बैंक-वित्त

विश्व बैंक प्रक्षेपणः विश्व आर्थिक वृद्धिदर २.४ प्रतिशत हुने, लगातार तेस्रो वर्ष घट्ने क्रममा

इकागज |
पुस २५, २०८० बुधबार १५:३० बजे

काठमाडौँ - विश्व बैँकको २०२४ को ‘ग्लोबल इकनोमिक प्रोस्पेक्ट्स’ रिपोर्टले विश्व अर्थव्यवस्थाको गति ३० वर्षयताकै सबैभन्दा न्यून दरले वृद्धि हुने प्रक्षेपण गरेको छ । जसमा केवल २.४ प्रतिशत जीडीपी वृद्धि हुने अनुमान  गरिएको  छ। विश्व अर्थ व्यवस्थाले विविध आर्थिक  चुनौतीहरू र भू-राजनीतिक अनिश्चितताहरूकाबीच घट्दो आर्थिक वृद्धिको सामना गर्नुपर्ने  देखिएको छ ।  

रिपोर्टका अनुसार, विश्वव्यापी मन्दीको जोखिम कम भएको छ ।  अमेरिकी अर्थव्यवस्थाको शक्तिले महत्वपूर्ण भूमिका खेलेको छ। तथापि, अहिलेको अवस्था आगामी दिनहरुमा धेरै विकासशील देशहरूका लागि अन्धकारमय रहेको छ । जसमा प्रमुख कारकहरूमा न्युन वृद्धि, घट्दो निर्यात र दशककै सबैभन्दा कडा मौद्रिक नीतिहरू छन्।


विकासशील अर्थ व्यवस्थाहरूको वृद्धिदर केवल ३.९ प्रतिशत मात्र रहने अनुमान छ । जुन गत दशकको औसतभन्दा एक प्रतिशत अंक कम हो। निम्न आय  भएका  देशहरूको वृद्धि दर पनि निराशाजनक रहेको छ । जसमा केवल ५.५ प्रतिशत वृद्धि हुनेछ । जुन यसअघि अपेक्षा गरिएकोभन्दा कमजोर रहेको  छ।

विश्व बैंकका मुख्य अर्थशास्त्री इन्द्रमित गिलका अनुसार यदि यस्तै अवस्था जारी रह्यो भने २०२० को दशकलाई “विकासको अवसर नष्ट भएको दशक” को रूपमा सम्झिने छ। उच्च ऋण स्तर र खाद्य असुरक्षाका मुद्दाहरू विशेष गरी गरिब राष्ट्रहरूमा मुख्य चिन्ताका विषयहरू हुनेछन् ।

रिपोर्टले २०३० सम्मका प्रमुख आर्थिक विकास लक्ष्यहरू पूरा गर्न विकासशील देशहरूले लगानीमा उल्लेख्य वृद्धि गर्नुपर्ने बताएको छ। तर, यस्तो वृद्धिका लागि आवश्यक नीतिगत प्याकेज बिना, यस्तो वृद्धिको सम्भावना उज्ज्वल देखिँदैन। आर्थिक वृद्धिको लहर सिर्जना गर्न, विकासशील अर्थ व्यवस्थाहरूले आर्थिक र मौद्रिक नीतिहरूमा सुधार, अन्तर्राष्ट्रिय व्यापार र वित्तीय प्रवाह विस्तार, लगानी वातावरण सुधार र संस्थागत गुणस्तर बलियो पार्ने व्यापक नीति प्याकेजहरू लागू गर्नु पर्नेछ ।

साथै, रिपोर्टले विकासशील देशहरूमा लगानीको उच्च वृद्धि दरले विकासका विभिन्न उद्देश्यहरू पूरा गर्न मद्दत पुर्याउने कुरा पनि उल्लेख गरेको छ। लगानीको उच्च वृद्धि दरले विकासशील अर्थ व्यवस्थाहरूमा आर्थिक परिवर्तन गर्ने र ऊर्जा संक्रमणलाई गति दिनु साथै विकासका विभिन्न उद्देश्यहरू पूरा गर्न मद्दत पुर्याउने सम्भावनालाई पनि उजागर गरेको छ । विकासशील देशहरूले न्यून आर्थिक विकासको गति देखि माथि आउनको लागि व्यापक नीतिगत परिवर्तन र सुधारहरू लागू गर्नुपर्ने जरुरी भएको कुरामा पनि जोड दिएको छ।


Author

थप समाचार
x