आमचुनाव २०७९

जसलाई त्यही जनताले हराए, त्यही जनताले जिताए

इकागज |
मंसिर ८, २०७९ बिहीबार १४:२४ बजे

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्‌मा प्रवेश गरेका छन् ।

उनले यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ-२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।


पौडेल २०७४ को निर्वाचनमा तत्कालिन वामगठबन्धनका कृष्णकुमार श्रेष्ठसँग छ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत तनहुँ-१ बाट निर्वाचित भएर पौडेलले छैटौँ पटक संसद्‌को यात्रा तय गरेका छन् । यसका लागि पौडेलले नेकपा (एमाले)का एकबहादुर रानालाई पाँच हजार तीन सय ७५ मतान्तरले पराजित गरे । 

कुल ६६ हजार एक सय ५८ मत खसेकोमा चार हजार मत बदर भएको छ । पौडेलले २५ हजार तीन सय १८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । प्रतिस्पर्धी रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार आठ सय ७८, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राप्रपाका विनोद घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गरेका छन् । 

जिल्लाको अधुरा रहेका विकास योजनालाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै आएका पौडेलले कार्यकारी पदमा रहेर काम गर्ने इच्छा रहेको बताएका छन् । देशमा सुशासन र विकासका लागि कार्यकारी पदमा बस्ने चाहना भएको बताउँदै पौडेललाई तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उक्त बाटो खुलेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।

विसं २००१ को असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए ।

पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी भएका थिए । 

पौडेल २०४८ सालमा तनहुँ-१ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसकेका छन् । 

उनले सभामुखको जिम्मेवारी पनि निभाइसकेका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि भएका थिए । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका छन् ।

जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसले दुवै प्रतिनिधिसभामा विजय हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले दुई प्रदेशसभा, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले एक/एक प्रदेशसभामा विजयी हासिल गरेका छन् ।

नेपाली कांग्रेसले तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ र २ मा विजयी भएको छ । साथै,  निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ नेपाली काङ्ग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले १५ हजार तीन सय ६७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेकपा (एमाले) का रामबहादुर गुरुङले ११ हजार एक सय ५५ मत प्राप्त गरेका छन् । साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान विजयी भएका छन् । चुमानले १३ हजार दुई सय ७१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा (एमाले) का पूर्णबहादुर गुरुङले दश हजार पाँच सय तीन मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा (एमाले) का श्यामराजा महत निर्वाचित भएका छन् । महतले १५ हजार छ सय ६५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ९९ प्राप्त गरे ।

साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेपाली काङ्ग्रेसका जीतप्रकाश आले विजयी भएका छन् । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा (एमाले) का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गरे ।

तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका शङ्कर भण्डारी विजयी भएका छन् । भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले) का किरण गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गरे । रासस


Author

थप समाचार
x