क्रिकेट

नेपालले ५०औँ ओडीआई खेल्दै गर्दा बनेका कीर्तिमान

सञ्जीव शाह |
बैशाख ८, २०८० शुक्रबार १०:७ बजे

काठमाडौँ- नेपालले ओमानविरुद्ध कीर्तिमानी ५०औँ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपअन्तर्गत नेपालले ५०औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल ओमानविरुद्ध खेल्न लागेको हो ।

नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नेदरल्यान्ड्सविरुद्ध खेलेको थियो । नेदरल्यान्ड्सको एमस्टेलभिनस्थित भिआरए क्रिकेट ग्राउन्डमा २०१८ अगस्ट १ तारिखमा भएको खेल नेपालले ५५ रनले हारेको थियो । १ सय ९० रनको लक्ष्य पछ्याएको नेपालले १३४ रनमै सबै विकेट गुमाएको थियो ।


नेपालले पहिलो एकदिवसीय खेल्दा प्लेइङ-११ मा ज्ञानेन्द्र मल्ल, अनिल साह , कप्तान पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, वशन्त रेग्मी, शक्ति गौचन, करण केसी , सन्दीप लामिछाने र शरद भेषावकर रहेका थिए ।

उक्त खेलमा नेदरल्यान्ड्सविरुद्ध पारस खड्काले ४, सोमपाल कामीले ३ तथा करण केसी, सन्दीप लामिछाने र वशन्त रेग्मीले एक-एक विकेट लिएका थिए ।

त्यसैगरी ब्याटिङमा ज्ञानेन्द्र मल्लले ५१ रन , अनिल साहले २१ रन, पारस खड्काले १२ रन, दिपेन्द्र सिंह ऐरीले ३३ रन , शक्ति गौचनले ९ रन तथा आरिफ शेख, सोमपाल कामी, वशन्त रेग्मी र करण केसी शून्य रनमा आउट भए ।

नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय नेदरल्यान्ड्सविरुद्ध नै खेल्दा घरेलु टोली नेदरल्यान्ड्सलाई १ रनले पराजित गर्‍यो । नेपालको लागि त्यो पहिलो जित थियो ।

२०१८ अगस्ट ३ मा नेदरल्यान्ड्सविरुद्धको सिरिजकै दोस्रो खेलअन्तर्गतको नेपाली टिममा ज्ञानेन्द्र मल्ल, सुवाश खकुरेल, अनिल साह, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, सोमपाल कामी, वशन्त रेग्मी, सन्दीप लामिछाने र ललित भण्डारीले खेलेका थिए । नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय १६ रन जोडेको थियो ।

उक्त खेलमा ज्ञानेन्द्र मल्लले १३, सुवाश खकुरेलले १९, अनिल साहले ४, पारस खड्काले ५१, दिपेन्द्र सिंह ऐरीले १९ , डेब्यू खेलमा रोहित पौडेलले ६, आरिफ शेखले १६, सोमपाल कामीले ६१, वशन्त रेग्मीले १, सन्दीप लामिछानेले ८ तथा ललित भण्डारीले ४ रन जोडेका थिए ।

नेपालले पहिलो खेल जित्दा डेब्यू गरेका रोहित पौडेल भने नेपालले ५० औँ खेल खेल्दा भने कप्तानको भूमिकामा रहेका छन् । नेपालका लागि पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने र रोहित पौडेलले कप्तानी गरिसकेका छन् ।

नेदरल्यान्ड्सलाई २ सय १५ रनमा समेट्न सन्दीप लामिछानेले सर्वाधिक ३, ललित भण्डारीले २ तथा सोमपाल कामी, पारस खड्का, वशन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए ।

नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक पूरा गर्ने खेलाडी पारस खड्का हुन् । उनले २०१९ जनवरी २८ मा युनाइटेड अरब इमिरेट्सविरुद्ध शतक पूरा गरे । पारसले १ सय ९ बलमा १ सय १५ रन जोडे ।

हालसम्म नेपालका पाँच खेलाडीले एकदिवसीयमा शतक पूरा गरेका छन् । पारस खड्का, कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र आशिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक पूरा गरेका छन् ।

कप्तान रोहित पौडेलले एकदिवसीयमा १ हजार ३ सय रन पूरा गरिसक्दा आशिफले पनि एक हजार रन पार गरेका छन् । नेपालका लागि १ हजार रन पूरा गर्ने रोहित पौडेल पहिलो क्रिकेटर हुन् ।

नेपालका लागि एकदिवसीयमा ५० विकेट पूरा गर्ने सन्दीप लामिछाने पहिलो बलर हुन् । उनी सबै भन्दा छिटो १०० विकेट लिने विश्व कीर्तिमान भन्दा केवल एक विकेटमात्र टाढा छन् । सोमपाल कामीले ६१ विकेट हात पार्दा करण केसीले ५६ विकेट लिएका छन् । सन्दीप र करणले समान ३-३ पटक ५ वा ५ भन्दा बढी विकेट हात पारेका छन् ।

नेपालले सबैभन्दा धेरै रन पपुवा न्यूगिनीविरुद्ध बनाएको छ । नेपालले पपुवा न्यूगिनीविरुद्ध २ सय ९७ रन बनाएको थियो । उक्त खेल नेपालले ५२ रनले जित्दा आशिफ शेखले शतक पूरा गरेका थिए ।

नेपाल आफैँ भने युनाइटेड अरब इमिरेट्सविरुद्ध २ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा १०३ रनमै समेटिएको छ ।

त्यसैगरी, नेपालले अमेरिकालाई ३५ रनमै अलआउट पारेर खेल ८ विकेटले जितेको थियो । उक्त खेलमा सन्दीप लामिछानेले १६ रन खर्चिएर ६ विकेट हात पारेका थिए ।

आशिफ शेख र ज्ञानेन्द्र मल्लले कुनै पनि विकेटका लागि सर्वाधिक १ सय ३९ रनको साझेदारी गरेका छन् । नामिबियालाई ३ विकेटले पराजित गर्दा आशिफ (८१ रन) र ज्ञानेन्द्र (६५ रन) ले दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x