कला

पाँच महिनाभित्र रिलिज हुने नेपाली फिल्मलाई सुविधै सुविधा

सामीप्यराज तिमल्सेना |
माघ ५, २०७७ सोमबार १५:४० बजे

काठमाडौं :  सरकारले हल खुल्ने अनुमति नदिँदै चलचित्र विकास बोर्डले खुलेपछि रिलिज हुने चलचित्रलाई विभिन्न प्याकेजको घोषणा गरेको थियो । विकास बोर्डले निर्मातालाई रिलिजका लागि थोरै भए पनि आर्थिक भार कम होस् भनेर विज्ञापन खर्चदेखि इन्कोडिङसम्मका लागि राहत उपलब्ध गराउने घोषणा गरेकाे छ । बोर्डले प्रदान गर्ने यी सुविधा फिल्मले यो आर्थिक वर्षमा रिलिज गर्दा मात्र पाउने विकास बोर्डले जनाएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले यो आर्थिक वर्ष अर्थात जेठ अन्तिम भित्रमा रिलिज हुने फिल्मलाई मात्र बोर्डले यो सुविधा उपलब्ध हुने जानकारी गराएका छन् । सरकारले ९ महिनादेखि बन्द रहेका हल माघ १ गतेदेखि खोल्ने निर्णय गरेको थियो । त्यसयता शिव श्रेष्ठको निर्माण रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको छ ।


तर यो फिल्मले अपेक्षित दर्शक नपाएपछि निर्माता तथा वितरकले नयाँ फिल्म रिलिज गर्ने घोषणा गरेका छैनन् । अध्यक्ष दाहालले कोरोना महामारीका कारण रोकिएका फिल्मले पनि यही समयसीमा भित्र फिल्म रिलिज गर्दा मात्र बोर्डले उपलब्ध गराउने राहत पाउन सक्ने जानकारी गराए । ‘ महामारीका कारण सरकारले सिनेमा घर बन्द गर्दा मार्कामा परेका फिल्म तथा निर्माताका हकदेखि लिएर पहिले नै सुटिङ गरेर यतिबेला रिलिज गर्न फिल्मले पनि सोही अनुसारको सुविधा पाउँछन्,’ अध्यक्ष दाहालले भने, ‘बोर्डले उपलब्ध गराउने सुविधा लिने हो भने अबको ५ महिना भित्रमा फिल्म रिलिज गरी सक्नुपर्छ ।’

चलचित्र विकास बोर्डका सूचना अधिकृत चिरञ्जीवि गुरागाइँले बोर्डले मुख्यतः तीन क्षेत्रमा राहत उपलब्ध गराउने जानकारी गराए । उनका अनुसार बोर्डले निर्मातालाई ‘इन्कोडिङ’, ‘‘भर्चुअल प्रिन्टिङ कस्ट (भीपीसी चार्ज)’ र चलचित्रको प्रचार प्रसारमा प्रत्यक्ष नगद सहयोग गर्नेछ । बोर्डका अनुसार ‘इन्कोडिङ’ बापत कुनै पनि फिल्मले १ लाख बराबरको सहयोग पाउनेछन् भने ‘भीपीसी चार्ज’ बापत प्रति सो २ सय रुपैंया प्राप्त गर्नेछन् ।

‘भर्चुअल प्रिन्टिङ कस्ट( भीपीसी) भनिने यसमा निर्माताले ३ सय ५० देखि ४ सय रुपैंयासम्म प्रति सो बुझाउँदै आएका छन् । मल्टिप्लेक्सले प्रति सो ४ रुपैंया भीपीसी चार्ज लिन्छन् भने सिंगल थिएटरले ३ सय ५० । त्यसैगरी बोर्डले चलचित्र प्रचार प्रचारको सहयोगका लागि १ लाख रुपैंया बराबरको सहयोग उपलब्ध गराउन जानकारी गराएको छ । बोर्डको यो रकम निर्माताको पोस्टर खर्च लक्षित हो । 

चलचित्र विकास बोर्ड अध्यक्ष दाहालले निर्माताको राहतका लागि ८ वटा टेलिभिजनसँग पनि प्रचारप्रसारमा सहयोग गर्ने सम्झौता भएको जानकारी गराए । उनका अनुसार एपीवान टेलिभिजन, कान्तिपुर टिभी, प्राइम टेलिभिजन, एभिन्युज टीभी, जनता टिभी, न्युज २४, एबीसी टेलिभिजन र नेपाल टेलिभिजनसँग प्रचार प्रसारमा ५० देखि ६० प्रतिशतसम्म छुट गर्ने सम्झौता भएको छ ।

 विकास बोर्डले सिनेमा घरलाई भने दर्शक प्रवेश गराउने मुख्य प्रवेशद्धारमा स्वचालिता तापक्रम मापन गर्ने मेसिन वा थर्मल गन जडान गर्न तथा पीपीइ पोशाक लगायतका अन्य सुरक्षात्मक सामाग्रीहरूको व्यवस्थाका लागि राहत स्वरुप प्रति सिनेमाघरलाई ४० हजार रुपैंया उपलब्ध गराउने छ । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x