सिनेमा

कलाकार संघको महासचिवमा सचिव पनाहको पनि उम्मेदवारी

इकागज |
माघ २१, २०७९ शनिबार १६:३ बजे

काठमाडौँ - नेपाल कलाकार संघको चैत ४ गते हुने साधारण सभामा नयाँ कार्यसमितिका लागि उम्मेदवार घोषणा गर्ने क्रम जारी छ । कार्य समितिको अध्यक्ष पदका लागि आधा दर्जन हाराहारी कलाकारले उम्मेदवारी घोषणा गरिसकेका छन् भने उपाध्यक्ष र महासचिवमा पनि घोषणा गर्नेक्रम जारी छ ।

यही क्रममा वर्तमान कार्य समितिमा सचिवको जिम्मेवारीमा रहेकी पनाह अधिकारीले पनि महासचिवमा उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । उनले इकागजसँग कुरा गर्दै वर्तमान कार्य समितिमा आफूले गरेको योगदान र अनुभवका कारण महासचिवको जिम्मेवारी हाँक्न तयार रहेको बताएकी छिन् । 


चार वर्षअघि भएको चुनावमा उनले सचिव पदमा उम्मेदवारी दिएर प्रतिद्धन्द्धीलाई हराएकी थिइन् । उनले केही दिनमै व्यापक एजेन्डासहित प्रस्तुत हुने बताउँदै महासचिवमा प्रत्यासी बन्ने जानकारी गराएकी हुन् ।

‘चार वर्ष मैले सचिवको रुपमा सफल कार्यकाल बिताएकी छु । कतिपय अवस्थामा मैले महासचिवको पनि जिम्मेवारी निर्वाह गरेकी छु,’ उनले भनिन्, ‘त्योबाहेक कलाकार संघलाई डिजिटाइज गर्ने र देशभरका कलाकारलाई एउटै मालामा जोड्ने मेरो प्रयत्न छ । मेरो उम्मेद्वारी यसैका लागि हो ।’

यसअघि महासचिवका लागि धर्मेन्द्र आचार्च र राजेश महर्जनले प्रत्यासी बन्ने घोषणा गरिसकेका छन् । वर्तमान महासचिव चेतबहादुर सिंहले पनि महासचिव  दोहोर्याउने घोषणा गरेका छन् । पनाह पनि थपिएपछि आउँदो कलाकार संघको निर्वाचनमा अध्यक्षझैँ महासचिवका लागि पनि चौपक्षीय भिडन्त हुने भएको छ । 


Author

थप समाचार
x