कर्पोरेट

राष्ट्रिय आविष्कार केन्द्रलाई ज्योति विकास बैंकको सहयोग

इकागज |
साउन ११, २०७८ सोमबार १२:२५ बजे

काठमाडौँ : ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । शनिबार बैंकले स्थापनाको १३औँ वार्षिकोत्सव मनाउँदै सहायता दिएको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई 'न्यानो नानी' परियोजना- २ को लागि सहयोग प्रदान गरेको हो​। नवजात शिशुको शाररिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १२ वटा “न्यानो नानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गरेको हो ।

बैंकको तर्फबाट सञ्‍चालक समितिका सदस्य तथा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरू सञ्‍चालन गर्न निर्मित हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्रबहादुर नेपाली​ले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाका लागि १० लाख २० हजार प्रदान गरेको थियो । कार्यक्रममा अध्य​क्ष हरि प्रसादले मन्तव्य प्रस्तुत गर्दै बैंकको १३ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णको स्मरण गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गरे । अध्यक्ष प्रसादले बैंकले समाजमा उद्यमी क्षमताको विकास गर्न सधैं क्रियाशील रहने र समाज तथा नागरिकबाट प्राप्त सुझावहरुलाई अनुसरण गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनले नेपाललाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन उद्यमशीलता विकास गर्नु पर्ने, त्यस्तो उद्यमशीलता प्रवर्द्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रले प्रयास गरिरहेको र त्यस्तो प्रयासलाई प्रोत्साहन गर्दै ज्योति विकास बैंकले गरेको सहयोग उदाहरणीय रहेको विचार व्यक्त गरे।

१३ औं वार्षिकोत्सवको अवसरमा बैंकले “ज्योति परिवर्तनकारी कर्जा” नामक कर्जा योजना सार्वजनिक गरेको छ । उद्यमशील समाजको परिकल्पना गर्दै साना तथा मझौला व्यवसायलाई समेत समेट्न बैंकले उच्चतम धितो मुल्यांकन तथा न्युनतम कागजात सहितको ज्योति परिवर्तनकारी कर्जा नागरिकहरुको लागि ल्याएको हो ।

हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्‍चालक र कर्मचारीको उपस्थितिमा कमलपोखरीस्थित कार्यालय प्रांगणमा वार्षिकोत्सव मनाएको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले समारोहको अध्यक्षता गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा सेयरधनी ध्रुव उप्रेती र संस्थापक सेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुवकुमार भट्टराईको उपस्थिति थियो  वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत​ आयोजना गरेको थियो ।



Author

थप समाचार
x