कोभिड-१९

२४ लाख हराएको खोप मन्त्रालयको वेभसाइटमा हेर्नु : स्वास्थ्यमन्‍त्री

इकागज |
असार १, २०७९ बुधबार १९:६ बजे

काठमाडाैँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले २४ लाख हराएको खोप मन्त्रालयको वेभइटमा हेरेर खोज्न आग्रह गरेका छन् ।

बुधबार  प्रतिनिधि सभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले खोपको खोजीका लागि मन्त्रालयको वेभसाइट हेर्न सांसदहरुलाई आग्रह गरेका हुन् । उनले नेपालमा विभिन्‍न देशबाट आएका खोपहरू काठमाडौँमा नै कुन मितिमा आएको, काठमाडौँबाट कुन प्रदेशमा कति गएको वेभसाइटमा उल्लेख गरिएको दाबी गरे ।


मन्त्री खतिवडाले नेपालमा ५ करोड ३३ लाख खोप आएकोमा ४ करोड ८७ लाख प्रयोग भइसकेको बताए । उनले सरकारसँग अझै ४६ लाख ४७ हजार डोज खोप स्टक रहेको उल्लेख गरे । मन्त्री खतिवडाले आफूविरुद्ध २४ लाख घोटाला गरेको आरोप पुष्टि गर्न समेत चुनौती दिए ।

मन्त्री खतिवडाले एक व्यक्तिले ५० लाख खोप डम्पिङ गरेर किनेर कमिसन बजाउने योजना बनाएको सांसदहरुको प्रश्नको जवाफमा आफू त्यो बाटोमा नगएको बताए । बालबालिकाको लागि फाइजर खोप ल्याउनको लागि विश्व बैंकबाट रकम भुक्तानी गर्ने गरी साढे ६ अर्बको खोप किन्‍ने मन्त्रिपरिषद्ले निर्णय गरेको उनकाे भनाइ थियाे ।

मन्त्री खतिवडाले मन्त्रिपरिषद्ले किन्‍ने भनेको खोप खारेज गरेर अनुदानको खोप प्रयोग गरेको बताए । 


Author

थप समाचार
x