अपराध

डलर देखाइ लुट्ने धन्दामा परिवारै संलग्‍न, आम्दानीको पैसा मिटरब्याजमा लगानी गर्थे

अतिन आचार्य |
फागुन १३, २०८० आइतबार १७:३६ बजे

काठमाडौँ- डलर देखाई ठगी गर्ने  मनी एक्सचेन्जका सञ्चालक, श्रीमान र श्रीमती पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शंकर रेग्मी, रामबहादुर तामाङ र बिबि तामाङलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ७१ हजार रुपैयाँ र ६ सय ७ अमेरिकी डलरसहित उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट कार्यालय टोलीले नियन्त्रणमा लिएको हो ।


सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ का स्थायी घर भएका काठमाडौँ गोकर्णेश्‍वर ४ का ६० वर्षीय तामाङ, सिन्धुपाल्चोक साँगाचोकगढी घर भएकी ३ की गोकर्णेश्वर १ की तामाङ र रौतहट चन्द्रपुर ७ का काठमाडौँ महानगरपालिका २६ बस्ने ३७ वर्षीय फरेन मनी एक्सचेन्ज सेन्टरका रेग्मी पक्राउ परेका हुन् ।

तामाङ दम्पतीले काठमाडौँका विभिन्न व्यवसायीलाई फोन गरी अमेरिकन डलर छ भनी फोन गर्ने गरेको कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए । तामाङका परिवारै डलर ठगी धन्दामा संलग्न रहेको उनले बताए ।

यसअघि पनि राम बहादुरका दुई छोरा डलर ठगी धन्दामा पक्राउ परिसकेका थिए । विकास तामाङ र साजन तामाङ उनीहरू भने धरौटीमा रिहा भइसकेका छन् ।

‘रामबहादुर एक दशकदेखि डलर साट्ने धन्दामा संलग्न रहेका थिए,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने,’ उनको धन्दामा परिवारले सहयोग गर्थे । श्रीमती, छोराहरू तथा अन्य आफन्तहरू लागेका थिए ।‘

डलर साट्ने हरेक धन्दाको गिरोहमा राम बहादुरको कुनै-कुनै हिसाबले संलग्नता रहेर टुंगिने गरेको विभिन्न घट्नाले पुष्टि गर्ने अनुसन्धान अधिकृतले बताए । डलर साट्न उनले विभिन्न होटलका सञ्चालकलाई सस्तो दरमा उपलब्ध गराउने भनेर प्रलोभन देखाउँथे ।

राम बहादुरले होटल सञ्चालकको भिजिटिङ कार्ड लैजान्थे । उनले आफैँ होटल सञ्चालकलाई फोन गरेर एक दुई पटक तपाइको होटलमा ग्राहक बनेर गएको बताउँथे ।

‘मसँग अमेरिकी डलर ५० हजार छ । बैंकको रेट भन्दा सस्तोमा डलर उपलब्ध गराउने भनेर फोन गर्थे,’ तीनको भनाइ उद्धृत गर्दै अधिकृत भन्छन्,’ पैसा लिन जाने मानिस पनि फाइदा हुने आशामा पैसा साट्न जान्थे । तर, उनी पूरा पैसा भने हातबाट नलिइकन केही बैंकिङ कारोबार गर्न लगाउँथे ।‘

काठमाडौँ, सुनसरी, सोलुखुम्बु, धनगढी, कास्की,  स्याङ्जा र बाग्लुङ लगायतका अन्य जिल्लाका उनका ग्राहकहरू थिए । सबैलाई उनले सुरुमा चिनजान जस्तै गरेर फोन गर्थे ।

रामबहादुरले डलर दिनेबेलामा काठमाडौँ उपत्यकाका सीमाना जिल्लाको जंगलमा बोलाएर दिने गर्थे । केही डलर देखाएर दिन्थे र बाँकी नक्कली डलर भने कपडामा पोको पारेर दिन्थे ।

सिन्धुली, मकवानपुर र रसुवाको जंगल आसपासमा ग्राहकलाई रामबहादुरले डलर दिने गर्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जानकारी दिए । उनले प्रयोग गरेको सिमकार्ड दोस्रो पटक फोन गर्दा लाग्दैन थियो । पीडितले पुनः फोन गर्दा फोन लाग्दैन थियो ।

रामबहादुर र श्रीमतीले  मनी एक्सचेन्ज सेन्टरमा नक्कली डलर भने सक्कली डलरको आकारमा कागज काट्ने गर्थे । ठमेलको ज्याठामा बसेर डलरको साइजमा कागज काटेर तयार गर्थे ।

‘रामबहादुरले डलर लिन आउने ग्राहकलाई यहाँ नखोल्नु र पर कहीँ कतै टाढा पुगेर पोका खोल्न आग्रह गर्थे । डलर दिन जाँदा आफूहरू सहभागी नभइ अरुलाई प्रयोग गर्थे ,’ उनले थपे,’ उनको श्रीमती बीबी भने को-को मानिस कसरी आएको छ भनेर परबाट हेरेर जानकारी दिन्थिन् । उनको काम भनेकै डलर लिन आउनेलाई यताउता बोलाएर सम्पर्क गराउने काम गर्थिन् ।‘

डलर साटेर प्राप्त गरेको रकम विभिन्न सहकारीमा राख्थे उनीहरूले । ‘फिक्स डिपोजिटमा राख्थे र केही रकम भने मिटरब्याजमा लगानी गरेको एक प्रहरीले इकागजलाई बताए ।

मनी एक्सचेन्जमा लगेर उनले पटक-पटक डलर साट्ने गर्थे । मनी एक्सचेन्ज सञ्चालकले राष्ट्र बैंकको मूल्य भन्दा कममा डलर दिने गरेका थिए । सोही अनुसार रामबहादुरको मनी एक्सचेन्ज सञ्चालक रेग्मीसँग चिनजान बढेको थियो ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x