ब्लग

'०७४ सालको निर्वाचनमा नेताहरूले ठूलो गल्ती गरे, यसपाली राप्रपा धेरै माथि उठ्छ'

दिलविकाश राजभण्डारी |
कात्तिक २३, २०७९ बुधबार १०:५७ बजे

०७४ सालको निर्वाचनमा हाम्रा नेताहरूले ठूलो गल्ती गरेर कांग्रेससँग समन्वय गर्न खोजे । त्यसबेला जम्मा पाँच/सात सिटमा सीमित बसे । त्यो नेताको स्वार्थपन थियो । दुई/चार सिट ल्याएर सरकारमा बसौँ भन्ने भयो । आफ्नो मात्रै प्रगति गरौ, जनता र पार्टीको नभए नहोस् भन्ने भन्ने किसिमको नियत देखियो । त्यसले गर्दा गत निर्वाचनमा हामी साह्रै तल पुग्यौँ । निर्वाचनमा हामीलाई धुलो बनाइ दियो । तर अहिले हामीले पार्टीमा ठूलो परिवर्तन ल्यायौँ । पार्टी राजनीतिमा क्रान्ति ल्यायौँ । जसले गर्दा ती विचारका नेताहरूलाई पार्टीबाट आराम गर्ने बनायौँ । तत्कालीन अध्यक्ष कमल थापा हुनुहुन्थ्यो । दोस्रो पशुपति शमशेर र तेस्रो प्रकाशचन्द्र लोहनी हुनुहुन्थ्यो । अहिले हामीले तीनवटै नेतालाई सम्मानका साथ राखेका छौँ । कमल थापा बस्न सक्नु भएन । उहाँले पार्टी खोलेर सूर्यबाट उठ्नुभएको छ । हाम्रो पार्टीजस्तो परिवर्तन कुनै पार्टीले ल्याउन सक्या छैन । हाम्रो पार्टी सानो भइकन ठूलो परिवर्तन ल्यायौँ  । किनभन्दा राजेन्द्रजी युवा पनि हुनुहुन्छ । राजेन्द्रजीको भाग्य यो पार्टीलाई अगाडि बढाउने उत्तरदायित्व पाउनुभयो । उहाँको ठूलो भाग्य हो । त्यो पनि कर्मअनुसार पाउनुभएको छ । अहिले राजेन्द्रजी आउनुभयो । मैले भन्ने गरेको पनि थिएँ कि यो पार्टीमा यी तीन जना पूराना नेता भएसम्म प्रगती हुन सक्दैन । कारण ती आपसमै तनातान गर्छन् । पार्टीको प्रगति हुन सकेन । कुनै पनि नयाँ व्यक्ति आवस् जसले पार्टी उठाउन सकोस् भन्ने कुरा मैले कल्पना गरेको थिएँ । त्यो अहिले भइरहेको  । यसपालीको चुनावमा पार्टी धेरै माथि जान्छ । 

अरु सबै पार्टीको भन्दा हाम्रो विशेष चुनावी अभियान चलिरहेको छ । निर्वाचन आचारसंहितालाई पालना गर्दै हामी अगाडि बढेका छौँ । हाम्रा एजेण्डा र मुद्दा लिएर जनतामाझ गइरहेका छौँ । मतदाताको घरदैलोमा पुगिरहेका छौँ । प्रतिनिधि सभाका १४२ निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार छन् । प्रदेश सभामा पनि त्यही प्रकारले उठेका छन् । उत्साहजनक तरिकाले चुनावी अभियान चलिरहेको छ । राजनीतिक दलहरूका लागि हरेक निर्वाचन विशेष हुन्छन् नै । हाम्रा लागि यो निर्वाचन अझ विशेष छ । नयाँ नेतृत्व छ । युवा जोश र जाँगर छ । देशैभरी उम्मेदवार छन् । अर्को कुरा हाम्रो पार्टी नै अरुभन्दा भिन्न छ । यो कुरा सारा नेपालीजनलाई विदित छ । हाम्रो पार्टी राष्ट्रवादी पार्टी हो । यो राष्ट्रलाई कसरी अगाडि बढाउन सकिन्छ, बाहिरी हस्तक्षेप कसरी रोक्न सकिन्छ र नेपाली जनतालाई कसरी समद्ध र सुखी बनाउन सकिन्छ भन्ने हाम्रो मुख्य उद्देश्य छ । तर त्यो पूरा हुन सकेको छैन । हामीले जनमत पाएका छैनौँ । अर्थात् हामीले अहिलेसम्म काम गर्ने अवसर नै पाएका छैनौँ । यसपालीको चुनावमा हामीलाई आसा छ जनताले त्यो अवसर दिन्छन् । देशभरको माहौलले पनि त्यही संकेत गर्छ । यसपाली राष्ट्रवादी शक्ति बलियो हुन्छ । मतदाताको प्रतिक्रिया एकदम राम्रो छ । एकदम सकारात्मक छ । मलाई आसा छ पशुपति भगवान, पाथिभरा माताको निगाहा हामीप्रति हुनेछ । मेरो विशेष भन्ने चलन त ‘गड ब्लेस अस’। त्यो हुन्छ । उम्मेदवार बनेको सबैले जित्दैनन् । मैले सबै जित्छन्भन्दा हाँसो लाग्ला  । त्यो म भन्दिनँ । आठ/दश सिट त हाम्रो पक्काजस्तै छ । अझै थप केही उम्मेदवारले पनि चुनाव जित्नुहुन्छ । खासमा हाम्रो पार्टीले अझै धेरै जित्थ्यो । केही जित्नसक्ने नेताहरू समानुपातिकमा बसिदिनुभयो । जस्तो बुद्धिमान तामाङ धादिङमा जित्नुहुन्थ्यो । उहाँ उठ्नुभएन । पशुपतिशमशेर सिन्धुपाल्चोकबाट जित्न सक्नुहुन्थ्यो । उहाँहरू उठ्नुभएन । उहाँहरूलाई आफूमाथि विश्वास लागेन कि भन्ने शंका मलाई लाग्छ । त्यसले गर्दा पार्टीलाई अलिकता घाटा छ । तर पहिलेको भन्दा अहिले धेरै माथि छ । उठ्ने पूर्ण विश्वास छ । उठ्नुपर्छ । जनताको विश्वास जित्नुपर्छ । विश्वास अगाडि बढेको छ । जनताले खोजिरहेका छन् ।  हाम्रो नेतृत्वदायक भूमिका हुनेनै छ र गर्छौँ । यसपाली प्रत्यक्षसँगै समानुपातिकमा पनि हाम्रो धेरै राम्रो मत आउँछ । प्रतिनिधि सभामा कम्तीमा १५/२० सिट आउँछ । बागमती प्रदेशमा त म स्वयं पनि समानुपातिकको बन्द सूचीमा छु । जहाँसम्म मलाई लाग्छ बागमतीमा कमसेकम आठ जना जति आउँछन् । किनभने साढे तीन लाख मत आउने हाम्रो आँकलन छ ।


नेपाली जनता साह्रो थिचोमिचोमा परेका छन् । नेताहरूले गर्दा बेचिएर बस्नु परेको छ । युवा शक्ति विदेशिनु परेको छ । जनता र राष्ट्रको आसा पूरै गर्न नसके पनि हामी सेवा गर्नेछौँ । बेइमानी गर्ने छैनौँ । म धेरै आश्वासन र प्रतिबद्धता गर्दिनँ । हामी काम गर्ने हो । भ्रष्टाचार न्यूनीकरण गर्छौँ । शिक्षा, स्वास्थ्य निःशूल्क गर्ने कोसिस गर्छौँ । सनातन धर्म कायम गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान गराउँछौँ । उद्योग धन्दा, व्यवसायको ग्यारेन्टी गर्छौँ । समृद्ध नेपाल बनाउने कोसिसमा हामी लाग्छौँ । हामीले कुनै भ्रष्टाचार गर्ने छैनौँ । 

अरु दलहरूले लामालामा घोषणा पत्र ल्याएका छन् । कांग्रेसकै ५१ पेजको घोषणा पत्र छ । एमालेको २० हजार शब्दको छ । जुन यसअघिका निर्वाचनमा पनि आउँथे । के उनीहरूले भनेअनुसार गरे त ? तर हाम्रो प्रतिबद्धता धेरै छोटो छ । मुख्यतः हामीले पाँच वटा काम गर्छौ भनेका छौँ । पहिलो भ्रष्टाचार र शोषणको अन्त्य गर्छौँ भनेका छौँ । नेपालमा भ्रष्टाचार मौलाएको छ । यसलाई न्यूनीकरण गर्छौँ । हरेक कुरा किनबेच भइराख्या छ । त्यसलाई अन्त गर्न त समय लाग्ला । तत्कालै अन्त्य गर्छौँ भनेर म झुट बोल्दिनँ । घटाउँछौँ । पचास प्रतिशत भए पनि घटाउँछौँ । स्वास्थ्य र शिक्षा यस्तो महँगो छ । त्यसको अन्त्य गर्छौँ । जनतालाई औषधि उपचारको सुविधा र शिक्षाको सुविधा निःशुल्क गराउँछौँ । यसबाहेक सनातन धर्म संकृतिको जर्गेना गर्दै विश्वसामु नेपालीको पहिचान कायम राख्दै उद्योग, व्यवसाय र रोजगारी सुनिश्चितता गर्न र समृद्ध नेपाल, सुखी नेपाली बनाउने हाम्रो मुख्य एजेण्डा छ । 

यसबाहेक वर्तमान शासन प्रणालीमै हाम्रो असहमति छ । पूर्ण  समानुपातिक संसद् र संसद्ले मन्त्री हुन नपाउने व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग छ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी प्रधानमन्त्रीको व्यवस्था हाम्रो कल्पना र मुद्दा हो । अभिभावकीय राजाको स्थापना गर्ने हाम्रो एजेण्डा छ । जसले गर्दा पार्टीले मनपरी गर्न नपाउन् भन्ने छ। अभिभावकत्व राजाले गर्ने र राज्य र संविधानको संरक्षक हुने, राज्य र धर्मको संरक्षण गर्ने भन्ने छ । यसबाहेक मेरो व्यक्तिगत सोध्नुहुन्छ भने उद्योग व्यवसाय र रोजगारीको ग्यारेन्टी गर्नुपर्छ भन्ने मेरो एजेण्डा छ । त्यस हिसाबले हामी अगाडि बढ्छौँ । यी कुरा पूरा गर्न संविधान नै संशोधन गर्नुपर्छ । यदि हाम्रो दुई तिहाइ आए त गरिहाल्छौँ । नत्र क्रमसः गर्दै जाने कुरा हुन् । हामीले बोलेका कुरा पुरा गर्छौँ । कुराकानीमा आधारित


Author

दिलविकाश राजभण्डारी

राजभण्डारी राप्रपा वरिष्ठ नेता हुन् ।


थप समाचार
x