सम्पादकीय

सम्पादकीय

झाँक्रीहरूको रुवाइमा अर्थ खाेज्‍नु व्यर्थ छ

इकागज |
असार १३, २०७९ १७:० बजे

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहरी विकास मन्त्री भएकी नेत्री रामकुमारी झाँक्री आइतबार पदबाट बाहिरिएकी छन् । उनीसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकाहरू पनि बाहिरिएका छन् । यी सबै विषय आफ्नो ठाउँमा छन् । तर, मन्त्री झाँक्री पदबाट बाहिरिँदै गर्दा उनका आँँखामा रसाएको आँसुले भिजेको छ, यतिबेला नेपाली समाज । धेरैजसो नेपाली उनको आँसुमा बग्दाबग्दा मूलभूत मुद्दा किनारामा छुटेको छ । 

निवर्तमान मन्त्री झाँक्रीको आँसु कृृत्रिम होइन । यो मान्न सकिन्छ । यो आँसु खुसीको आँसु पनि होइन । विषादकै आँसु हो, यो भन्न आँसुको ल्याब परीक्षण पनि गर्नुपर्र्दैन । तर, यस्तो लाग्छ– झाँक्रीको आँसु लिएर ल्याब परीक्षणको तयारी हुँदै छ । प्रयोगशालाबाट रगत–पानीको ग्रुप छुट्याउन सकिएला तर आँसुको ग्रुप भने ल्याबले हैन, सचेत आँखाले मात्र छुट्याउन सक्छ ।


यहाँ रामकुमारी झाँक्रीलाई शासक (अर्थात् शोषक) भइसकेका नेताको प्रतिविम्ब, प्रतिनिधि पात्रका रुपमा लिएर कुरा गरिँदै छ । यो फगत झाँक्रीको आलोचना होइन, सबै तथाकथित शीर्ष नेता, मझौला नेता, कार्यकर्ता, कुर्सीवाल कर्मचारीहरूको कुरा हो ।

आम नागरिक गरिबीको दुष्चक्रमा छन् । महँगो करले रेटिएका छन् । आफूहरूले खाईनपाई तिरेको कर जति धनीमानी र पहुँचवालाको विलासितामा खर्च हुँदा नागरिक रुवाइमा छन् । नागरिकहरू पीडाको पराकाष्ठा सहेर दिनदिनै पिल्सिएका छन् । टाउके शासक–प्रशासक र तिनका आसेपासेबाहेक सबैको आँखामा चौबीसै घण्टा आँसु छ, तर यहाँ नवधनाढ्यहरू पीडकहरूको आँसुको मात्र चर्चा छ ।

गरिब नागरिकलाई राज्यले दिएको सुविधा त्यही एउटा आँसु हो, अब त्यो पनि खोसिएको छ । आँसुमा पनि मन्त्री नै धनी भएपछि गरिबहरू शोकाकुल छन् । आफूहरू जसका कारण आँसुको दहमा डुब्नुपरेको छ, तिनै पीडकको आँसु पुछ्न तम्सिरहेका छन्, गरिब नेपाली । नेपाली जन दुनियाँमा सबैभन्दा सोझा सीधा छन् । र, सीधा भएकैले निर्धा छन् ।  अथवा निर्धा भएकैले सीधा छन् । 

गरिबको रोदनको कुनै आवाज छैन । गरिबको सुस्केराको कुनै सुनुवाइ छैन । गरिबको व्यथाको कुनै समाचार–कथा छैन । गरिबको पीडाको कुनै मल्हम छैन । गरिबले सहनुपरेको विभेदको कुनै न्याय छैन । गरिबले रोई रोई सहनुपरेको महँगीको यहाँ कुनै मूल्य छैन । 

भनिन्थ्यो– नेपालीको राष्ट्रिय रोग ग्यास्ट्रिक हो, तर यसो होइन राष्ट्रिय रोग अल्जाइमर्स हो । शासकहरूको खराब विगत तुरुन्तै भुलिहाल्ने भावुक नागरिक, लम्पट कार्यकर्ता, झोले ‘पत्रकार’, आसे ‘बुद्धिजीवी’, भागबन्डे ‘प्रतिपक्ष’ पाउनु शासकहरूलाई हाइसन्चोको विषय हो । 

पत्रकार–बौद्धिक समाज मन्त्रीको आँसुमा डुबेको छ । उनीहरूसँग कुनै प्रश्न छैन । दुनियाँमा प्रश्न नै पहिलो र अनिवार्य सर्त हो, पत्रकार–लेखकको । तर, यहाँ चाकडीबाज हुनु पहिलो योग्यता हो । जो जति बढी दल–व्यापारी–विदेशी–बिचौलियाहरूको पक्ष लिन्छ, त्यही बढी गफ दिन्छ, आदर्शको । पत्रकारितामा पाखण्डको नमुना भनेर चिनिएको व्यक्ति नै यहाँ सबैलाई ठूलो स्वरले पाखण्डी भन्छ । मन्त्री झाँक्रीलगायत सबै मन्त्री ‘सोसल अडिट’विना कसरी उनीहरू नायक ? अनि पात्र जति सबै नायक हुन् भने निर्धाे नाटक चाहिँ प्रतिनायक ?

गरिब (भएका होइन, बनाइएका) को आँसुको यहाँ कुनै अर्थ छैन । गरिबको रोदनको कुनै आवाज छैन । गरिबको सुस्केराको कुनै सुनुवाइ छैन । गरिबको व्यथाको कुनै समाचार–कथा छैन । गरिबको पीडाको कुनै मल्हम छैन । गरिबले सहनुपरेको विभेदको कुनै न्याय छैन । गरिबले रोई रोई सहनुपरेको महँगीको यहाँ कुनै मूल्य छैन । 

हाम्रा शासक–प्रशासकले मानव संसाधनलाई विदेश निर्यात (बेच्ने) गरेर रेमिट्यान्सबाट धनी हुने नीति त लिएकै छन् । अब यिनीहरूले देशमा सबैभन्दा बढी उत्पादन हुने आँसु निर्यात गर्ने नीति लिएर भने देश समृद्ध बनाउने नीति ल्याउनेछन् । र, यो अचम्मको कुरा हुनेछैन । 

जो मन्त्रीले आफ्नो सम्पत्ति विवरणसमेत सार्वजनिक गरिनन्, (अरुले पनि गरेनन्), तिनको आँसुको अर्थ छ ? आदर्श व्यर्थ छैन ? नैतिकता व्यर्थ छैन ? जनताको आँसु सधैँ व्यर्थ बगिरहन्छ अनि मन्त्रीले पद पाइनँ भनेर बगाउने आँसुको कुनै अर्थ छ ?

रामकुमारी झाँक्रीले मन्त्रीका रुपमा गरेको, गर्न खोजेको नीतिगत, कार्यक्रमगत नयाँ सुधार कुरा के हो ? मन्त्री हुनुअघि सांसदका रुपमा पनि उनले संसद्मा के भनिन् ? के प्रस्ताव लिएर गइन् ? कुन आशा र सम्भावनाका कुरा गरिन् ? 

राजा ज्ञानेन्द्रको कदमविरुद्ध आन्दोलनको नेतृत्व गर्न उनले ठूलो योगदान दिइन् । केपी शर्मा ओलीको दुई–दुईपल्टको संसद् विघटनविरुद्ध उनले माहोल तताइन् । उनी निर्भीक नेता हुन् तर नमुना नेतृत्व होइनन् । सांसद र मन्त्रीका रुपमा उनले सृजना गरेको नयाँ संरचना के हो ? काठमाडौँ महानगरका नयाँ मेयर बालेन शाह तातेपछि लाज छोप्न केही सक्रिय भए जस्तो गरिन्, के यतिले उनको कुर्सी दायित्व पूरा हुन्छ ? 

टाउके शासक–प्रशासक र तिनका आसेपासेबाहेक सबैको आँखामा चौबीसै घण्टा आँसु छ, तर यहाँ नवधनाढ्यहरू पीडकहरूको आँसुको मात्र चर्चा छ ।

पार्टीमा झाँक्री पुस्ताका नेताहरूले लत्तो छोड्दा, लोभ र लालचमा भाग खोज्दा नेपाल, ओली, दाहाल, देउवाहरू मैमत्त भएका हुन् । बुढ्यौली उमेरका शिथिल नेताहरूकै परिक्रमा गर्ने उनी नयाँ पार्टीमा पनि सचिवमा बसिन् । उनले पार्टीको नेतृत्वको दाबीसमेत गरिनन् । पटकपटक सांसद, मन्त्री, प्रधानमन्त्री भइसकेका नेतालाई मालिक मानेर आफूहरू दास बन्न स्वीकार गर्ने नेताहरूको आँसुको अर्थ खोज्नु सर्वथा व्यर्थ छ । यिनै नेताहरूको कुशासनले गरिब नेपाली आँसुमा डुबेका छन्, अनि यिनै नेताको आँसुमा बहकिने कहिलेसम्म ? 

गठबन्धन सरकारले नीतिगत भ्रष्टाचारमा कीर्तिमान कायम गरेको छ । झाँक्रीहरू यही क्याबिनेटमा मन्त्री थिए । शैलजा आचार्य, जगन्नाथ आचार्य, महेश आचार्य जसरी बाहिरबाट कुनै विरोध नभए पनि भ्रष्टाचारको मुद्दा लिएर मन्त्री छोडेकी हुन् झाँक्रीले ? पार्टीले बाहिरिन सिफारिस गरेको २१ दिनसम्म मन्त्रीमा टाँसिइरहने झाँक्री कसरी नैतिक ? कार्यकर्तालाई ‘दास’ जस्तो बनाउने ‘कम्युनिस्ट’ पार्टीमा बसेर पार्टी आदेश नटेरी बिन्दास जस्तो बन्न त फेरि बालेन जसरी आउनुपर्यो नि । 

भ्रष्टाचारमा भागबण्डा खोज्ने, भ्रष्टाचार र अनियमितता टुलुटुलु हेरिबस्ने अनि बाध्य भएर कुर्सी छोड्ने नेतालाई रुने अधिकार छैन । रुन पाइन्छ, तर रुवाइको पानीले दाग पखाल्दैन । आफू सही हो भने मैले यो यो गर्न चाहेको थिएँ, मैले यो यो गरेँ भनेर भनेको खै ? 

झाँक्री पुस्ता र उनको–नर्सरीको मुख, मुखाले छ । नवीन कर्म गर्ने मन–मस्तिष्कमा खिया लागिसकेको छ । यिनीहरूले नवयुग ल्याए, तर नवयुगमा यिनीहरूले पुरानै युगका शासकलाई माथ गर्ने गरी आर्जन गरेका छन् । 

मैले कुनै आर्थिक अनियमितता र अनुचित कर्म गरेको छैन भन्ने हिम्मत छ भने मेरो सम्पत्ति छानबिन गर भन्ने साहस छ ? झाँक्रीजी ! आफ्नो सम्पत्ति सार्वजनिक गरेर छानबिनको आह्वान गरेर सबै नेता, कर्मचारीको सम्पत्ति छानबिन गरौँ भन्ने मुद्दा लिएर अभियान छेड्ने हिम्मत छ ? हैन भने झाँक्रीको रुवाइ मन्त्री पद छाड्दाको रोदनबाहेक केही पनि होइन । 
 



Author

थप समाचार
ad
x