अदालत

'न्यायाधीशका कारण निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्छु'

इकागज |
पुस २, २०८० सोमबार १६:५१ बजे

काठमाडौँ - सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले आफू न्यायाधीश नियुक्त भएमा निर्दोष व्यक्ति लामो समय थुनामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । 

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश पोखरेलले न्यायाधीशको समयको कारणले निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका हुन् । उनले न्याय सम्पादन गर्दा पहिलो प्राथमिकता राज्यलाई, दोस्रो प्राथमिकता व्यक्तिलाई र तेस्रो प्राथमिकता सरकारलाई दिने प्रतिवद्धता व्यक्त गरे । उनले न्याय सम्पादनका क्रममा आफूसमक्ष आएका विवादलाई नपन्छाउने बताए । त्यस्तै, कसैप्रति पूर्वाग्रह नराखी, संविधान कानुन र न्यायका मान्यताहरुका आधारमा निर्णय लिने पनि उनले स्पष्ट पारे । उनले आफ्नो न्यायिक मन र विवेकमा प्रश्न उठाउने वातावरण नबनाउने पनि बताए । 


उनले भने, ‘न्याय सम्पादनका क्रममा देहायका आधारमा कहिल्यै विचलित नहुने भन्ने म प्रतिवद्धता गर्न चाहन्छु : नेपालको संविधान, कानुन, विधि शास्त्रीय मान्यता, सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र असल अभ्यास । नागरिकका आधारभूत र मौलिक हक प्रत्याभुत गर्ने सवालमा राज्यले अन्तर्राष्ट्रिय मञ्चमा जनाएको प्रतिवद्धता, सर्वोच्च अदालतबाट निरन्तर कार्यान्वयनमा रहेको रणनीतिक योजनाको लक्ष्य, न्यायाधीशको पेशागत आचारसंहिता, न्यायिक नेतृत्वले लिएको लक्ष्य र प्राप्त सुझाव, आम नागरिकको न्यायमा पहुँच पुर्‍याउन सक्ने असल अभ्यास, संविधानमा प्रचलित कानुनले कोरिदिएको सिमा, पेशी तोकिएको मुद्दामा न्यायाधीशको समयको कारणले निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य र न्याय सम्पादन गर्दा पहिलोमा राज्य, त्यसपछि व्यक्ति र त्यसपछि सरकारलाई प्राथमिकतामा राखिनेछ र यो तीनै वटा सबको समान दूरीमा राखेर मुद्दाको सुनुवाइ गरिनेछ भन्ने कुराको प्रतिवद्धता जारी गर्न चाहन्छु । न्याय सम्पादनका क्रममा आफू समक्ष आएका विवादलाई नपन्छाई, कसैप्रति पूर्वाग्रह नराखी, संविधान कानुन र न्यायका मान्यताहरुमा आधारमा निर्णय लिनेछु भन्ने कुरामा दृढ छु । न्यायाधीशको निर्णयबाट एउटा पक्षको हार र अर्को पक्षको जितको अवस्था स्वाभाविक हुन्छ । यो जित र हारको अवस्था न्यायाधीशको इच्छामा नभइ संविधान, कानुन र प्रमाणको आधारमा तय हुन्छन् भन्ने अनुरोध गर्न चाहन्छु । यस्तो अवस्थामा मुद्दाका पक्षहरुले न्याय सम्पादन गर्ने न्यायाधीशमाथि न्यायिक मन र विवेकमा प्रश्न उठाउने वातावरण बन्न हुन्न भन्ने म सदैव सचेत रहन चाहन्छु । यस्तो अवस्था आइहाल्यो भने न्यायको संरक्षण गर्नु जनप्रतिनिधिमूलक संस्था, संसद र राज्यको चौथो अंगको रुपमा रहेको प्रेस जगतको पनि दायित्व हो भन्ने मलाई लागेको छ । यस समितिले न्यायाधीशको रुपमा मेरो नाम अनुमोदन गरेमा नेपालको संविधान, कानुनले अंगीकार गरेको मूल्य र मान्यतालाई शिरोधार्य गरी सर्वोच्च अदालतको न्यायाधीशको रुपमा न्यायाधीशको भुमिकामा दृढ निश्चयी भइ काम गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । न्यायपालिकाको जनआस्था अभिवृद्धि र देखिने किसिमले न्याय सम्पादन गर्दै न्यायको स्वच्छता र निष्पक्षताको कसीमा अब्बल साबित हुने इमानदार प्रयास गर्नेछु ।’

प्रस्तावित न्यायाधीश पोखरेलले संविधान, कानुनले अंगीकार गरेको मूल्य र मान्यतालाई शिरोधार्य गरी काम गर्ने प्रतिवद्धता गरे । उनले न्यायपालिकाको जनआस्था अभिवृद्धि र देखिने किसिमले न्याय सम्पादन गर्दै न्यायको स्वच्छता र निष्पक्षताको कसीमा अब्बल सावित हुने इमानदार प्रयास गर्ने पनि उल्लेख गरे । 


Author

थप समाचार
x