सिनेमा

स्कुलमा सिनेमा पढाइ : १० कक्षामा होइन, ११ र १२ मा

सामीप्यराज तिमल्सेना |
कात्तिक ३, २०७७ सोमबार १२:५३ बजे

काठमाडौं : पाठ्यक्रम विकास केन्द्रले प्लस टु लेभलमा फिल्म तथा डकुमेन्ट्री पढाउने तयारी गरेको छ । चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले आधारभूत तहदेखि नै  फिल्म पढाउने तयारी अन्तिम चरणमा पुगेको दाबी गरेका थिए । तर, नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको पाठ्यक्रम विकास केन्द्रले ११ र १२ कक्षामा मात्र चलचित्र पढाइने जानकारी गराएको छ । विकास बोर्डले आधारभूत तहमा चलचित्र पढाउने भने पनि पाठ्यक्रम अधिकृत खिलानाथ धमलाले आउँदो शैक्षिक सत्रदेखि ११ र १२ मा मात्र फिल्म पढाइने जानकारी गराए ।

‘हामीले आउँदो शैक्षिक सत्रबाट प्लस टु लेभलमा फिल्म पढाउने कुरा समावेश गरेका छौं । यताको अनुभव हेरेर स्कुलतिर जाने कि नजाने निक्र्योल होला,’ उनले भने । पाठ्यक्रम विकास केन्द्रले सिनेमासँगै डकुमेन्ट्री पढाइलाई पनि पाठ्यक्रममा समावेश गरेको छ । धमलाले यो विषय ‘फिल्म तथा डकमेन्ट्री’ शीर्षकमा पाठ्यक्रममा थपिन लागेको जानकारी गराएका छन् । धमलाका अनुसार दुवै तहमा विद्यार्थीले सय–सय पूर्णांक यो विषय पढ्न सक्नेछन् ।


तर, प्लस टु लेभलमा सिनेमाको पढाइ अनिवार्य भने रहने छैन । सिनेमाको पढाइलाई ऐच्छिक विषय अन्तर्गत राखिएको छ । कक्षा ११ मा अनिवार्य रुपमा पढ्नुपर्ने तीन विषय रहेका छन् भने बाँकी ३ विषय ऐच्छिक रुपमा विद्यार्थीले छान्न पाउनेछन् ।

पाठ्यक्रम विकास केन्द्रले यसरी छान्न पाउने विषयमध्ये एकमा सिनेमा तथा डकुमेन्ट्रीलाई पनि राखेको हो । धमलाले प्रस्ट पार्दै भने, ‘ ऐच्छिक विषयअन्तर्गत चार समूह छन् । तेस्रो समूहमा सिनेमा तथा डकुमेन्ट्रीलाई समावेश गरिएको छ । इच्छुक विद्यार्थीले यो विषय छानेर पढ्न सक्छन् ।’ तर, विद्यार्थीले चाहँदैमा मात्र यो विषय पढ्न सजिलो भने छैन ।

कलेजले पनि यो विषय पढाउने र त्यसका लागि चाहिने पूर्वाधारको तयारी गर्नुपर्छ । सिनेमा तथा डकुमेन्ट्री सैद्धान्तिक मात्र नभएर प्राक्टिकल पनि गर्नुपर्ने भएकाले यसका लागि कति कलेज पूर्वाधार थप्न तयार हुन्छन्, त्यसले पनि सिनेमाको पढाइलाई असर गर्नेछ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम ड्राफ्ट भइरहेको र सकिने बित्तिकै सरोकारवालासँग बृहत छलफल गरेर लागू गर्ने बताए । ‘सरोकारवाला सबैसँग छलफल गरेर लागू गर्छौं । चलचित्र विकास बोर्डलाई पनि छलफलका लागि प्रारम्भिक ड्राफ्ट पठाइसकेका छौं,’ धमलाले भने ।

चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले आधारभूत तहदेखि नै  फिल्म पढाउने तयारी अन्तिम चरणमा पुगेको दाबी गरेका थिए । तर, पाठ्यक्रम विकास केन्द्रले ११ र १२ कक्षामा मात्र चलचित्र पढाइने जानकारी गराएको छ ।

सिनेमाको प्रारम्भिक ड्राफ्ट फिल्म निर्देशक विनोद पौडेलले तयार गरेका हुन् । तर, समितिमा डा.रामचन्द्र पौडेल र केशव पाण्डे पनि छन् । विनोद पौडेलले आधा थ्योरी र आधा प्राक्टिकल गरी १ सय ६० घन्टाको कोर्स प्रस्ताव गरेको जानकारी गराए । ‘८० घन्टा थ्योरी र ८० घन्टा प्राक्टिकल गर्ने हिसाबले मैले कोर्स डिजाइन गरेर पाठ्यक्रममा पठाएको थिएँ  । समितिका अन्य सदस्यलाई पनि पठाएको भन्ने जानकारी पाएको छु । बीचमा के भइरहेको छ, मलाई जानकारी छैन,’ विनोदले इकागजसँग भने । उनले कोर्समा विश्व सिनेमाको इतिहास, नेपालको इतिहास, सिनेमा बनाउने प्रक्रिया र अभिनय, छायांकन आदि विषय प्रस्ताव गरेको पनि जानकारी गराए ।

समितिमा रहेका अर्का सदस्य केशव पाण्डेले भने विनोद पौडेलले प्रस्ताव गरेको पाठ्यक्रममा डकुमेन्ट्रीको वजन कम भएकाले आफ्नोतर्फबाट थपेर पठाएको बताए । तर, पाण्डे प्रस्तावित पाठ्यक्रम धनी कलेजले मात्र पढाउन सक्ने बताउँछन् । ‘पाठ्यक्रम विकास केन्द्रले जसरी सय पूर्णांक पढाउने गरी कोर्स बनाएको छ, यो मुख्य सहरका धनी कलेजले मात्र धान्न सक्छन् । तर, हामीले गाउँ गाउँमा पनि यो विषयलाई पढाउन सक्दा फिल्म लिटरेसी बढेर समग्र उद्योगलाई फाइदा हुन सक्थ्यो,’ पाण्डे भन्छन्, ‘ खतरनाक फिल्ममेकर निकाल्ने उद्देश्य हो भने यो पाठ्यक्रमले त्यो चाहिँ पूरा गर्न सक्छ जस्तो लाग्दैन ।’

पाण्डे विद्यार्थीमा फिल्मप्रति उत्सुकता जगाउन सामाजिक शिक्षा जस्ता विषयमा एक दुई च्याप्टर राखेर सुरु गर्दा ज्यादा प्रभावकारी हुने धारणा राख्छन् । ‘मलाई त खासमा मोबाइल फिल्म मेकिङ असरदार हुन्छ भन्ने लाग्छ । गाउँदेखि सहरसम्म सबैले प्रयोग गर्न सक्छन् । सकेसम्म सजिलो माध्यममा जानु राम्रो ।  टिकटिकको लोकप्रियता हेर्दा पनि यो कुराको आँकलन गर्न सकिन्छ,’ पाण्डे भन्छन् । तर, पाठ्यक्रममा सिनेमा तथा डकुमेन्ट्री समावेश गर्नु राम्रै सुरुवात भएको उनको ठम्याइ छ । पाठ्यक्रम विकास केन्द्रले यसअघि नै गायन, नृत्य, वाद्यवादन, मूर्तिकला, चित्रकला, फेसन डिजाइनिङ आदि विषय प्लस टु लेभलमा पढाउने मनसायले पाठ्यक्रममा समावेश गरिसकेको छ । 
 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x