कर्पोरेट

अब हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कन्फरेन्स कलबाट सेवा लिन सकिने

इकागज |
भदौ १, २०७९ बुधबार १५:१९ बजे

काठमाडाैं । हाम्रो पात्रो एपको “हाम्रो पात्रो हेल्थ” सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन्। स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने सेवा थपिएको छ ।

यो सेवाले छोटो समयमै प्रयोगकर्ताहरूबाट पाएको उत्साहजनक सहभागिताले हाम्रो पात्रोको टिमलाई यो सुविधाहरू थप्न हौसाएको बताइएको छ। हाम्रो पात्रो एपले, विज्ञ डाक्टरसँग स्वास्थ्य समस्या भएका र स्वास्थ्य सेवा जिज्ञासु मानिसहरूको सहज पहुँच होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरेको हो।

अहिले थपिएका सुविधाहरूमा विशेषज्ञ डाक्टरहरूले आफ्नो उपलब्धता राख्न सक्ने र उक्त समय तालिका अनुसार सेवा उपभोक्ताले विशेषज्ञ डाक्टरहरूसँग अपोइन्टमेन्ट लिएर र डाक्टरसँग कुराकानी गर्न सकिने छ। पहिलेको अनलाइन डाक्टरसँग तत्काल कुरा गर्न सकिने सेवा यथावत् नै रहेको छ। यस अघि बिरामी र डाक्टर दुईजना मात्र कलमा सहभागी हुन सकिने सुविधालाई पनि आफ्नो आवश्यकता अनुसर परिवार या सहयोगी थप्न या बहुविधाका डाक्टरहरूले कन्फरेन्स कल गरेर एकै पटक कुराकानी गर्न सकिने सुविधामा अपग्रेड गरिएको हो।



हाम्रो पात्रो इंकका फाउन्डर तथा सीईओ शंकर उप्रेतीले यो नयाँ सुविधा आएपछि “वैदेशिक रोजगारी र अध्ययनको क्रममा विदेशमा या देशभित्रै परिवारबाट टाढा भएका हरेक व्यक्तिले आफ्ना आमा बुवा तथा परिवारका सदस्यको स्वास्थ्य परामर्शमा परिवारका सदस्यहरूसँग कन्फरेन्स कलमा बस्न सक्ने” बताए ।  उनले यो थपिएको सुविधाहरूले प्रयोगकर्ताहरूको दैनिक स्वास्थ्य समस्या तथा जिज्ञासाहरूको समाधान गर्न थप सहयोगी हुने विश्वास प्रकट गरे ।

त्यसबाहेक, अनलाइन र व्यस्त डाक्टरको डाक्टरको विशेषज्ञता र अनुभवको सूची हेरेर बिरामीलाई कुन डाक्टरसँग कुरा गर्ने भन्ने सजिलै निर्णय गर्न यो अपडेटले सजिलो बनाउन सेवाहरू थपेको छ। डाक्टरले आफ्नो अनुभवको आधारमा एपमा आफ्नो सेवाशुल्क निर्धारण गर्न सक्नेछन्। डाक्टरले आफ्नो समय अनुकूल मिलाएर बिरामीको लागि उपलब्ध हुने समय तालिका अपडेट गर्न सक्नेछन् र सेवाग्राहीलाई डाक्टरले तोकेको समयावधि भित्र निशुल्क फलो-अपको सुविधा पनि राखिएको छ। यसका साथै बिरामीले डाक्टरलाई उनीहरूको परामर्शको आधारमा रेटिङ र रिभ्यु पनि गर्न सक्नेछन्।

अहिले व्यस्त जीवनशैलीको कारण आफ्नो स्वास्थ्यमा समय दिन नसकिरहेका मानिसहरूलाई पनि यो सेवा अति उपयोगी भएको हाम्रो पात्रोको दाबी छ।
प्रयोगकर्ताले हाम्रो पात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा हाम्रो पात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ। साथै गरेर वेबसाइटबाट समेत हाम्रो पात्रो हेल्थ सेवा प्रयोग गर्न सकिनेछ।

 


Author

थप समाचार
x