कला

राजेश हमाल पनि एमसिसीको विरोधमा !

इकागज |
भदौ २६, २०७८ शनिबार ११:४३ बजे

काठमाडौं -  अभिनेता राजेश हमालको बोल्ने छनोट गज्जबको छ । अभिनेता हमाल दलितका मुद्दामाथि बनेको ‘जातका प्रश्न’ जस्तो टेलिभिजन कार्यक्रम चलाउँछन् तर जब दलितमाथि हिंसा हुन्छ हमालको बोली फुटेको सुनिन्न ।

एक वर्षअघि रुकुममा भएको दलित युवकको हत्यामा सारा मानिस बोले तर हमाल बोलेनन् । केही समयअघि रुपा सुनारले काठमाडौँमा कोठा नपाएको मुद्दा पनि राष्ट्रिय बहसको विषय बन्यो । तर हमालको बोली सुनिएन । तर दलित मुद्दामा काम गर्नेलाई यसले केही फरक पारेको छैन । हमाल चाँडै अर्को सिजनको ‘जातको प्रश्न’मा प्रस्तोताको रुपमा दोहोरिँदै छन् । 


यसरी राजेश हमाल बोल्नु पर्ने कुरामा बोल्दैनन् तर नबोल्दा पनि फरक नपर्ने विषयमा भने मध्यरातमा पनि सुरिन्छन् । खासगरी जब यो विषय वैदेसिक मामला हुन्छ । 
भ्याक्सिनको कुरालाई लिएर ब्रिटेनको संसदमा बहस भयो । महामारीको दोस्रो लहरको समयमा भ्याक्सिनका लागि हार गुहार गरिरहेको नेपालले कतैबाट पनि भ्याक्सिन सहयोग पाएन ।

कबोल गरेको भारतले दिएन । विश्वको अरु कुनै दानी राष्ट्र पनि यो समय देखिएनन् । यही समयमा ब्रिटेनमा केही सांसदले नेपाललाई भ्याक्सिन उपलब्ध गराउन त्यहाँ प्रधानमन्त्रीलाई दबाब दिए । नेपाली मिडियामा यसको समाचार आयो । राजेश हमालले पनि संसदको कुरालाई लिएर एउटा भिडियो जारी गरे । यसो गरिरहँदा उनले राजनीतिक नेतृत्वलाई संकटको समयमा राजनीति छाडेर जनताको चिन्ता गर्न आग्रह गरेका थिए । उनको कुरा सही नै थियो । 

यतिबेला भने देश एमसिसी (मिलिनियम च्यालेन्ज कर्पोरेसन)को बहसमा छिरेको छ । अमेरिकाको यो अनुदान लिन हुन्छ कि हुन्न भन्नेमा देश बाँडिएको छ । वैदेशिक मामला जो पर्यो, राजेश हमाल पनि चुप लागेर बस्न सकेनन् । उनले पनि शुक्रबार मध्यरातमा भिडियो जारी गर्दै आफ्नो भनाइ राखे ।

भिडियोमा उनले सिधा सिधा एमसिसीको विरोध गरेका छैनन् तर घुमाएर यदि जनता यसको विरुद्धमा छन् भने यो लागू गर्न नहुने उनको आसय स्पष्ट छ । यसो गर्दा उनले अमेरिकाको बिग्रँदो छविका कारण यस्तो अवस्था आएको पनि उल्लेख गरेका छन् । तर, यसो गरिरहँदा उनले एमसिसी के कारणले लिन नहुने वा के कारणले लिन हुने कुनै स्पष्ट धारणा राखेका छैनन् । लामो भिडियोमा उनले नेपालको भन्दा धेरै अमेरिकाको कुरा गरेका छन् । 

मध्यरातमा त्यत्रो मेहनत गरेर भिडियो बनाएपछि स्पष्टसँग जनतालाई दिशा निर्देश गर्ने गरी हमालको धारणा आएको भए हुन्थ्यो । तर, उनले स्पष्ट धारणा दिन सकेका छैनन् । गोलमोटल र अलमलमा पार्ने कुरामा त नेपालका नेता अगाडि छँदैछन् अब त्यसमा राजेश हमाल किन थपिनुपथ्र्यो र ? 

राजेश हमालले केही समयदेखि राजदूत पद ताकिरहेको हल्ला चल्ने गरेका छन् । वैदेशिक मामलामा मात्र बोल्ने उनको बानीले यो हल्लालाई बल पनि पुर्याइरहेको छ । तर, जल्दोबल्दो मुद्दामा दिशा निर्देशक गर्नुको साटो जनताको दुहाइ दिएर बोलिटोपल्ने कुराले कसरी उनको पक्षमा माहोल बन्ला र ?

 


Author

थप समाचार
x