बैंक-वित्त

[भिडियो/तस्बिरसहित]

गोकर्ण सहकारीका अध्यक्ष रोशनबाबु श्रेष्‍ठ बचतकर्ताको ४० करोड लिएर फरार

शुरज थपलिया |
पुस २६, २०८० बिहीबार १८:४४ बजे

काठमाडौँ-  गोकर्ण बचत तथा ऋण सहकारीका अध्यक्ष रोशनबाबु श्रेष्ठ बचतकर्ताको रकम लिएर फरार भएका छन् । काठमाडौँ गोकर्णेश्वर नगरपालिका-४ मा रहेको गोकर्ण सहकारीले बचतकर्ताको करिब ४० करोड रुपैयाँ हिनामिना गरेको बचतकर्ताले आरोप लगाएका छन् ।

बचतकर्ताहरू बिहीबार मध्यान्ह सहकारी घेराउन गर्न पुगेका थिए । आफूले बचत गरेको रकम खोज्दै आएको तर नभेटेको प्रमिला शेर्पाले बताइन् । केही महिनादेखि निरन्तर सहकारीमा पुगे पनि आफ्नो रकम नपाएको उनले दुखेसो पोखिन् ।


उनका अनुसार सहकारीका अध्यक्षले बचतकर्ताको ४० करोड रुपैयाँ हिनामिना गरी फरार छन् ।  उनले  १६ लाख रुपैयाँ बचत गरेको जानकारी दिइन् । बचत गरेको रकम माग्न आउँदा नपाइने गरेको उनले बताइन् । अध्यक्षलाई सम्पर्क गर्न खोज्दा पनि सम्पर्कविहीन भएको उनको भनाइ छ ।

सहकारी घेराउ गर्न पुगेका अर्का पीडित याम सुवेदीको पनि शेर्पाको जस्तै व्यथा छ ।  उनले पनि सहकारीमा चार लाख बचत गरे पनि अहिलेसम्म नपाएको गुनासो व्यक्त गरे ।

दैनिक सहकारीमा पुग्दा पनि अध्यक्षहरू नभेटिएको उनले बताए । सुवेदीका अनुसार सहकारीमा अहिले २-३ जना मात्र कर्मचारी छन् ।

'मेरो कारणले साथीहरूले रकम बचत गरेका थिए । साथीहरूले २० देखि ३० लाखसम्म बचत गरेका थिए । मेरो र साथीहरू सबैको रकम डुब्यो,'’ उनी भन्छन्, 'केही पैसा मात्र निकाल्न पाएको थिए । अहिले फेरि सहकारीका अध्यक्ष फरार छन् ।'

अर्का बचतकर्ता विजय लिम्बुको व्यथा पनि उस्तै छ । सहकारीमा १६ लाख बचत गरेको अध्यक्ष सम्पर्कमा नरहेको उनले बताए । 'हामीले खाइ नखाइ बचत गरेको पैसा सहकारीले खाएर पीडित बनाएको छ,' उनले भने ।

 

भिडियो


Author

थप समाचार
x