गर्थे । यसबेला उनले भुटानका राजाको राज्याभिषेक समारोह खिच्ने सौभाग्य पाएका थिए । यसबेला उनले खिचेका केही फोटो नेसनल ज्योग्राफीमा छापिएको उनले बताएका छन् । 


देवानन्द देखेका थिए सुनिल थापामा एक्टर 
दिनहुँ तीन घन्टा शारीरिक अभ्यास गर्ने सुनिल थापा जवानीका दिनमा ह्यान्डसम अनि फिट थिए । मुम्बईमा बस्ने अनि ह्यान्डसम मान्छेले मोडलिङ अभिनयमा कोशिस नगर्ने प्रश्न थिएन । सुनिलले फुटबल वा फोटोग्राफीको बीचमा मोडलिङ पनि गरिरहेका थिए ।

यही क्रममा एक दिन देवानन्दले सुनिललाई भेटेपछि उनले सुनिललाई अभिनयमा कोशिस गर्न प्रेरित गरे । सुनिलले अन्तर्वार्तामा भनेका छन्, ‘फोटोग्राफीकै दौरानमा एक दिन देव आनन्दसँग मेरो भेट भयो । उनले सुनिल तिम्रो फेस एकदमै इन्टरेस्टिङ छ ।

म तिमीलाई फिल्ममा लिन्छु भने । नभन्दै मैले ब्रेक उनकै फिल्मबाट पाएँ । चेतन आनन्दको निर्देशन रहेको फिल्म ‘साहेब बहादुर’ मैले खेलेको पहिलो फिल्म हो ।’
‘एक दुजे के लिए’ चल्यो, चलेनन् थापा
यसको ५ वर्षपछि बल्ल उनले ‘एक दुजे के लिए’ मा भिलेन बन्ने मौका पाए । तमिल फिल्मका सबैभन्दा सफल निर्देशक मानिने के बालचन्दरको यो हिन्दी फिल्मले बक्स अफिसका थुप्र्रै रेकर्ड ब्रेक गर्यो तर यसको फाइदा सुनिल थापाले भने लिन सकेनन् ।

यो फिल्म रिलिज भएपछि अमिताभ बच्चन, जिनत अमान जस्ता कलाकारले पनि उनको तारिफ गरेको बताउँछन् थापा तर त्यसका बावजुद उनले सोचे जस्तो फिल्म भने पाएनन् । यो फिल्म भने थापाले संयोगले पाएका थिए । थापाका अनुसार उनी क्रिकेट म्याच हेर्न मद्रास पुगेका थिए ।

५ दिनमा सकिने म्याच ४ दिनमै सकियो । एक दिन बाँकी रहेको समयमा उनी मद्रासमा कसैलाई भेट्न गए । यसका लागि उनले मुम्बईबाटै रिकमन्डेसन लिएर गएका थिए । उनले थापालाई मद्रासका निर्माता÷निर्देशकसँग कुरा गरिदिने आश्वासन दिएका थिए । नभन्दै सातौं दिनमा ‘एक दुजे के लिए’का निर्देशक के बालाचन्दरको निर्माण टिमबाट उनलाई फोन आयो ।

के बालाचन्दरले उपयुक्त मानेपछि सुनिल थापाले लाइब्रेरियनको रुपमा यो फिल्ममा ब्रेक पाए ।  यसको एक वर्षपछि ‘आजकी आवाज’मा काम गरेका थापाले तेस्रो फिल्म पाउन थप चार वर्ष कुर्नुपरेको थियो । ४ वर्षपछि बल्ल उनले ‘मानव हत्या’ नामको फिल्म पाएका थिए । यो बीचमा आफू फेरि फुटबलमा फर्किएको थापा बताउँछन् । 

‘एक दुजे के लिए’ खेलेर पनि सोचेजस्तो फिल्म नपाएको बखतमा थापालाई प्रताप सुब्बाले ‘मसाल’ खेल्न बोलाएका थिए । सुब्बाले भनेका छन् , ‘एक दुजे के लिए सुपरडुपर हिट भए पनि सुनिल थापाले हिन्दी फिल्ममा खासै काम पाएका थिएनन् । सिक्किम सरकारले ‘मसाल’ बनाउन मलाई सम्झिएपछि मैले बोलाएर खेलाएको थिएँ ।’थापाका अनुसार यो फिल्म दार्जिलिङ सिक्किमतिर चले पनि नेपालमा भने रिलिज भएको थिएन । 

‘चिनो’ले सधैंलाई नेपाल बोलायो 
‘मसाल’ नेपालमा रिलिज नभए पनि ‘एक दुजे के लिए’को क्रेज नेपालमा कम थिएन । यही फिल्ममा देखेर सुनिल थापालाई मन पराएका थिए शिव श्रेष्ठले । पछि ‘चिनो’ बनाउने समयमा भिलेनको खोजी भइरहँदा शिव श्रेष्ठले नै सुनिल थापाको नाम सुझाए ।

शिवको सिफारिसमा निर्माता विष्णुगोपाल श्रेष्ठले सुनिल थापालाई फोन गरेर फिल्म खेल्न नेपाल बोलाएका थापा, यो फिल्मको सफलतापछि भने मुम्बई फर्किएनन् । यो फिल्ममा उनले निर्वाह गरेको ‘राते काइँला’ आइकोनिक भिलेन बन्यो । त्यसयता उनले २ सय ३० हाराहारी नेपाली सिनेमा काम गरिसकेका छन् । 

‘मेरी कोम’ले पनि भएन फाइदा 
सन् २०१३ मा नेपालमा सुनिल थापा सम्बन्धी समाचारले सनसनी मच्चायो । यो खबर थियो सुनिल थापाले ‘मेरी कोम’मा अभिनय गर्न लागेको । हिन्दी फिल्ममा अभिनय गर्न लागेको कुरा मात्र आफैंमा उति ठूलो खबर थिएन , ठूलो खबर थियो यो फिल्मलाई सञ्जयलीला भन्सालीले बनाउँदै थिए र सुनिल थापाले स्क्रिन सेयर गर्दै थिए, उस समयकी उचाइमा रहेकी अभिनेत्री प्रियंका चोपडासँग । यो फिल्ममा सुनिल थापाले प्रियंकाको बक्सिङ कोचको भूमिका निर्वाह गरेका थिए । 


टोरन्टोको फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर हुँदै यो फिल्म भारत र नेपालमा रिलिज भयो । फिल्मले व्यावसायिक सफलतासँगै समीक्षात्मक प्रशंसा पनि पायो । यो समय सबैले सोचेका थिए, सुनिल थापालाई अब चैं बलिउडमा प्रोजेक्टको ताँती लाग्छ ।

तर, जसरी ‘एक दुजे के लिए’ पछि पनि उनको करिअरमा कुनै चमत्कार भएन, ‘मेरी कोम’पछि पनि केही भएन । यो फिल्मको रिलिज पछि उनलाई बलिउडका केही फिल्मबाट अफर आएको भनिए पनि ८ वर्षमा त्यस्तो कुनै सिनेमा हेर्न पाइएको छैन ।

बरु उनलाई आज पनि नेपाली फिल्ममा अफरको कुनै कमी छैन । यसले यही निष्कर्ष निकाल्न सकिन्छ, सुनिल थापा नेपालमा जति ‘लक्की’ रहे बलिउडमा उत्तिनै ‘अनलक्की’ ।  


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x