कर्पोरेट

मालुङ्गामा नेपाल टेलिकमको एफटिटिएच सेवा

इकागज |
पुस २२, २०८० आइतबार १९:४६ बजे

काठमाडौँ- नेपाल टेलिकमले स्याङ्जा जिल्लाको मालुङ्गा बजार र सो आसपास क्षेत्रलाई समेट्ने गरी उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट (एफटिटिएच) सेवाको विस्तार गरेको छ । उक्त सेवा मार्फत मालुङ्गा क्षेत्र वरपर रहेका स्वास्थ्य चौकी, क्याम्पस, स्कुल तथा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरूले अब उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट निर्वाध रूपमा चलाउन सक्ने छन् ।

एफटिटिएच सेवा अन्तर्गत २५ एमबिपिएस देखि १ जिविपिएस स्पिड क्षमतासम्मको एक्सजिपोन प्रविधिमा आधारित विश्वसनीय फाइबर सेवा विस्तार गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख इन्दल यादवले बताए ।


मालुङ्गा बजार गल्याङ नगरपालिका वडा नं.१ अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो र त्यस्ता केन्द्रहरूमा नेपाल टेलिकमको हाइस्पिड ब्रोडव्याण्ड सेवाबाट वञ्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख राकेश चौधरीले बताए ।

त्यसैगरी, हाल वितरण गरिएको एनटिफाइबर सेवा मार्फत एउटै सरकारी दरमा ब्रोडव्याण्ड इन्टरनेट, टेलिभिजन, पिएसटिएन तथा मोबाइल डाटा समेत प्राप्त गर्न सकिने भएकोले यसलाई “फोर इन वन” भनेर समेत चिनिने नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार यो सेवा मार्फत अनलिमिटेड इन्टरनेटका साथै अनलिमिटेड भ्वाइस सेवा समेत प्राप्त गर्न सकिने छ । 

एफटिटिएच सेवामा गुणस्तरीयता र विश्वसनीयता दुवै रहेकाले गल्याङ कार्यालय मार्फत करिब १३ किलोमिटर परको दूरीमा विस्तार गरी प्रथम पटक मालुङ्गामा ल्याण्ड लाइन सेवा ल्याइएको वडाध्यक्ष मणिप्रसाद बस्यालले बताए ।  

 


Author

थप समाचार
x