ब्लग

मध्यान्नमै अस्ताएको सूर्य:

अछाम हुँदै अस्पतालदेखि आर्यघाटसम्म : मृत्यु मिथ्या, हत्या सत्य !

विष्णु विश्‍वकर्मा |
माघ ७, २०७८ १४:४१ बजे

‘एलबी (विश्वकर्मा) जी हामीमाझ रहनु भएन ।’

बिहीबार बिहान पौने ६ बजे पत्रकार विष्णु परियारले फेसबुक ग्रुपमा एउटा झुरेस्ट लाइन लेखे । म छानाबाट खसेँजस्तो भएँ भन्नु शब्दको खर्च मात्र हो, म सिरिंग, जिरिंग, सनन्न, शून्य भएँ । 


दलित समुदायका क्रियाशील पत्रकारको ‘आडजोन’ नामको फेसबुक ग्रुप छ । 

‘अहिले कता ?’ आत्तिएर मैले सोधेँ ।

पत्रकार तथा अभियान्ता रुपा सुनारले रिप्लाई गरिन्, ‘पाटन अस्पताल ।’

तुरुन्तै मकालु खबरमा कार्यरत विष्णुलाई फोन गरेँ । 

‘हिजो राती अचानक अस्पताल लिएको रे । डाक्टरले मृत घोषणा गरेका भनेर एलबीको भाइले भनेका छन्,’ विष्णुले अलमलमै मलाई सुनाए ।

मसँग एलबीकै नम्बर थियो । डायल गरेँ ।

पहिलो फोन व्यस्त भन्यो । दोस्रोपटक पनि व्यस्त । तेस्रो पटक पनि व्यस्त भन्यो ।

धैर्यको बाँध टुट्ने बेला भइसक्यो । मुटुमा ‘हर्ट बिट’ बढ्यो । म अन्धकार पातालमा भासिएजस्तो भएँ । 

बुधबार बेलुकी मात्र एलबीले लेखेको इकागजका ओपेड ब्युरो चिफ विमल आचार्यले घरबाटै सम्पादन गरी पठाएको उनको पछिल्लो लेख मैले नै इकागजमा प्रकाशित गरेको थिएँ । 

किनकि अब म एलबीले लेखेका विद्रोहीपूर्ण लेखबारे लेखकसँग चाहेर पनि परामर्श गर्न सक्ने थिइनँ । बुधबार बेलुकी हामीबीच सल्लाह र कुराकानी भएको थियो । 

हरि दाइले एलबीको लेख आज नै प्रकाशित गरौँ, भोलिलाई अरु लेख पनि छन् । त्यसैले आजै हालौँ है भन्नु भएको कुरा झन् स्मरणीय छ । एलबीको अन्तिम लेख प्रकाशित गर्ने बेला शीर्षकबारे मात्रै हामीबीच झण्डै तीन घण्टाजति गन्थनमन्थन भएको थियो । 

उनले राती नै ओपेड ब्युरो चिफ विमल आचार्य  र प्रधानसम्पादक हरिबहादुर थापालाई धन्यवाद दिएर आर्टिकल सेयर गरेका थिए ।

मध्यरातमा इकागजलाई धन्यवाद दिएका उनले बिहान आफ्नै मृत्युको भयानक खबर छाडेर हामीलाई शोकाकुल बनाएका थिए । 

दिमागमा एलबी र विमल आचार्य थिए । 

उनको मृत्युको खबर पत्याउन म बिलकुल तयार थिइनँ । मेरो टुकटुके फोन कानमै थियो । 

चौथो पटकमा एलबीको नम्बरमा गरिएको फोन उनका भाइ ललितले उठाए । 

‘हिजो राती एक्कासि मुटु दुख्ने, सास फेर्न गाह्रो भएपछि अस्पताल ल्याएका थियौँ,’ उनले एलबीकै नम्बरबाट भने, ‘राती ३ बजे डाक्टरले मृत घोषणा गरिदिए ।’
अब मसँग कुनै शब्द रहेन ।'

हात काँपिरहेकै थिए । आफैँले नपत्याएको एलबीको मृत्युको खबर फेसबुकमा पोस्ट गरेँ ।

दिमागमा उनको अनुहार र इकागजमा छापिएका उनका लेख फनफनी घुमिरहेका थिए ।

धेरैलाई पत्याउन मुश्किल परिरहेको अपत्यारिलो खबरको कारण भने स्पष्ट थिएन ।

उनका भाइकै ‘क्वोेट’ राखेर समाचार लेखँे । 

समाचार लेखेपछि यस्तो लागेको थियो, ‘म हतारमा मृत्युको समाचार लेखिरहेको छु । एलबी भेन्टिलेटरबाट उठेर ‘म ज्युँदै छु’ भन्दै मलाई माफी माग्न लगाउनेछन् ।’

तर त्यसो भएन । विमल (आचार्य) दाइको फोन आयो । दाइले एलबीका स्मृति सुनाए । लामै कुराकानी भयो । 

कुराकानीपछि म पाटन जान्छु भनेँ । विमल दाइले अनामनगर आफ्नो डेरा हुँदै जानू भने ।

बाइक स्टार्ट गर्दा लाग्यो, ‘आज हतार छैन ।’

अनामनगरमा उहाँको डेरामा विमल दाइलाई एक्कैछिन भेटेपछि म पाटन अस्पताल लागेँ । कोठामा पनि मास्क लाइबसेको हुँदा मैले विमल दाइको अनुहार त हेर्न पाइनँ तर आँखामा भने गहिरो उदासी थियो ।  

पाटन पुगेपछि अस्पताल छिर्ने आँट आएन ।

लगनखेल चोकमा एक कप चिया खाएँ ।

हिजोसम्म ठीकठाक रहेको मान्छे कसरी रातारात मृत्यु शय्यामा पुग्छ ? मलाई यस्तै प्रश्नले लगातार घोचिरहेको थियो ।

एकछिनपछि म पाटन अस्पताल छिरेँ । साइनेक ब्लकको तेस्रो तलामा एलबीका आफन्त, पत्रकार र केही उनका शुभचिन्तक जम्मा भएका थिए ।

मैले एलबीका भाइलाई भेट्न खोजेँ । उनी भित्र अस्पताल प्रशासनसँग छलफलमा थिए ।

केहीबेरपछि उनी बाहिर आएँ । 

निराश अनुहार । अभिभावक गुमाएका उनको अनुहारले सबथोक बोल्थ्यो । तर हामी एलबीबारे बेखबर थियौँ ।

खास भएको के हो ? अस्पतालकै एक कोठामा लिएर मैले सोधेँ ।

‘राती ११ बजेतिर दाइलाई धेरै गाह्रो भयो । सास फेर्न समस्या देखिएको थियो । राम्रोसँग बोल्न सक्नुभएको थिएन,’ उनले भने, ‘हामीले हतारहतार नजिकै सिभिल अस्पताल लियौँ । सिभिलले पाटन पठायो । पाटन आइपुग्दा डाक्टरले मृत घोषणा गरिदिएँ ।’

यसभित्रको घटनाक्रम डरलाग्दो छ । जडीबुटीमा रहेको कोठामा अवस्था भयावह बनेपछि उनीहरुले सिभिल अस्पताल ल्याएका थिए । त्यति बेलासम्म एलबी बोल्न नसक्ने अवस्थामा पुगिसकेका थिए । 

उनी इसाराले कुरा गरिरहेका थिए । एलबीको अवस्था देख्न नसकेर उनीहरुले अस्पताल हिँडाएका थिए । 

गोजीमा केही हजार नोट थिए । सिभिल अस्पताल पुग्नेबित्तिकै आईसीयु, भेन्टिरलेटरमा राख्नुपर्ने अवस्था थियो ।

तर ओमिक्रोन संक्रमणले भयावह रुप लिएका बेला डाक्टरले पहिला सबै परीक्षण गर्नुपर्ने सर्त राखे । त्यसमा पीसीआर पनि थियो । 

हातमा ४ हजारको बिल आइपुग्यो । तर उनीहरुको हातमा जम्माजम्मी ३ हजार रुपैयाँ मात्र थियो । एक हजार रुपैयाँ पछि दिन्छु भने पनि सिभिलका कर्मचारीले मानेनन् ।

‘पीसीआर पनि गर्नुपर्छ भनेपछि चार हजार रुपैयाँ लाग्छ भने । तर हामीसँग तीन हजार रुपैयाँ मात्र थियो,’ ललितले त्यतिबेलाको पीडादायी क्षणबारे भने, ‘बाँकी पैसा पछि दिन्छौँ भने पनि उनीहरुले उपचार गर्दिएनन् । त्यसमाथि हामीसँग आइसीयू छैन भने ।’

एलबी पत्रकार थिए । तर सिभिलका कर्मचारीलाई उनी पत्रकार हुन् भन्ने परिचय दिइएन । उनका भाइ चरम आर्थिक संकटमा थिए । पैसाको डरले उनले दाइको पत्रकारको परिचय खोलेनन् ।

सिभिलले सामान्य जाँच गर्दा उनको अक्सिजन मात्रा घट्दै गएको थियो । तर साथमा अक्सिजन सिलिण्डर पठाइदिएन । अवस्था जटिल थियो । रेफरको नाममा उपचार गर्नबाट पन्छिदियो । 

सिभिलले अवस्था जटिल छ, पाटन अस्पताल लैजानू भन्यो । यतिञ्जेल एलबी अचेत भइसकेका थिए । होस छ, बचाउन सकिन्छ भन्ने आश लिएर उनीहरु पाटन लागे ।

तर पाटन अस्पतालको इमर्जेन्सीमा पुग्दा एलबीको प्राण गइसकेको थियो ।

‘पाटन अस्पतालमा आयसीयू छ । अस्पताल पुग्नेबित्तिकै राम्रोसँग उपचार हुन्छ भन्ने आश थियो,’ भाइ ललितले भने, ‘तर डाक्टरले चेक गर्दा मान्छे छैन, बितिसक्नु भयो भने । त्यसपछि सबै आश सकियो ।’

यतिबेलासम्म पत्रकार एलबी विश्वकर्माको मृत्यु भयो भनेर कुनै पनि पत्रकारलाई थाहा थिएन । किनकि उनका भाइ पत्रकार थिएनन् । अस्पताल पुगेका उनीहरुका आफन्त पनि पत्रकार होइनन् ।

बिहान भएपछि एलबीका पत्रकार साथी जसिन्द्रबाट विष्णु हुँदै यो खबर बाहिर आयो । पाटन अस्पतालको तेस्रो तलामा केही संख्यामा दलित समुदायका पत्रकार, अभियन्ता र राजनीतिक दलका नेता कार्यकर्ता थिए । सुनिएको थियो, वामदेव गौतमका पे्रस संयोजक विश्वमणि सुवेदी पनि बिहान अस्पताल पुगेका थिए । त्यसबाहेक अरु पत्रकार पाटन अस्पताल पुगेको देखिएन ।  

तर समयमा जानकारी नपाएपछि कसैको केही लागेन । केवल मृत्यु भयो भनेर पाटन अस्पतालले घोषणा गरिसकेपछि त्यतिबेला झन् केही गर्ने अवस्था रहेन । 

सिभिलको लापरबाहीबारे त्यहाँ केवल चर्चा भयो । कसैले थप सोधखोज गर्न आवश्यक ठानेन । यति गम्भीर अवस्था हुँदा पनि कसैलाई पनि समस्या नसुनाउने एलबीको व्यक्तिगत स्वभावले उनलाई मृत्युको मुखमा धकेल्यो ।  

‘यति धेरै साथीहरु रहेछन् । यति ठूलो नेटवर्क रहेछ । संघ संस्था रहेछन् । तर कसैलाई  पनि त्यो मान्छेले आफ्नो समस्या सुनाएन,’ पाटन अस्पतालमा उनका एक आफन्त भन्दै थिए, ‘यति जनामध्ये एक जनालाई मात्रै पनि म बिरामी छु भनेको भए त्यो मान्छे बाँच्ने रहेछ ।’

यस्ता थुप्रै चर्चा चले । अस्पतालले एक घण्टा भनेर तीन घण्टापछि कागजपत्र हातमा थमायो । एक पुरानो शववाहन एलबीको मृत शरीरअगाडि खडा गरिदियो । 

केही सीमित आफन्त, सीमित पत्रकार अगाडि कालो प्लास्टिकले बेरिएको एलबीको शव आइपुग्यो । हिजोसम्म जीवित मान्छे आज मृत भनेर आर्यघाट लैजानुपर्ने थियो ।

सबैभन्दा कारुणिक दृश्य मेरा लागि त्यही थियो । एकछिनपछि शव, शववाहनभित्र राखियो । केही आफन्त र पत्रकार शववाहनमै बसे । 

पाटन अस्पतालबाट साइरन बजाएर शववाहन अघि बढ्यो । हल्का पानी परिरहेको थियो । हामी त्यही रफ्तारमा बाइकमा शववाहन पछिपछि पशुपति आर्यघाटतिर लाग्यौँ । 

पाटन अस्पतालबाट लगनखेल, सातदोबाटो, ग्वार्को, कोटेश्वर, सिनामंगल हुँदै पशुपतिको विद्युतीय शवगृह अगाडि पुगेर शववाहन रोकियो । मेरो बाइकको पछाडि एलबीका आफन्त थिए ।

नाताले उनी एलबीलाई ज्वाइँ भन्थे । एलबी विवाहित हुन् । एक सन्तान पनि छन् । भाइ ललितका अनुसार एलबीकी श्रीमती र छोरा अछाममै छन् । उनीहरुले केवल मृत्युको खबर सुने । एलबीको अन्तिम अनुहारसमेत हेर्न पाएनन् ।

शववाहनबाट शव झिकेर श्रद्धाञ्जलि दिने ठाउँमा राखियो । एलबीका झण्डै दर्जन हाराहारी आफन्त र त्यही संख्यामा हामी केही पत्रकार पशुपतिमा एलबीलाई अन्तिम श्रद्धाञ्जलि दिन पुगेका थियौँ ।

केही थान सयपत्री फूलका माला एलबीको निर्जीव शरिरमाथि चढाएर हामीले शोकसभाको औपचारिकता पूरा गर्यौं । शवका लाइन थिए । चारदेखि पाँच जनाको शव पछाडि मात्रै हाम्रो शवको पालो थियो ।

क्रियाशील दलित पत्रकार संघले संकलन गरेको झण्डै ३२ हजार रुपैयाँ अध्यक्ष पवित्रा सुनारले एलबीका आफन्तलाई हस्तान्तरण गरिन् । इकागजमा प्रकाशित लेखमा उनी उम्दा विद्रोही चेत भएका युवा लेखकका रुपमा चिनिएका थिए ।

इकागजमा ओपेड हेर्ने विमल दाइले आफू अन्नपूर्ण पोस्टको फुर्सदमा संयोजक हुँदा पनि एलबीका लेख छापेका थिए । विमल दाइका शब्दमा ‘सबै लेखमा एलबी विद्रोही, मानवतावादी, सामाजिक सरोकारमा चुर्लम्म डुबेका थिए । पिँधमा पारिएका मानिसबारे शासक प्रशासक मात्र होइन, लेखक पत्रकार पनि मौन रहेको, प्रगतिशील भनिने लेखकहरु पनि बेखबर रहेको भनेर उनले एक दिनअघिको आफ्नो लेखमा लेखेका छन् ।’ 

उनी जातीय विभेदसँगै युवा, महिलादेखि समयसान्दर्भिक विषयमा तिखो प्रहार गर्थे । उनको मृत्युको खबर ढिलो भए पनि जति छिटो फैलियो, त्यो केवल सामाजिक सञ्जालमा सीमित थियो ।

घाटमा अन्तिम श्रद्धाञ्जलि दिन पत्रकार महासंघकै प्रतिनिधिको खडेरी देखियो । महासंघमा समावेशिताको नाममा तीनदेखि चार जनासम्म दलित समुदायकै प्रतिनिधि छन् । तर उनीहरुको अनुहारसम्म पनि पशुपति आर्यघाटमा प्रकट भएन । महासंघ, जो पत्रकारकै हो, पत्रकारको अभिलेख राखिन्छ भनिन्छ । तर, उसले निकालेको विज्ञप्तिमा उनी इकागजमा पनि काम गर्थे भनेर लेखेको रहेछ ।

पत्रपत्रिकामा विचारपृष्ठमा छापिने जति सबै लेखक त्यहीँका पत्रकार हुन् भन्नु पनि महासंघको नयाँ मानक नै होला । जातीय विभेदको चरम नमुना त पत्रकार महासंघले मसानघाटमा पनि देखाइदियो । समानता, समावेशिता स्वीकार्छु र विभेद मान्दिनँ भन्ने महासंघका नेताको भनाइ त हरेक दिन आत्महत्या गरिरहेको रहेछ ।

‘अझै पनि अस्तित्व स्वीकार छैन नि,’ रेडियो नेपालमा कार्यरत भीम घिमिरेले भने, ‘होइन भने मसानघाटमा पनि एउटा युवा पत्रकारको अन्तिम श्रद्धाञ्जलिमा कसरी केही जना दलित समुदायका पत्रकार मात्रै उपस्थित हुन्छन् ?’ 

एलबीका जिल्लावासी नेताहरु भीम रावलहरुलाई त एमसीसी र राष्ट्रघातकै चिन्ता छ । पश्चिमतिरका नेताहरुमा पूर्वतिरका नेताहरुमा जस्तो ‘जिल्लावाद, क्षेत्रीयतावाद’ छैन । किनकि उनीहरु राष्ट्रियभन्दा पनि अझ बढी अन्तर्राष्ट्रिय स्तरका/चिन्ताका नेता हुन् । भीम रावलले नबोलेर ठीक गरे, बोलेको भए आफ्नो पुँजीवादी, सामन्ती, पदलोलुप अनुहार लुकाउन एलबीको हत्यामा विदेशी षड्यन्त्र देखाउँथे । 

अनि कोभिड, एउटा मीठो बहाना थियो । सबैले बहानामै सीमित राखिदिए । कसैको गुनासो थिएन । एकछिनपछि टीभी टुडेको भ्यान आयो । आफ्ना सहकर्मीलाई अन्तिम बिदाइ गरेर उनीहरु फर्किए । त्यसबाहेक इमेज टेलिभिजनलगायत अरु सञ्चारमाध्यमका पनि पत्रकार थिए ।

मौसमविद्ले पानी पर्छ भनेर पूर्वानुमान गरेका थिए । पाटन अस्पतालदेखि हल्का परिरहेको पानी पशुपति अगाडि जोडले पर्न थाल्यो । पानी आएपछि हामी पनि केही पर ओत लाग्न गयौँ । एलबीका आफन्तले शव कुरिरहे ।

झमक्क रात परेपछि पालो आयो । तर त्यतिन्जेल सबै लाखापाखा लागिसकेका थिए । पालो आएपछि चार जनाले शव उठाएर विद्युतीय शवदाह गृहमा लगे । 

हामीले हेरिरह्यौँ । हेर्नुबाहेक के नै बाँकी थियो र ? एकछिनपछि शवदाह गृहको चिम्नीबाट कालो धुवाँ निस्कन थाल्यो ।

लाग्यो– एलबी त्यही धुँवा हुँदै न्यायको खोजमा अन्यायको मार्ग पूरा गर्दैछन् । मर्नु (खासमा मारिनु) एक दिनअघि बाजुराकी सप्पा नेपालीले आफ्ना चार सन्तानसहित भोकको जलसमाधि लिएकोबारे न्यायपूर्ण लेख लेखेका पत्रकार २४ घण्टा नहुँदै उनै सप्पा आमाको काखमा पुगे । न त सप्पाको त्यो आत्महत्या थियो, न त एलबीको मृत्यु । समाचारमा आत्महत्या र मृत्यु शब्द आए पनि गहिरिएर हेर्दा यी दुवै पैसातन्त्र र लुटतन्त्रले निम्त्याएका निर्मम र पाशविक हत्या हुन् । 

पानी परिरहेको थियो । ज्याकेट भिजेको थियो । बाइक स्टार्ट गरेर घट्टेकुलोतर्फ लागेँ । 

बाइकमा बत्तिएर कोठा आउँदा मनमा प्रश्नका अनेकौ ज्वारभाटा निस्किए ।

- अचेल सामाजिक सञ्जालमा स्टाटस लेखेर सयौँ लाइक कमेन्ट पाउने मान्छे किन यति धेरै गम्भीर समस्या अर्को मान्छेलाई सुनाउन सक्दैन ? 

- सामाजिक सञ्जालमा हरेक गतिविधि अपडेट गर्ने मान्छेलाई मान्छेप्रति अलिकति पनि विश्वास छैन, हो ?

- कसैले सामाजिक सञ्जालमा ‘जीवितै छु’ भन्दा हामी किन उसबारे थप सोधेखोज गर्न आवश्यक ठान्दैनौँ ? (केही अघि उनले जीवितै छु भनेर फोटो हालेका थिए ।)

- उसको अवस्थाबारे थाहा पाएका पत्रकारले किन यति गम्भीर कुरा अर्को साथीसम्म पुर्याउन नसकेका होलान् ? 

- सास मात्रै बोकेर अस्पताल पुगेको बिरामीलाई सिभिल अस्पतालले उपचार गर्न छाडेर किन मृत्युको मुखमा धकेल्याे ?

- एक हजार रुपैयाँ अपुग भएको बिरामीको पहिला उपचार थाल्ने कि पैसा उठाउन लाग्ने ?

- अस्पतालले जब नाममा विश्वकर्मा र ठाउँमा अछाम देख्यो, तब उसले एक हजार रुपैयाँमै पनि नपत्याएकै हो ?

- मानिसको जीवनभन्दा पनि पैसा ठूलो हो भने अब हरेक पत्रकारले हरेक समाचार लेख्नु अगाडि शब्दअनुसार पैसा खोजे भने अवस्था के होला ? सबैको समस्या र पेसाको महत्व त बराबर नै होला होइन र ? 

- के कुनै व्यक्तिले लेख लेख्नु मनको भडास पोख्नु मात्रै हो ? 

- सिभिल अस्पतालको गम्भीर लापरबाहीबारे प्रश्न उठाउने ? सत्यको खोजी गर्ने ? वास्तविकता बुझ्ने पत्रकारका संघसंस्था कुन दुलोमा हराए होलान ? 

- सास बचाउन सक्ने सम्भावना हुँदाहुँदै सिभिल अस्पतालले अक्सिजन सिलिन्डरसमेत नदिई रेफर गर्ने नाममा एक हजार रुपैयाँ नदिएको भन्दै मान्छेलाई मर भनेर किन छाडिदिएको होला ?

- मानिसको जीवन छँदा आँखा चिम्लने र कान थुन्ने हामीले मृत्युपछि यति विघ्न किन गोहीका आँसु झार्छौं ? के सामाजिक सञ्जालले हाम्रो संवेदना सिध्याइसकेको हो ?

यस्तो अनेकौँ प्रश्न मनमा उब्जिएका थिए । कति लेख्न सकियो ? कति लेख्न सकिएन । मनमा प्रश्नको वेग रोक्न सकिएन । कति प्रश्न, प्रश्न मात्रै थिएनन् । आफैँले देखेको वास्तविकता थियो । 

यस्ता अनेकौ प्रश्न उब्जिए पनि चुपचाप थिएँ । तर कोठामा आइपुग्दा मनको आक्रोश मनमै राख्न सकिन । अनि फेसबुकमा लेखिदिएँ:

‘सिभिल अस्पतालले पत्रकार एलबी विश्वकर्माको हत्या गरेर पाटन पठायो ।

पत्रकार महासंघले मसानघाटसम्म जातीय विभेदको चरम नमुना देखायो ।

अनि दलित संघसंस्था कोमामा छन् ।’



Author

थप समाचार
ad
x