कोभिड-१९

म्याग्दीमा पहिलोपटक कोभिड खोपको नमूना परियोजना शुरु

इकागज |
साउन १९, २०७८ मंगलबार ६:२० बजे

गलेश्वर : गण्डकी प्रदेशमा पहिलो पटक म्याग्दीमा कोभिडविरुद्ध खोपको विवरण विद्युतीय बनाउने नमूना परियोजना शुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको अगुवाइमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी र विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको आर्थिक तथा प्राविधिक सहयोगमा बेनी नगरपालिकामा सो परियोजना शुरु भएको हो । 

परियोजनाका कारण खोप केन्द्रमा हुने भीडभाड कम भएर सङ्क्रमणको जोखिम न्यूनीकरण गर्ने तथा खोप लगाएका व्यक्तिको अभिलेखीकरणमा पनि सहज हुने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए । 


खोपलाई विद्युतीय बनाउने अभियानको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा बिभाग व्यवस्थापन महाशाखा, एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका तथ्याङ्क अधिकृत दिवाकर सापकोटाले नविनतम प्रविधिको प्रयोगले नगरवासीलाई निक्कै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  

युएनडिपीका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले कोभिडविरुद्धको खोपको अभियानलाई सार्थक र सफल बनाउन अभियान शुरु गरिएको जानकारी दिँदै सात वटै प्रदेशका एक÷एक पालिकामा यो अभियान शुरु भएको जानकारी गरे । 

लुम्बिनीको बुटवल उपमहानगरपालिकामा यसअघि नै यो अभियान शुरु भइसकेको जानकारी गराउँदै उहाँले गण्डकी प्रदेशमा पनि यो अभियान सफल हुने विश्वास व्यक्त गरे ।  

कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, डब्लुएचओका डाक्टर रामु शर्मा, स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत बिजया पराजुलीलगायतले कार्यक्रमको प्रभावकारिता तथा कार्यक्रममार्फत कोभिडविरुद्धको खोप सञ्चालन गर्दा हुने सहजता तथा फाइदाका बारेमा प्रकाश पारेका छन् । रासस 
 


Author

थप समाचार
x