सिनेमा

मनोज बाजपेयीको ‘बन्दा’ ओटीटीपछि हलमा लाउने तयारी

इकागज |
जेठ १८, २०८० बिहीबार १०:६ बजे

मुम्बई -भारतीय सिनेमा उद्योगको इतिहासमा पहिलो पल्ट ओटीटीमा रिलिज भएको फिल्म हलमा फर्कने भएको छ । आजभन्दा १० वर्षअघि भारतमा पहिलो पल्ट ओटीटीको अवधारणा आएको थियो । त्यसयता हलमा रिलिज भइसकेका फिल्म ओटीटीमा आउने वा सिधै ओटीटीमा रिलिज हुने परम्परा थियो ।

तर मनोज बाजपेयी अभीनित ‘सिर्फ एक बन्दा काफी है’ जि फाइभमा रिलिज भएर व्यापक हिट भएपछि हलमा आउने भएको छ । निर्देशक अपूर्व सिंह कार्कीले फिल्मलाई हलमा लगाउने तयारीका बारेमा जिफाइभ र वितरकबीच कुराकानी भइरहेको बताएका छन् ।


आफूलाई साधु दाबी गर्ने आशाराम बापुको जीवनी प्रेरित फिल्मले नाबालिगको न्यायका लडाइँ र त्यो लडाइँलाई साथ दिने वकिलको कथा प्रस्तुत गर्छ । मनोज बाजपेयीले निर्वाह गरेको वकिलको भूमिका पनि जोधपुरको सत्र न्यायालयका वकिल पीसी सोलान्की प्रेरित रहेको बताइएको छ । 

निर्देशक कार्कीले पहिलो पल्ट ओटीटीमा रिलिज भएको फिल्म हलमा रिलिज गर्न भइरहेको चर्चाले आफूलाई उत्साहित बनाएको बताएका छन् । उनले हलमा रिलिज हुँदा फिल्म थप मानिससम्म पुग्ने र फिल्मले बोकेको मुद्दा थप सशक्त हुने बताएका छन् । 
 

यो फिल्म जि फाइभमा मे २३ मा रिलिज भएको थियो । 


Author

थप समाचार
x