बैंक-वित्त

उच्च नाफा आर्जन गर्ने बैंकहरुको सूची फेरियो

इकागज |
मंसिर २, २०७७ मंगलबार १९:१९ बजे

काठमाडौं : कोभिड-१९ महामारीका कारण आर्थिक गतिविधि सुस्त हुँदा अधिकांश बैंकहरूको नाफा घटेको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७७-०७८ को पहिलो त्रैमासको अपरिस्कृत वित्तिय विवरण अनुसार, २७ मध्ये १८ बैंकको नाफा घटेको हो । 

वाणिज्य बैंक र विकास बैंकसँग मर्जर गरेका ग्लोबल आइएमई, प्राइम कमर्सियल लगायतका बैंकहरूको नाफा बढेको छ । एनआईसी एसिया बैंक नाफा विस्तारमा आक्रामक देखिएको छ । नबिल बैंक भने नाफा आर्जनमा अघिल्लो वर्षभन्दा सामान्य कमी आएको छ । 


विगतमा नयाँ बैंकहरुको तुलनामा राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट, नेपाल बैंक, एभरेष्ट, हिमालयन लगायत पुराना बैंकहरु नाफा आर्जनमा अघि थिए । पहिलो त्रैमासको अपरिस्कृत वित्तिय विवरण अनुसार, सबैभन्दा बढी नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । 

ग्लोबल आइएमइ बैंकले गत वर्षमात्रै जनता बैंकसँग मर्जर गरेको थियो । जसले गर्दा ग्लोबलको व्यवसायको आयतन बढेको हो । महामारीका बीच पनि आक्रामक कर्जा नीतिका कारण एनआइसीएसिया बैंक उच्च नाफा आर्जन गर्नेहरुमध्ये पनि तेश्रो स्थानमा छ । जसलाई प्राइम र प्रभु बैंकले पछ्याएका छन् । 

प्राइम बैंकले गत वर्षमात्रै कैलाश विकास बैंकसँग मर्जर सम्पन्न गरेको थियो । प्रभु बैंक पनि किस्ट बैंक, ग्राण्ड बैंक र प्रभु फाइनान्स मिलाएर बनेको हो । प्रभु बैंकको व्यवसाय विस्तार राम्रो देखिन्छ । पहिलो पाँचको सूचीमा रहँदै आएको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा घट्दा यसपटक पहिलो पाँचको सूचीबाट बाहिरिएको छ । केही विकास बैंकहरुलाई मर्जर गराएको एनएमबी बैंकको नाफाको वृद्धिदर पनि उच्च देखिन्छ । गत वर्षको सोही अवधिको तुलनामा एनएमबी बैंकको नाफा १६८.६५ प्रतिशतले बढेको छ ।

उच्च नाफा आर्जन गर्ने पहिलो पाँच बैंकको सूचीमा रहेकामध्ये ग्लोबल आइएमई बैंकले १ अर्ब ५ करोड ८८ लाख, नबिल बैंकले १ अर्ब ३ करोड ५७ लाख, एनआइसी एसिया बैंकले १ अर्ब २ करोड १० लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब १ करोड ७६ लाख र प्रभु बैंकले ८५ करोड रुपैँया नाफा आर्जन गरेका छन् । 

चालु आवको पहिलो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा नाफा बढाउने बैंकहरुमा ग्लोबल, एनआइसी एसिया, प्राइम, प्रभु र एनएमबीका अतिरिक्त मेगा, कुमारी, नेपाल बंगलादेश बैंक र सिटीजन्स बैंक रहेका छन् । सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकहरुमा सिभिल, एसबीआई, सेञ्चुरी, बैंक अफ काठमाण्डू र लक्ष्मी बैंक छन् । 


Author

थप समाचार
x