रोग र उपचार

स्वास्‍थ्‍य सेवा

काठमाडौँका सरकारी अस्पतालमा डिजिटल सेवा, तर बिरामीको सास्ती उस्तै

‘हातमा मोबाइल हुँदा पनि प्रविधि प्रयोग गर्दैनन् सेवाग्राही’

अतिन आचार्य |
मंसिर २१, २०७८ मंगलबार १५:४८ बजे

काठमाडौँ- उपत्यका विभिन्‍न सरकारी अस्पतालमा अनलाइन टिकेटिङ बुकिङ सुरु भइसकेको छ । वीर, सिभिल, त्रिवि शिक्षण र मनमोहन अस्पतालमा बिरामीले स्वास्थ्य परीक्षण गर्न अनलाइनबाट टिकट बुक गर्न सक्नेछन् । बिरामीका लागि अनलाइनबाट टिकट लिने व्यवस्था मिदास प्रविधिले संयोजन गरेको हो ।

पछिल्लो समय प्रविधिले फड्को मारेसँगै स्वास्थ्य संस्थाहरूले डिजिटल प्रविधि भित्र्याउने थालेका छन् । अस्पताल पनि प्रविधिमैत्री हुन थालेका छन् । बिरामीहरूको सहजताका लागि अनलाइन टिकट बुकिङको व्यवस्था हुन थालिसेको छ । तर, अहिले उपत्यकाको विभिन्‍न अस्पतालहरुले अनलाइनबाट टिकट लिने व्यवस्था मिलाए पनि लाइनमा बस्‍नेहरूको भीड कमी हुन सकेको छैन । 


प्रविधिसम्बन्धी ज्ञानको कमीले अनलाइनबाट टिकट काट्न नसकिरहेको बिरामी र बिरामीका आफन्तले प्रतिक्रिया दिएका छन् । आवश्यक पर्नासाथ परीक्षण गर्नुपर्ने भएकाले बिरामीहरूले अनलाइनबाट टिकट बुकिङ् नगरेको पाइएको छ ।

प्रविधिमैत्री नहुँदा टिकटका लागि अस्पताल धाउनुपर्ने

सीता कार्की वीर अस्पतालको टिकट काउण्टरमा आधा घण्टादेखि बसिरहेकी थिइन् । उनी पेट दुख्‍ने समस्याले स्वास्थ्य परीक्षणका लागि आएकी हुन् । काउण्टरमा लामो लाइन भएकाले टिकट पाउन नसकिरहेकाे उनले गुनासो गरिन् ।

अस्पताल परिसरमा अनलाइनबाट टिकट लिन सकिने भनेर मिदासले जानकारीका लागि बुथ राखेको छ । अस्पतालमा आएका कुनै पनि बिरामीले त्यतातिर चासो दिएको  देखिएन । फाट्टफुट्ट मानिसहरु गएको देखिन्थे तर, तिनिहरूले मिदास प्रविधिको जानकारी पत्र बोकेर लैजाने गरिरहेका थिए ।

'अस्पतालमा आज आएर लाइन बसेमा आजै टिकट लिन पाइन्छ,' ५३ वर्षीय कार्कीले भनिन्,' एकै दिनको लागि अनलाइनबाट तुरुन्तै टिकट लिने व्यवस्था नभएको सुनेकी छु । ' अनलाइनबाट टिकट प्राप्‍त गर्नका लागि प्रविधिसम्बन्धी ज्ञान नभएकाले अनलाइनबाट टिकट नलिएको उनी बताउँछिन् ।

मकवानपुरबाट आएका सन्त लामाको पनि सीताको जस्तै समस्या छ । बिहानै ८ बजे अस्पताल आइपुगे पनि काउण्टरमा भीड लागेका कारण उनले टिकट पाएका थिएनन् । छातीमा समस्या देखा परेकाले उनी स्वास्थ्य परीक्षण गराउन आएका हुन् ।

लामालाई अनलाइनबाट टिकट लिन सकिने जानकारी छैन । 'टाढाबाट आउने भएकाले अनलाइनबाट टिकट बुकिङ गर्थे,' उनले भने,' अनलाइनबाट टिकट बुकिङ गर्न सकेको भए लाइनमा बस्नुपर्ने झन्झट हट्थ्यो ।'  

अस्पतालमा बिरामीले परीक्षण गर्न जानुभन्दा अघिल्लो दिन अनलाइनबाट सम्बन्धित रोगको डाक्टरका लागि टिकट बुक गर्नुपर्नेछ । तर, अनलाइनबाट सोही दिन बिरामीले टिकट लिन चाहेमा लिन भने पाउने छैनन् ।

अनलाइनबाट चाहेको डाक्टर र अस्पताल बुक गर्न सकिने

दैनिक अनलाइनबाट एक सय एक सय २० जनाले स्वास्थ्य परीक्षणका लागि टिकट बुकिङ् गर्ने गरेको मिदास प्रविधिका प्रतिनिधि अनुज लामिछानेले जानकारी दिए । उनका अनुसार 'मिदास एप' मा आफू जान चाहेको अस्पतालको नाम निस्कन्छ । अस्पतालको कुन रोगको विभागमा र समय उपलब्ध हुन्छ र त्यसैमा बिरामीले आफ्नो नाम बुक गर्न सक्‍नेछन् ।

बिरामीले अस्पतालमा गएर टिकटका लागि तिर्ने शुल्क र अनलाइनबाट तिर्नुपर्ने शुल्क एउटै छ । नयाँ बिरामीले अस्पताबाट ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्मको टिकट पाउने गरेका छन् । अनलाइनबाट फलो अपका लागि आउने बिरामीले भने १० देखि ४० रुपैयाँ तिर्नुपर्ने लामिछानेले जानकारि दिए ।

मिदासले उपत्यकाको चार अस्पतालबाट अनलाइनबाट टिकट लिने व्यवस्था मिलाएको छ । वीर, सिभिल, मनमोहन मेमोरियल र त्रिवि शिक्षण अस्पतालबाट समेत अनलाइन टिकट लिन म‌ंसिर पहिलाे साताबाट सुरु भइसकेकाे छ । धरानस्थिति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानबाट समेत अनलाइनबाट टिकट लिने व्यवस्था मिलाउन लागिएको लामिछानेले सुनाए । अनलाइनबाट टिकट बुकिङ्ग गर्दा बिरामीको समय बचत हुने र भीडभाड कमी हुने उनको भनाइ छ ।

प्रविधिसँग पहुँच नभएका र चेतनाको अभावले पनि मानिसहरूले अनलाइनबाट टिकट लिन सकिरहेका छैनन् । विस्तारै अभ्यस्त भएपछि बिरामीले अनलाइनबाट टिकट लिने लामिछानेको भनाइ छ । मिदासले ंदैनिक बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म स्वास्थ्यसम्बन्धी सुझाव मोबाइल एपबाट लिन सक्ने व्यवस्था मिलाएको छ । त्यसैगरी आवश्यक परेमा मोबाइलबाट डाक्टरसँग भिडियो परामर्शसमेत गर्न सकिने उनले बताए ।

बिरामीको सहजताको लागि प्रविधिमा 

ओपीडीमा दैनिक तीन सयदेखि चार बिरामी आउने गरेको वीर अस्पताल प्रशासनले जनाएको छ । भीड नहोस भनेर लाइनमा बसेर टिकट लिन आग्रह गर्दा पनि सेवाग्राहीले नमान्‍ने गरेको अस्पतालका एक कर्मचारी बताए ।'अस्पतालमा आएका प्रत्येक बिरामीलाई अनलाइनबाट टिकट बुक गर्नलाई भनिरहेका हुन्छौ,' ती कर्मचारीले भने,'सहज हुनेहरू अनलाइनबाट बुकिङ गरेर आउँछन् । टाढाबाट आउनेहरू अस्पतालमा आएर टिकट लिने गरेका छन् ।'

सेवाग्राहीको सहजताको लागि अनलाइनबाट टिकट बुक गर्ने व्यवस्था मिलाइएको अस्पताल प्रशासनले जनाएको छ । ‍विस्तारै प्रविधिसँग अभ्यस्त भएपछि प्रयोगमा ल्याउन सक्‍ने अस्पताल प्रशासनले विश्‍वास गरेको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x