बैंक-वित्त

नबिल बैंकले ल्यायो ‘नबिल दिगो घर कर्जा’ याेजना

इकागज |
जेठ २२, २०८० सोमवार ७:५१ बजे

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवसको अवसरमा दिगो घर कर्जा योजनाको स्किम अघि सारिएको हो ।

आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नबिल बैकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले उक्त कर्जा योजनाको अनावरण गरेर अघि बढाइएको हो। उनले नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्याउने बताए । उक्त समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमा प्रकाश पारे ।


साथै बैकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल दिगो घर कर्जा एउटा शुरुवाती प्रयास भएपनि यसले समाजमा पार्ने सकारात्मक असर तथा महत्वका बारेमा आफ्नो धारणा राखे । उनले नबिलले ल्याएको यस कर्जाले सहुलियत दरमा कर्जा प्रवाह गरी यसले दिगो विकासमा टेवा पुर्याउने विश्वास गरेका छन् । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रबर्द्दन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल तथा स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको उपस्थिति रहेको थियो । 

नबिल दिगो घर कर्जा वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ । यस स्किमले देशको आवास निर्माण क्षेत्र भित्र वातावरण मैत्री र सामाजिक रूपमा जिम्मेवार अभ्यासहरू प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ । दिगो आवासमा लगानी गर्न चाहने ग्राहकहरूलाई सस्तो ब्याजदर र सेवा शुल्कमा कर्जा प्रवाह गरी यस योजनाले समाजमा वातावरण मैत्री अभ्यासहरू अपनाउन प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ।

वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर घर निर्माण गर्न चाहने ग्राहकहरूले यस योजना अन्तर्गत आवास कर्जा लिन सक्नेछन् । बैंकले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरुले बैकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन भने स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०४९ प्रतिशतमा नै प्राप्त गर्न सक्नेछन् । सात बर्ष भन्दा बढि अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशत र सात वर्षपछि बाँकी अवधिमा सात वर्ष पश्चात्को आधार दरमा १ दशमलव ५ प्रतिशत जोडि हुने व्याजदरमा प्राप्त गर्न सक्नेछन् ।  साथै यस स्किम अन्तर्गत ग्राहकले सेवा शुल्कमा पनि आकर्षक सहुलियत पाउनेछन् भने १ वर्षलाई दुई लाखसम्मको निशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराईनेछ । 

यस कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्ष सम्ममा चुक्ता गर्न सक्नेछन् ।


Author

थप समाचार
x