अदालत

नगर शिक्षक कार्यविधि पेश गर्न महाकाली नगरपालिकाको नाममा आदेश जारी

इकागज |
साउन ३, २०८० बुधबार २१:६ बजे

फाइल फोटो

दार्चुला - जिल्ला अदालत दार्चुलाले नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८० लाई अदालतमा पेस गर्न विपक्षी महाकाली नगरपालिका नगर कार्यपालिकाको नाममा आदेश जारी गरेको छ । असार ३१ गते भएको आदेश अनुसार आजको सुनुवाइमा नगरपालिकालाई नगर शिक्षक व्यवस्थापन कार्यविधि पेस गर्न जिल्ला न्यायाधीश खेमराज भट्टबाट आदेश भएको श्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताए ।

दार्चुला जिल्ला अदालतबाट विपक्षी महाकाली नगरपालिकाका नाममा असार ३१ गते नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षा विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । 


निवेदक मालिकार्जुन गाउँपालिका–२ बस्ने सुन्दर सिंह धामी, पुस्प्राज जोशी ,दिनेश मल्ल समेत ३ जनाको पक्षबाट अधिवक्ताद्धय धिरेन्द्र साउँद र हरिशचन्द्र जोशीले तथा विपक्षी महाकाली नगरपालिकाका पक्षबाट अधिवक्ता गगन सिंह धामी र कृष्ण सिंह महराले बहस गरेका थिए । नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८० निर्माण भएको अवस्थामा नगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश जारी नहुनु पर्ने नगरपालिकाका पक्षका अधिवक्ताहरूले बहस गर्दा कार्यविधि पेस गर्न आदेश भएको उनले बताए ।  

विपक्षी नगरपालिकाले नगर शिक्षक कार्यविधि २०८० लाई पेस गरेपछि पुनः सुनुवाइ हुने श्रेस्तेदार ज्ञवालीले जानकारी दिए ।

 


Author

थप समाचार
x