संवैधानिक अंग

लगातार तीन/चार दिन बयान लिइने

निलम्बित प्रधानन्यायाधीश जबरासँग सोध्‍नुपर्ने डेढ सय प्रश्‍न, चार प्रश्नमै सकियो पहलो दिनको बयान

सांसद भन्छन्- महाअभियोग निष्क्रिय भइसक्यो भन्नुको तुक छैन

इकागज |
भदौ १५, २०७९ बुधबार १९:१८ बजे

काठमाडौँ - नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग नै निष्क्रिय भइसक्यो भन्नुको तुक नरहेको बताएका छन् । बुधबार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुगेका निलम्बित प्रधानन्यायाधीश जबराले बयानकाका क्रममा महाअभियोग प्रस्ताव नै संविधान बमोजिमअघि नबढ्दा निष्क्रिय बनिसकेको बयान दिएको भन्दै सांसद पोखरेलले त्यसको अर्थ नरहेको बताए । 

उमहाअभियोग प्रस्तावमा नै प्रधानन्यायधीश जबरा बयानका लागि आएको उल्लेख गर्दै प्रधानन्यायाधीशले यस्तो भन्नुको तुक नरहेको उनको भनाइ छ । उनले प्रधानन्यायाधीशको बयानमा समिति सदस्यहरूले प्रतिप्रश्न गर्दा ४ वटा मात्रै प्रश्नको जवाफ आएको भन्दै बयानको समय ३/४ दिनसम्म लगातार चल्ने बताए । ‘उहाँले डेढसय प्रश्नको जवाफ दिन जरुरी छ । त्यसबाट जे निष्कर्ष निस्कन्छ, तथ्य प्रमाणका आधारमा निष्कर्षमा पुग्छौँ । यो प्रश्न नै ३/४ दिनसम्म लगातार जान्छ । उहाँले निष्क्रिय भयो भन्ने अवस्था छैन ।’


जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले प्रधानन्यायाधीश जबराले बयानका क्रममा आफूसँग गलत काम गराउनका लागि आएका न्यायाधीशहरूसँग पनि बयान लिनुपर्ने कुरा राखेको बताए । उनले न्यायाधीशले ल्याएका गलत कुराहरूमा सहभागी नबन्दा आफूविरुद्ध महाअभियोग लगाइएको कुराहरू प्रधानन्यायाधीश जबराले राख्नुभएको पनि बताए । 

‘हामीले राखेका ४ प्रश्नको जवाफ दिनुभयो । साथै त्यसमा प्रतिप्रश्नहरू पनि भए । जवाफ आएकाको प्रमाण जुटाउने र उहाँले लिएका व्यक्तिहरूसँग पनि बयान लिनुपर्ने हुन्छ,' उनले भने, 'अहिले नै ठिक, बेठिक र सन्तुष्टि र असन्तुष्टिको कुरा होइन । उहाँले बयानका क्रममा आफूसँग हरेक समय गलत गराउन चाहनुभएका न्यायाधीशलाई पनि बोलाएर बयान लिनुपर्ने कुरा राख्नुभएको थियो ।’

नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले संसद्लाई प्रधानन्यायाधीशको काम कारबाहीमा चित्त नबुझेर महाअभियोग लगाएको र महाअभियोग प्रस्ताव आएकोमा प्रधानन्यायाधीशलाई चित्त नबुझ्दा प्रधानन्यायाधीश जबराले प्रश्तावकमाथि प्रश्न गर्नु सामान्य भएको बताए । उनले सुरुको दिन भएर लामो समय लागेको र आगामी दिनमा प्रक्रिया चाँडो अघि बढ्ने बताए । उनले प्रधानन्यायाधीशले गोलमटोल जवाफ दिएको बताए ।

नेकपा एमालेका सांसद विष्णु पौडेलले छलफल प्रक्रियाभरका सबै सामग्री अफिसियल रेकर्ड गरिएको र वेबसाइटमा राखिने जानकारी दिए । उनले नेकपा एमाले सञ्चारमाध्यमलाई सँगै राखेर छलफल गर्ने पक्षमा रहे पनि समिति सभापति र अन्य सांसदहरू नमानेपछि प्रक्रियाभरका छलफलका भिडियो सामग्री वेबसाइटमा राख्न सहमति जुटेको बताए ।

बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले महाअभियोग जस्तो विषय गम्भीर रुपमा छलफल हुनुपर्ने धाराणा राखे। उनले आजको बैठकले बयानको समय लम्बिने निश्चित भएको बताए। सांसद शर्माले अबको दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा समितिमा छलफल गरेर निर्णय गर्ने बताए । 

प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग सुनुवाइ गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बिहीबार ११ बजे बस्नेछ । 

 


Author

थप समाचार
x