क्रिकेट

ईपीएलको च्याम्पियन चितवन टाइगर्स

इकागज |
असोज २३, २०७८ शनिबार १५:५१ बजे

काठमाडौँ- चितवन टाइगर्स यसपालिको एभेरेष्ट प्रिमियर लिग (ईपीएल) च्याम्पियन बनेको छ । चितवनले शनिबार भएको उपाधि भिडन्तमा पोखरा राइनोजलाई चार विकेटले हरायो । दुवै टिम पहिलो पटक फाइनल पुगेका हुन् । तर चौथो संस्करणको उपाधि चितवनको पोल्टामा पर्‍यो ।  च्याम्पियन बनेसँगै चितवनले ५० लाख पुरस्कार पायो । उप–विजेतामा सीमित रहेको पोखराको भागमा १५ लाख पर्‍यो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको पोखरा राइनोजले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको चितवनले १५.५ ओभरमा ६ विकेटको क्षतिमा ११४ रन बनायो । 


पोखराका लागि चार ब्याट्सम्यानले मात्र दोहारो अंक छुए । ओपनरद्वय रिचार्ड लेभी र विपिन रावलले क्रमशः २६ रन र १७ रन बनाए । १५ बल सामना गरेका रिचार्डले पाँच चौका प्रहार गरे । अर्का ओपनर विपिनले पनि १५ बल सामना गर्दै एक–एक छक्का र चौका प्रहार गरेका थिए । 

औसत सुरुवात गरेको पोखराको तेस्रो र चौथो नम्बरका ब्याट्सम्यान सस्तोमै पभेलियन फर्किए । रित गौतम र सहान आरिचिगे समान दुई–दुई रनमै सीमित भए । मध्यक्रमका असेला गुणरत्ने र विनादे भण्डारीले पोखराको इनिङ उकास्न प्रयास गरे । श्रीलंकाका असेलाले २४ बलमा ३४ रन जोडे । त्यसैगरी कप्तान विनोदको नाममा २२ रन रह्यो । बाँकी कुनै पनि खेलाडीले दाहोरो अंक जोड्न सकेनन् । 

चितवनका लागि कमल ऐरीले सर्वाधिक चार विकेट लिए भने करिम जनत र सेकुगे प्रसन्नको नाममा समान दुई–दुई विकेट रह्यो । त्यसैगरी, सोमपाल कामी र सागर ढकालले एक–एक विकेट लिए । 

विजयी टिम चितवनका लागि भिम शार्कीले अर्धशतक प्रहार गरे । ४५ बल सामना गरेका भिमले दुई छक्का र सात चौकाको सहयोगमा ६३ रन बनाए । यसअघि चितवनले निकै खराब सुरुवात गरेको थियो । उसले ओपनर हमिस अन्सारीलाई शून्यमा गुमाएका थियो । अर्का ओपनर मोहम्मद शहाजाद ११ रनमा सीमित भए । त्यसैगरी तेस्रो नम्बरका ब्याट्सम्यान करिम जनतले पनि रनको खाता खोलेनन् । 

चितवनका लागि दिलिप नाथले १४ रन जोडे भने राजेश पुलामीले १८ को योगदान गरे । बाँकी ब्याट्सम्यानले उल्लेख्य स्कोर गर्न सकेनन् । बलिङतर्फ पोखराका किशोर महतोले २७ रन खर्चेर चार विकेट हात पारे भने नन्दन यादवको नाममा दुई विकेट रह्यो । 


 


Author

थप समाचार
x