सिनेमा

किन ट्रम्पको विरोधमा छ हलिउड ?

सामीप्यराज तिमल्सेना |
कात्तिक १४, २०७७ शुक्रबार १४:३८ बजे

काठमाडाैं :  अमेरिकाको नयाँ राष्ट्रपतिका लागि डेमोक्रयाटको तर्फबाट जो बाइडनको नाम सर्वसम्मत भएसँगै हलिउडका टप सेलिब्रेटी उनको समर्थनमा उत्रिए । यसरी खुलेरै जोय बाइडनको पक्षमा लाग्नेमा टेलर स्विफ्ट, मडोना, कार्डी बी, टम हयांक्स, जर्ज कुलुनी आदि मुख्य थिए ।

अझ टेलर स्विफ्टले त भि म्यागजिनको सम्पादकीयमा जोय बिडेन र डेमोक्रयाटको तर्फबाट उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई भोट दिन अनुरोध गरिन् र सो पोस्ट १ अर्बभन्दा ज्यादा फ्यान भएको इन्स्टाग्राममा पनि पोस्ट गरिन् ।


आफूलाई स्वतन्त्र बताउने ड्वाने जोनसन पनि पनि यो पटक स्वतन्त्र रहन चाहेनन् । इन्स्टामा सबैभन्दा धेरै फ्लोअर भएका जोनसनले भिडियोमार्फत जो बाइडेन र कमला ह्यारिस आफ्नो देशको नेतृत्व गर्न सबैभन्दा उपयुक्त अनुहार रहेको दाबी गरे । 

चुनाव नजिकँदै गर्दा जोय बिडेनको पक्षमा खुल्ने हलिउड सेलिब्रेटीको संख्या बढ्दो छ । योसँगै प्रश्न पनि उठेको छ, ‘आखिर किन ट्रम्पको विरोधमा छ हलिउड ?’ 
‘सेलिब्रेटोक्रेसी’का लेखक कुपर लरेन्सका अनुसार हलिउड जहिले पनि ‘उदारता’को पक्षमा खडा हुन्छ । ‘तर, ट्रम्पले ‘कट्टरपन्थी’ धारको प्रतिनिधित्व गर्छन्,’कुपर भन्छिन्, ‘ मुख्य कारण यही नै हो कि हलिउड दोस्रो कार्यकालका लागि ट्रम्प दोहोरिएको देख्न चाहान्न ।’ 

अमेरिकामा केही महिना अघिसम्म ‘ब्ल्याक लाइभ्स म्याटर’को प्रदर्शन व्यापक थियो । अफ्रिकन मुलका जर्ज फ्लोयडलाई गोरा प्रहरीले बीच सडकमा गोली हानेर मारेपछि भडकिएको हिंसाले ट्रम्पको सातो खाएको थियो । यो समयमा थुप्रै हलिउड सेलिब्रेटीले सोसल मिडियामा मात्र यो आन्दोलनको समर्थन गरेनन्, 
सशरीर प्रदर्शनमा उपस्थिति पनि भए । तर, यो आन्दोलनलाई ट्रम्पले ‘घृणाको प्रतीकको रूपमा  टिप्पणी गरेका थिए । यसले पनि सेलिब्रेटीलाई नराम्ररी भड्काएको थियो । यसैको परिणाम हुनसक्छ, अधिकतर सेलिब्रेटी ट्रम्पको हारको कामना गरिरहेका छन् । 

कोभिड–१९लाई नियन्त्रण गर्ने मामलामा पनि ट्रम्प सरकार चुकेको सेलिब्रेटीको विश्लेषण छ । लाखौंको ज्यान जाँदा पनि ट्रम्प रोग नियन्त्रणका लागि सक्रिय हुनुभन्दा कोभिडलाई ‘चाइनिज भाइरस’ भन्नमा रमाइरहेका थिए । ट्रम्पको यो खेलाँची पनि सेलिब्रेटीलाई मन परेको छैन । त्यसैले सेलिब्रेटी चाहान्छन्, ट्रम्प ह्वाइट हाउसमा फेरि छिर्न नपाऊन् । 

सन् २००८ मा बाराक ओबामा राष्ट्रपतिमा चुनिँदा धेरैले यसको श्रेय ओपरा विन्फ्रीलाई दिएका थिए । ओपराले डेमोक्र्याटको तर्फबाट राष्ट्रपतिको उम्मेदवारका लागि ओबामा र हिलारी क्लिन्टनबीचको प्रतिस्पर्धामा ओबामालाई सपोर्ट गरेकी थिइन् र पपुलर भोटमा उनले हिलारीभन्दा १० लाख ज्यादा मत पाएका थिए । पछि ओबामाले राष्ट्रपतिको चुनाव जितेपछि उसबेला देशको राष्ट्रपति ओपराले छानेको भनेर ठट्टा गर्ने गरिएको थियो । 

तर, अघिल्लो राष्ट्रपति चुनावमा सेलिब्रेटीको पनि केही लागेको थिएन । सेलिब्रेटी  भोटमा अहिले जो बिडेनले ट्रम्पलाई सजिलै हराएजस्तो हिलारी क्विन्टनले पनि ट्रम्पलाई छेउछाउ पनि आउन दिएकी थिइनन् । उनका लागि सहयोग जुटाउने हस्तीमा जस्टिन टिम्बरलेक, जर्ज कुलुनी, जेनिफर एनिस्टन जस्ता कलाकार सामेल थिए । क्लिनटनलाई लेडी गागा, किम कार्दसियन, स्कारलेट जोन्सन, केटी पेरी, बियोन्से, जेनिफर लोपेजजस्ता कलाकारले भोट दिन अपिल गरेका थिए ।

पपुलर भोटमा पनि ट्रम्पभन्दा लाखौंको संख्यामा हिलारी अगाडि रहेको दाबी गरिएको थियो तर यसका बावजुद उनले राष्ट्रपतिको कुर्सीमा बस्ने सौभाग्य पाइनन् ।  यसपछि पनि सिनेटरको चुनावका केही उदाहरण छन् जहाँ सर्वसाधारणले सेलिब्रेटीले जिताउन चाहेका उम्मेदरवार हराइदिएका छन् । तर, यसको मतबल उनीहरूको कुरा सुन्दैनन् भनेर निष्कर्ष निकाल्नु गलत हुने कुपर बताउँछिन् । 

‘पहिलो कुरा त आजभोलि सेलिब्रेटी सिधा सिधा हामीसँग कुरा गरिरहेका छन् । उनीहरूको फोटो वा भिडियो पब्लिसिस्टले हैन, सामाजिक सञ्जालमा उनीहरूले आफैं पोस्ट गर्छन् जुन नाटकीय लाग्दैन,’ कुपरको तर्क छ, ‘ यसले हामीमा  निकटताको भ्रम जस्तो हुन्छ ।’ आजकल सेलिब्रेटीले बच्चाबच्ची, लभ रोमान्स र ब्रेकअपका खबर सबै निर्धक्क सेयर गर्छन्  जसले उनीहरूलाई नजिकबाट चिनेको महसुस गराउँछ ।

हामी उनीहरूको विश्वास गर्न थाल्छौं । कुपर भन्छिन्  ‘ म मेरो छिमेकीलाई चिन्दा पनि चिन्दिन तर मलाई किम कार्दसियनको बारेमा सप्पै कुरा थाहा छ । यदि उनले बाइडेनलाई भोट गर भनेर भन्छिन् भने राजनीति थाहा नपाएको मान्छे उनको कुरा मान्न पनि सक्छ ।’  

त्यसो त ट्रम्पको पक्षमा पनि सेलिब्रेटी नभएका होइनन् । क्रिस्टी एली, स्टेसी डास, रिक ह्यारिसनलगायतका हलिउड सेलिब्रेटी ट्रम्पले दोहो-याएर जित्नु पर्ने पक्षमा छन् । तर, विश्वले चिनेका अधिकांश हलिउड सेलिब्रेटी भने ट्रम्पको विरोधमै देखिएका छन् । (एजेन्सीहरूको सहयोगमा)
 


 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x