बैंक-वित्त

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

इकागज |
चैत १६, २०८० शुक्रबार १४:२३ बजे

फाइल तस्बिर

चितवन - चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले सहकारीमा जम्मा गरेको बचतलाई सुरक्षित गर्न आग्रह गरेका छन् । नेपाली काङ्ग्रेस चितवनको सहकारी विभागले पूर्वी क्षेत्र रत्ननगर र पश्चिमी क्षेत्रको भरतपुरमा आयोजना गरेको सहकारी संस्थासम्बन्धी अन्तरक्रियाका वक्ताले सहकारी पीडितको पीडा सुन्ने निकाय नै मौन बस्दा पीडितका समस्या अझै बल्झिँदै गएकाे बताए । 

पीडित बचतकर्ताले सहकारी कुन दिन बन्द हुन्छ भन्ने चिन्तामा आफूहरू रहेको बताए । उनीहरुले जिल्लामा नै केन्द्रीय कार्यालय भएर सञ्चालन भएका सहकारी केही हदसम्म जिम्मेवार बनेको भए पनि शाखाका रुपमा स्थापना भएका सहकारीलाई विश्वास गर्न नसक्ने वातावरण बनेको उल्लेख गरे । सहकारी पीडित शालिग्राम दुवाडीले जनताको पैसा एउटा सञ्चालक वा व्यवस्थापकले अपचलन गरेर हिँड्दा जनताको उठीबास भएको बताए । एउटै व्यक्ति पटक पटक अध्यक्ष भइरहँदा समस्या आएको उनको भनाइ थियो । साहरा सहकारीले मात्रै रु ८५ करोड हिनामिना गरेको दुवाडीले आरोप लगाए । 


उनले भने, “सहकारी पीडितको समस्या समाधान नभएसम्म जनताले सुःख पाउँदैनन् ।” 

यसैगरी, अर्का पीडित तुलसीराम सापकोटाले समाज अहिले सहकारी पीडितको कुरामा केन्द्रित हुन नसकेको बताए । सहकारी पीडितका कुराको सुनवाइ नभएको उनको गुनासो थियो ।

त्यस्तै सुरेशजङ्ग पाण्डेले शिव शिखर सहकारीमा रु  ६८ करोड अपचलन भएको बताए। पछिल्लो समय चितवनलगायत देशैभर देखिएका बचत तथा ऋण सहकारी संस्था सम्बन्धी विविध समस्याको समाधान सरकारले तत्काल खोज्र्नुपर्ने उनले बताए। 

कार्यक्रममा बिकु बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्दै सञ्चालकको मनपरीका कारण धेरै सहकारीमा समस्या देखिने गरेको बताए । सहकारी संस्थाले सहकारीमा सङ्कलन भएकामध्ये ९० प्रतिशत रकम आफ्नो प्रयोजनमा खर्च गर्दा समस्या बढ्दै गएको जानकारी दिए। सहकारीलाई नियमन गर्ने निकाय नै कमजोर हुँदा सञ्चालक र ऋणीले मनपरी गर्ने गरेको उनको भनाइ थियो ।

 कांग्रेस चितवनका सहकारी विभाग प्रमुख कमला दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेल, जिल्ला सहकारी सङ्घका अध्यक्ष भक्तिराम अधिकारीलगायतले वर्तमान समयमा सहकारीमा देखिएका समस्या समाधानका लागि सरकारले चासो दिनुपर्ने बताए ।
रासस


Author

थप समाचार
x