अदालत

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरूलाई छिटोभन्दा छिटो फर्छ्यौट गर्न प्रयास गर्छु : प्रस्तावित न्यायाधीश मुसलमान

इकागज |
मंसिर २९, २०८० शुक्रबार १७:५४ बजे

काठमाडौँ- सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानले सर्वोच्च अदालतमा विचाराधीन रहेका मुद्दाहरूलाई छिटोभन्दा छिटो फर्छ्यौट गर्न आफ्नो प्रयास रहने बताएका छन् ।​

संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश मुसलमानले सर्वोच्च अदालतमा विचाराधीन रहेका फर्छ्यौट हुन नसकेका मुद्दाहरूको छिटो फर्छ्यौट गर्न आफ्नो प्रयास रहने बताएका हुन् । उनले इजलासमा पेस भएका मुद्दाहरूको सोही दिन फर्छ्यौट गर्ने पनि आफ्नो प्रयास रहने भनाइ राखे ।


यस्तै अनावश्यक आदेशलाई निरूत्साहन गर्ने पनि प्रस्तावित न्यायाधीश मुसलमानले बताए । उनले साना प्रकृतिका, वैवाहिक र विशिष्टीकृत विवाद समावेश भएको मुद्दाहरूका लागि छुट्टै इजलास गठनको प्रयास गर्ने आफ्नो कार्ययोजना रहेको पनि बताए ।

‘भनिन्छ, न्याय ढिलो दिनु न्याय दिन इन्कार गर्नु हो । सर्वोच्च अदालतमा विचाराधीन फर्छ्यौट हुन नसकेका मुद्दाहरूलाई फर्छ्यौट गर्ने मेरो प्रयास रहनेछ । इजलासमा पेस भएका मुद्दाहरूको सोही दिन फर्छ्यौट गर्ने । अनावश्यक आदेशलाई निरूत्साहन गर्ने । साना प्रकृतिका, वैवाहिक र विशिष्टीकृत विवाद समावेश भएको मुद्दाहरूको लागि छुट्टै इजलास गठनको लागि प्रयास गर्ने,' उनले अगाडि भने, 'सरकारवादी देवानी फौजदारी र अन्य मुद्दाहरूको छुट्टाछुट्टै बार तोक्ने । इजलासको मर्यादा कायम तथा व्यवस्थापनमा जोड दिने । समय व्यवस्थापनमा ध्यान दिने ।’

उनले आफू न्यायाधीश बनेमा ‘न्यायपालिकाको स्वतन्त्रता, न्याय सुशासन हाम्रो प्रतिबद्धता’ भन्ने नारालाई आत्मसात् गर्दै काम गर्ने पनि बताए ।


Author

थप समाचार
x