कला

किम्फमा अफगानी शरणार्थीको कथा  पहिलो

सामीप्यराज तिमल्सेना |
मंसिर २९, २०७७ सोमबार १६:४८ बजे

काठमाडौं : अफगानको युद्धबाट भागेर इरान छिरेका शरणार्थीको पहिचानको कथा समेटिएको ‘दि सिल्युट’लाई अन्तर्राष्ट्रिय विधातर्फ प्रथम पुरस्कार प्रदान गर्दै किम्फको १८ औं संस्करण सोमबार सकिएको छ । इरान र फिलिपिन्स मिलेर निर्माण गरेको फिल्मलाई अफसानह सेलेरीले निर्देशन गरेकी हुन् । रुसले सन् १९८२ मा अफगानिस्तानमाथि आक्रमण गर्दा धेरै अफगानी इरानमा शरण लिन पुगेका थिए । फिल्मले इरानबाट आफ्नो मूलथलो खोज्दै अफगानिस्तान फर्कने तागी नामक चरित्रको कथालाई प्रस्तुत गरेको छ । 

अन्तर्राष्ट्रिय विधातर्फ नै टिना म्याडिसन निर्देशित फिल्म ‘दि बिलोभेड डटर’ले दोस्रो स्थान हात पार्यो । नेपालको तराई क्षेत्रमा हुने बालविवाहको कथा समेटिएको फिल्मले १४ वर्षीय रेखाको शिक्षक बन्ने सपना त्यसमा आउने अवरोधको कथा पेस गर्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो स्थान ‘बाटो’ नामक फिल्मले प्राप्त गर्यो । लुकास मिलार्ड र केट स्टकर निर्देशित फिल्मले पनि नेपालकै कथा पेस गरेको छ । हिमालय क्षेत्रमा बाटोले ल्याएको परिवर्तनले मीका र उनको परिवारमा आएको परिवर्तनको कथा पेस गरेको फिल्मलाई तीन सदस्यीय निर्णायक समितिले उत्कृष्ट मानेको हो । विजेता तीनै फिल्मले क्रमशः २ हजार, १५ सय र १ हजार अमेरिकी डलर पुरस्कार पाए ।


नेपाल र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिएको अवार्डमा नेपालबाट ‘दि स्नोपार्ड कलिङ’ र ‘दि सङ अफ क्लाउड’  विजेता बने । ‘दि स्नोपार्ड कलिङ’ नेपाल पनोरोमा अन्तर्गत डकुमेन्ट्री विधामा उत्कृष्ट बन्यो भने  अंकित पौडेल  निर्देशन गरेको लघु फिल्म ‘सङ अफ क्लाउड’ कथानक फिल्मतर्फ उत्कृष्ट बन्यो ।  दुवै फिल्मले क्रमशः १ लाख नगद हात पारे । अंकित निर्देशित ‘दि सङ अफ क्लाउड’  फिल्म यही सालको जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । त्यसयता यो फिल्म अटलान्टा फिल्म फेस्टिभल, पामस्प्रिङ इन्टरनेसनल सर्ट फेस्ट, दि नर्वेजियन सर्ट फिल्म फेस्टिभल, डोकु फेस्ट आदि फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ । फिल्मले इटलीमा पनि अवार्ड जितेको थियो । सिकुमा राई  निर्देशित ‘चरक दाना बाना ओ सिम्मा’ले जुरीबाट स्पेसल मेन्सन पाएको थियो । फिल्मले  जनजातिबीच लोकप्रिय रहेको पिउने संस्कारलाई  प्रस्तुत गरेको छ । 

५ दिन चलेको फेस्टिभल बिहीबार सुरु भएर सोमबार सकिएको  थियो ।  कोभिड १९ द्धारा सृजित परिस्थितिलाई दृष्टिगत गरेर यस पटकको महोत्सव भर्चुअल रुपमा सम्पन्न भएको थियो । फेस्टिभल अवधिभर १५ मुलुकका १८  वटा चलचित्रहरू प्रदर्शन भएका थिए । महोत्सवमा नेपाल पानोरामा अन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा चलचित्रहरू देखाइएका थिए ।  किम्फ २०२० को उद्घाटन विख्यात भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र ‘लुकिङ फर अ लेडी विथ फ्याङ्ग्स एन्ड अ मुस्टयाच’को प्रदर्शनबाट भएको थियो । यो चलचित्रको पूरै छायांकन नेपालमै भएको थियो । 

डकुमेन्ट्री र फिक्सन फिल्मबारे नेपाली युवा फिल्ममेकरहरु माझ छुट्टाछुट्टै परिसंवाद पनि महोत्सवको दौरान आयोजना गरिएको थियो यसैगरी दिवंगत लेखक पिटर जे कार्थकको हिमाल किताबद्धारा प्रकाशित ‘नेपाली म्युजिकमेकर्स’ नामक पुस्तकको नेपाली अनुवादको विमोचन पनि गरिएको थियो । प्रतियोगितामा रहेको फिल्मलाई अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार र फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डले जाँचपरख गरेका थिए ।  अन्तर्राष्ट्रिय खण्डमा १५ देशका १८ वटा चलचित्र र नेपाल पानोरामातर्फ १२ वटा चलचित्रबीच प्रतिस्पर्धा भएको थियो । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x