कर्पोरेट

नेपाल क्लियरिङ हाउसले नगद लाभांश वितरण गर्ने

इकागज |
मंसिर १७, २०८० आइतबार २१:५६ बजे

काठमाडौँ- नेपाल क्लियरिङ हाउस लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । काठमाडौँको र्‍याडिसन होटलमा सम्पन्न २ औं वार्षिक साधारणसभाले २८.५ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका निम्ति १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले २८.५% बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका निम्ति १.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।


यस पश्चात एनसीएचएलको चुत्ता पुँजी रु. १,००६,६३७,९०० बराबरको हुने छ साथै बैठकले अधिकृत पुँजी वृद्धि गरी रु २ अर्ब पुर्याउन स्वीकृत गरेको छ । कम्पनीले पुँजी वृद्धि मार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नका साथै नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनका लागि उक्त पुँजी प्रयोग गर्नेछ । 

साधारण सभाको बैठकले कम्पनीको शेयर स्वामित्व संरचनामा साविक झैं नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरू मात्र कायम रहने गरी गाभ्न/गाभिन वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै एनसीएचएलले वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास समेत गर्ने उद्देश्यसहित कम्पनीको सहायक कम्पनीको रूपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी खोल्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्नेछ । 

आ.व. २०७९/८० मा कम्पनीबाट फर्छ्यौट भएका कारोबारहरूको संख्या १६% ले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ६% ले वृद्धि भएको छ । सो आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरू मार्फत कुल १४१ खर्ब बराबरको ८.१९ करोड भुक्तानी कारोबारहरू राफसाफ गरेको थियो ।

एनसीएचएलमा नेपाल राष्ट्र बैंकको १०% र बैंक तथा वित्तीय संस्थाहरूको ९०% स्वामित्व रहेको छ । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरूबाट ३ जना, विकास बैंकहरू, फाइनान्स कम्पनीबाट र स्वतन्त्र निर्देशक गरी क्रमशः १–१ जना रहेका छन् । कम्पनीले NCHL-ECC, NCHL-IPS र RPS लगायत connectIPS, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI) तथा NEPALPAY QR लगायतका विभिन्न च्यानल प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेशनल कार्ड स्वीच र NEPALPAY डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा  रहेको छ । एनसीएचएलमा हाल ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा ९५ भन्दा बढि गैर–बैंकिङ्ग संस्थाहरू Indirect/Technical Member को रूपमा आबद्ध छन् । 


Author

थप समाचार
x