अपराध

लागुऔषधकाे जालाे : सशस्त्र प्रहरीका हवल्दारसहित ११ जना पक्राउ

सन्दिप कुमार बैश्य |
फागुन २७, २०७८ शुक्रबार १९:१३ बजे

काठमाडाैँ –  लागुऔषध नियन्त्रण ब्यूरोले खैराे हेरोइनको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीका हवल्दारसहित ११ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लालबहादुर बुढाथोकी, अजय तामाङ, दोलखाका कौशल बस्नेत, सिन्धुपाल्चोकका समीर घले गुरूङ, झापाका अन्जान राई, सञ्जय लक्सम्बा, पुकार गुरूङ, प्रविण भण्डारी, सुनिल ताजपुरिया, भारत दार्जिलिङका श्यामल सिंह रहेका छन्। 


त्यस्तै लागुऔषधको कारोबारमा संलग्न रहेकाे आराेपमा सशस्त्र प्रहरी बलमा कार्यरत हवल्दार खगेन्द्र भुजेललाई पनि पक्राउ गरिएकाे ब्यूरोका प्रवक्ता तथा एसपी जीवनकुमार श्रेष्ठले बताए।

पक्राउ परेकाहरुको साथबाट ३२२.६ ग्राम हेरोइन बरामद भएको ब्यूरोले जनाएको छ । सुरुमा एक जनालाई पक्राउ गरी ती व्यक्तिले दिएकाे बयानका आधारमा अन्य १० जनालाई पक्राउ गर्न ब्यूराे सफल भएकाे एसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार माघ २४ गते एक सय मिलिग्राम ब्राउन सुगरसहित म्याग्दीको मंगला गाउँपालिका- ५ स्थायी घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका २५ वर्षीय बुढाथोकीलाई पक्राउ गरिएको थियो ।

उनीमार्फत दोलखाको भीमेश्वर नगरपालिका- १३ स्थायी ठेगाना भएका २५ वर्षीय बस्नेत र सिन्धुपाल्चोक घर भएका गुरुङ बूढानिलकण्ठबाटै २१ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

त्यस्तै बस्नेतलाई लागु औषध उपलब्ध गराउने झापाको हल्दिबारी स्थायी घर भएका २४ वर्षीय राई र उनका सहयोगी झापाकै बुद्ध शान्ति गाउँपालिकाका २३ वर्षीय लिम्बु ७.५ ग्राम ब्राउन सुगरसहित माघ २५ गते पक्राउ परेका थिए ।

राईलाई पनि बिक्री गर्ने गरेका झापाको विर्तामोडका २९ वर्षीय तामाङलाई २ सय ९४ ग्रामसहित माघ २६ गते पक्राउ गरिएको ब्यूरोले जनाएको छ। सोही दिन बिर्तामोडकै २८ वर्षीय पुकार, ३० वर्षीय भण्डारी र माघ २७ गते झापाको दमकका २८ वर्षीय सुनिल ताजपुरिया पक्राउ परेका थिए ।

फागुन १ गते भारतको दार्जिलिङ घर भएका ३१ वर्षीय सिंह र फागुन १६ गत झापामा कार्यरत सशस्त्र प्रहरीका हवल्दार, मोरङ घर भएका ३९ वर्षीय भुजेल पक्राउ परेका थिए । पक्राउ परेका उनीहरुविरुद्ध लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भरहेको एसपी श्रेष्ठले बताए ।


Author

सन्दिप कुमार बैश्य

बैश्य इकागजका संवाददाता हुन् ।


थप समाचार
x