क्रिकेट

पोखरा अन्ततः ईपीएलको फाइनलमा

इकागज |
असोज २१, २०७८ बिहीबार १६:३३ बजे

काठमाडौँ- पोखरा राइनोज अन्ततः एभेरेष्ट प्रिमियर लिग (ईपीएल)को फाइनल प्रवेश गरेको छ । पहिलो क्‍वालिफायरमा चितवन टाइगर्ससँग पराजित भएको पोखराले बिहीबार भएको दोस्रो क्‍वालिफायरमा जित हासिल गर्‍यो । पोखराले भैरहवा ग्लाडियटर्सलाई सात विकेटले पराजित गर्‍यो । 

चौथो संस्करणको ईपीएलको उपाधि भिडन्तमा शनिबार चितवन र पोखरा आमनेसाने हुनेछन् । दुवै टिम पहिलो पटक ईपीएलको फाइनलमा पुगेका हुन् । जारी ईपीएलमा यी दुई टिम तेस्रो पटक भिड्न लागेका हुन् । क्‍वालिफायरबाहेक लिग चरणको खेलमा पनि पोखरालाई चितवनले पराजित गरेको थियो । 


 कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको भैरहवा ग्लाडियटर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो । पोखराले १८.२ ओभरमा तीन विकेटको क्षतिमा १२३ रन जोड्यो । 

भैरहवाका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ३२ रन बनाए । अविजित रहेका हरदले ३३ बल सामना गर्दा एक छक्का र दुई चौका प्रहार गरे । शरदपछि धेरै स्कोर गर्ने खेलाडी आरिफ शेख रहे । उनले २४ बलमा २७ रन जोडे ।

त्यसअघि भैरहवालाई रोहित पौडेल र प्रदीप ऐरीले सामान्य सुरुवात दिलाएका थिए । रोहितले १८ रन बनाए भने प्रदीप ११ रनमा समेटिए । बाँकी ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । 

पोखराका लागि सहान अराचिगे र किशोर महतोले समान दुई–दुई विकेट हात पारे । त्यसैगरी, नन्दन यादव र असेला गुणरत्नेले एक–एक विकेट लिए । 

जवाफी ब्याटिङमा उत्रेको पोखराका लागि सहान अराचिगेले अर्धशतक प्रहार गरे । ४४ बल सामना गर्दा उनले अविजित ५३ रन बनाए । अन्तिम दुई बलमा दुई चौका प्रहार गरेको सहानको नाममा कुल सात चौका रहे ।

विजयी टिमका लागि विपिन रावलले ४० रन जोडे । उनी पनि नटआउट रहे । बलिङतर्फ भैरहवाका लागि भुवन कार्कीले दुई विकेट हात पारे । 
 


Author

थप समाचार
x