कला

जेम्स बन्ड सिरिजका सूत्रधार सिन कोनरीको निधन

एजेन्सी |
कात्तिक १५, २०७७ शनिबार २०:२७ बजे

तस्बिरः सिएनएन

जेम्स बन्ड सिरिजका पहिलो जेम्स बन्ड सिन कोनरीको निधन भएको छ । ९० वर्षको उमेरमा उनको बहामासमा निधन भएको परिवारलाई उद्धृत गर्दै लेखिएका समाचारले जनाएका छन् ।  

सन् १९६२ मा बनेको जेम्स बन्ड सिरिजको पहिलो फिल्म ‘डा नो’ खेलेको कोनरी सबैभन्दा धेरै जेम्स बन्ड सिरिज खेल्ने अभिनेता हुन्  । सन् १९६२ देखि १९८३ सम्म उनले बोन्ड सिरिजका ७ फिल्ममा अभिनय गरेका थिए । 


‘अनटचेबल’बाट सहायक अभिनेतामा अस्कर जितेका कोनरीले एउटा बाफ्टा र तीनवटा गोल्डेन ग्लोब अवार्ड जितेका छन् ।  अभिनयमा आउनुअघि उनले दर्जनभन्दा बढी साना ठूला काम गरेका थिए । स्कटल्यान्डको गरिब परिवारमा जन्मिएका कोनरीले सानामा दुध बेच्‍ने काम गर्थे । पछि नेभी, लरी चालक, मोडलिङमा हुँदै कोनरी थिएटरमा आइपुगेका थिए । पहिलो बन्ड फिल्ममा मौका पाउनुअघि पनि उनले थुप्रै फिल्ममा कसैले पनि भेउ नपाउने रोल गरेका थिए । 

बन्ड फिल्ममा मौका पाएपछि भने उनको करिअरले गति लिएको थियो । लगातार बन्ड सिरिजको ५ फिल्ममा देखिएका कोनरी अभिनित सबै फिल्म व्यापारिक रुपमा सफल मानिएका थिए । बीचका केही वर्ष अरु नै फिल्ममा अभिनय गरेपछि फेरि फर्किएर उनले ‘नेभर से नेभर अगेन’, र ‘ डाइमन्डस् आर फरेभर’मा अभिनय गरेका थिए । अमेरिकन फिल्म इन्स्टिच्युटले कोनरीलाई सिनेमा इतिहासका उत्कृष्ट हिरोको सूचीमा तीन नम्बरमा राखेको थियो । सिनेमा प्रेमीबीच गरिएको एक सर्वेक्षणमा कोनरी  जेम्स बन्ड सिरिज खेल्ने हिरोमध्ये सबैभन्दा उत्कृष्ट मानिएका थिए । 

हिंसा र नग्नतालाई सिनेमा स्थापित गर्नमा बोन्ड सिरिजको ठूलो हात रहेको भन्दै यसको आलोचना हुने गरेको छ । स्थापना कालका अभिनेता भएको हैसियतले यो आलोचनामा उनको पनि भाग लाग्छ । अन्यथा ६० वर्ष पुग्‍नै लागेको बन्ड फिल्मको इतिहासलाई यहाँसम्म ल्याइपुर्याउन उनले गरेको योगदान सिनेमा प्रेमीले सायदै बिर्सेलान् ।  
 


Author

थप समाचार
x