सिनेमा

दसैंको मुखमा किन फ्लोरमा फिल्म ?

सामीप्यराज तिमल्सेना |
कात्तिक ४, २०७७ मंगलबार १३:२० बजे

फिल्म आइएम २१ को सुटिङ क्रु

काठमाडौं : महामारी भिलेन नबन्दो हो त निर्माता प्रज्वलशमेशेर जबराको ‘आइएम ट्वान्टी वान’ यतिबेला हलमा चलिरहेको हुन्थ्यो । प्रज्वलले गत साल नै आफूले बनाउने फिल्म दसैंमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, महामारीले सेड्युल उथलपुथल बनाएपछि बल्ल घटस्थापनाको दिनबाट उनले सुटिङ सुरु गरेका छन् । 

यस्तै वाचा ‘ए मेरो हजर ४’ले पनि गरेको थियो । गत साल फागुनबाट फ्लोरमा जाँदा निर्माता सुनिलकुमार थापाले पनि फिल्म दसैंमा नै लगाउने उद्घोष गरेका थिए । तर, संयोग यस्तो परेको छ कि दुबै फिल्मले दसैंको मुखमै सुटिङ सुरु गरेका छन् । 


‘ए मेरो हजर ४’ले रोकिएको सुटिङ घटस्थापनाको दिनबाट सुरु गरेको हो भने ‘आइ एम ट्वान्टी वान’ले पनि यही मितिबाट सुटिङ थालेको छ । 
‘ए मेरो हजुर ४’को सुटिङ ४० प्रतिशत पनि सकिएको थिएन, सरकारले सुटिङ बन्द गर्ने उर्दी जारी गर्‍यो । आज खुल्ला, भोलि खुल्ला भन्दाभन्दै ६ महिना बित्यो । निर्माता सुनिल कुमार थापाले कतिञ्जेल कुर्ने ? भन्दै दसैंको मुखमै भए पनि सुटिङ सुरु गरेको बताए ।

‘कुर्दा कुर्दा फिल्म नै पूरानो हुन लागिसक्यो । कलाकार, प्राविधिकले दसैं पनि मनाउनु प¥यो नी,’ थापाले भने । तर, थापाले सुटिङ गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड ख्याल गरेर सुटिङ गरिरहेको उनको दाबी थियो ।  

‘ए मेरो हजुर ४’ मा विदेशमा खिच्नु पर्ने केही दृश्य पनि थिए । थापाले स्क्रिप्टमा परिमार्जन गरेर काठमाडौंमै सबै कुरा सक्ने गरी सुटिङ गरिरहेको जानकारी गराए । उनका अनुसार फिल्मको सुटिङ दसैंको फूलपातीसम्म चल्नेछ भने दसैंपछि पूर्णिमाबाट फेरि सुचारु ह्ुनेछ । उनले गीतको सुटिङका लागि गोक्यो लेक जाने योजना भने यथावत रहेको बताए । 

घटस्थापनादेखि नै रेनेशा राई पनि ‘आइ एम ट्वान्टी वान’ लिएर फ्लोरमा गएकी छिन् । निर्माता प्रज्जल शमशेर जबराले पनि सुटिङका लागि गरेको तयारी खेर जान लागेपछि सुटिङ सुरु गरेको जानकारी गराए । ‘हामी दुई तीन महिनादेखि प्रिडक्सनको सबै काम सकाएर बसेका थियौं । सरकारबाट गाइडलाइन आउला भन्दाभन्दै तीन–चार महिना बित्यो । सरकारले २५ जनाभन्दा बढी भेला गर्न नपाउने भनेको थियो । हामीले योभन्दा कम संख्यामै पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर सुटिङ गरिरहेका छौं,’ प्रज्वलले भने । 

प्रज्वलले धेरै भिडभाड चाहिने दृश्य नखिचेर थोरै कलाकार भएका दृश्य मात्र खिचिरहेका पनि बताए । उनले भने, ‘ठूलो सेड्युल नराखेर खिचिरहेका छौं । तिहारसम्म काठमाडौंको सुटिङ सकाएर तिहारपछि धरान जाने योजना छ ।’

ए मेरो हजुर ४ को सुटिङका लागि तयार रहेका अनमोल केसी ।


प्रज्जवलले सेटमा सबैले पिपिइ लगाएर काम गरेको र हेडअप डिपार्टमेन्टलाई आफूहरूले अलग्गै होटलमा राखेर काम गरिरहेको पनि जानकारी गराए । ‘कसैलाई संक्रमण भइहाल्यो भने पनि कन्ट्रयाक्ट ट्रेसिङका लागि अप्ठ्यारो नहोस् भनेर होटलमा राखिरहेका छौं । यसरी नै सुटिङ गर्ने हो भने सायद अप्ठेरो नपर्ला,’ उनले भने ।

भदौसम्म सरकारको निर्णय कुरेका निर्माता असोजदेखि सुटिङमा जाने तयारीमा थिए । तर, असोजको १ गतेबाट नै मलमास सुरु भएपछि धेरै निर्माता सुटिङमा जान हच्किए । किनकि मलमास नयाँ काम गर्दा फल प्राप्त नहुने धार्मिक विश्वास छ । घटस्थापनासँगै मलमास पनि सकिने भएकाले निर्माताको रोजाइमा यो मिति परेको धेरैको बुझाइ छ ।  

‘ए मेरो हजुर ४’ र ‘आइ एम ट्वान्टी वान’ बाहेक अरु केही सिनेमा पनि फ्लोरमा गएका छन् । तर, कुन –कुन फिल्म सुटिङमा गएका छन्, विकास बोर्डसँग पनि तथ्यांक छैन । चलचित्र विकास बोर्डका अधिकृत गिरिश शर्माले पहिला नै इजाजत लिएर बसेका फिल्म फ्लोरमा गएकाले कुन कुन फिल्मको सुटिङ भइरहेको छ, जानकारी नभएको बताए ।

‘एक चोटि इजाजत दिएपछि दोहो¥याएर लिइराख्नु पर्दैन । हामी पनि समाचार पढेर नै सुटिङ भएको जानकारी लिइराखेका छौं,’ शर्माले भने । स्थिति सामान्य हुँदो हो फ्लोरमा रहेका फिल्म यतिबेला सुटिङ प्याक अप गरेर दसैं मनाउने तरखरमा हुन्थे । पानीले दुःख दिने मौसम सकिएपछि सुरु हुने फिल्मको सुटिङ घटस्थापना वा फूलपातीसम्म चल्थ्यो । तर, यो पाली थुप्रै फिल्म दसैंको मुखमा फ्लोरमा जान बाध्य भएका छन् । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x