सम्पादकीय

सम्पादकीय

‘ऐना झ्यालको पुतली’ले देखाएको सम्भावना

इकागज |
भदौ २९, २०७९ बुधबार १९:२१ बजे

एक सातायता एउटा नेपाली सिनेमा ‘ऐना झ्यालको पुतली’ चर्चामा छ । समीक्षकहरूले यसलाई ५ मा ५ दिएका छन् । थुप्रै लेखक, कलाकारले यसको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । आम दर्शक जसले यो सिनेमा हेरे, तिनले पनि धेरै नै राम्रो सिनेमा भनेर प्रतिक्रिया दिइरहेका छन् । हेरिसकेकाहरू दोहोर्‍याई–तेहेर्‍याई हेरिरहेको पनि भनिरहेका छन् ।

नेपालमा मात्र होइन, यो सिनेमाको चर्चा बाहिर पनि मनग्य भएको थियो र छ । यो सिनेमाले दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बङ्गलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल, अस्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा पुरस्कार/प्रशस्ति पाइसकेको छ । बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका लागि दक्षिण एसिया प्रतिनिधि पत्रकार मीनाक्षीले यो सिनेमाको भारी प्रशंसामा समीक्षा नै लेखिसकेकी छन् । 


नेपालमा पनि ‘नुमाफुङ’ जस्तो मौलिक सिनेमा तथा ‘दलन’ जस्तो ऐतिहासिक टेलिफिल्म बनाएका निर्देशक नवीन सुब्बाले ‘ऐना झ्यालको पुतली’लाई सह्राएका छन् । कुशल थियटर निर्देशक तथा कलाकार अनुप बरालदेखि फिल्म समीक्षक हुँदै निर्देशक बनेका दीपेन्द्र लामाले ‘ऐना झ्यालको पुतली’को सानो प्रशंसा गरेका छैनन् । सिनेमाविद् लेखक यज्ञशले पनि यसको काफी प्रशंसा गरेका छन् ।

पूर्वसिनेमा लेखक तथा साहित्यकार नयनराज पाण्डेले त यो सिनेमालाई ५ मा ५ नै दिएका छन् । रामबाबु सुवेदी, कुमार नगरकोटी, शिवानीसिंह थारु, अमर न्यौपाने, सुबिन भट्टराई, गिरीश गिरी, केशव दाहाल, सुजित मैनालीलगायत धेरै लेखकले यसको खुलेर प्रशंसा गरेका छन् । सरोज खनाल, केकी अधिकारी, स्वस्तिमा खड्का, सुरक्षा पन्तजस्ता कलाकारले पनि यसको गुणगान गाएका छन् । फेसबुकमा सिनेमा पारखीहरूको एउटा पेज छ, ‘मुभी लभर्स’ । त्यहाँ यो सिनेमाबारे सयौं सकारात्मक समीक्षा/प्रतिक्रिया देखिन्छ ।

आज ५८औँ राष्ट्रिय बाल दिवस । ‘ऐना झ्यालको पुतली’मा ऐना बनाइएको छ, बालबालिकाका निश्छल आँखाहरूलाई । बालबालिकाको रमाइलो शैलीदेखि गाउँघरतिर बालखैमा भोग्नुपर्ने दुःख यसमा देखाइएको छ । यो पारिवारिक सिनेमा हो । यो शैक्षिक सिनेमा हो । यो आर्थिक विषमताको कथा भन्‍ने सिनेमा हो । यो मनको दुःख देखाउने मनोवैज्ञानिक सिनेमा हो । यो साहित्यिक सिनेमा हो । अर्थात्, क्यामेराको भाषाले सुन्दर विम्ब सृजना गरिएको यो दृश्य कविता हो । 

सिनेमामा गाउँघरको दुःख–सुख जीवन्त बनेर आएको छ । दुई पुस्ताका नारीको विवशता तीतो यथार्थ बनेर उपस्थित छ । धेरै नेपालीले देखेभोगेकै सोझो कथा छ, यसमा । सोझो कथालाई स्वाभाविक अभिनयको सुन्दर कलाद्वारा देखाइएको हुँदा यो सिनेमा विशिष्ट बन्‍न पुगेको छ । डेढ घण्टा लामो यो सिनेमाले मन र मस्तिष्कमा दह्रो छाप छोड्छ । मौलिक नेपाली सिनेमाको लहरमा यो सिनेमा कथा र कला दुवै हिसाबले उत्कृष्ट मात्र हैन, सर्वाेत्कृष्ट नै छ ।

तर, अब प्रश्न उठ्छ, अभूतपूर्व सकारात्मक प्रतिक्रिया पाएको यो सिनेमाले हलहरूमा किन बास पाएन ? हलहरूले यसलाई किन पत्याएनन् ? धेरैजसो दर्शकलाई समय नमिल्ने अपायक समयमा यो सिनेमालाई अलिअलि बास दिइयो पनि अनि बास पाएका ठाउँमा पनि दर्शकहरू किन उस्तो ओइरिएनन् ? 

काठमाडौँ उपत्यकाबाहिर पनि यो सिनेमा खासै लगाइएन । पोखराबाट लेखक गनेस पौडेल, सरस्वती प्रतीक्षा र रमेश सायनले हेर्नै नपाएको भनेर लेखिरहेका छन्। दाङ, बुटवल, भैरहवा, विराटनगर, इटहरी सबैजसो सहरमा हलहरूमा यो सिनेमा छैन । महानगर, उपमहानगरमा त यो सिनेमा देखाइएको छैन, नगर र गाउँपालिकातिरको के कुरा ?   

सिनेमा पनि साहित्य, संगीत, रंगमञ्चजस्तै व्यापक छलफल हुनुपर्ने विषय हो । सिनेमा क्षेत्र हुल्लडबाजहरूको बग्लै टापु हुनुहुन्‍न, जसलाई नेपाली समाज, इतिहास, संस्कृतिको कुनै सरोकार नहोस् । 

हलले सो धेरै दिएनन् । दिएका ठाउँमा पनि दर्शक धेरै देखिएनन् । यस्तो किन हुन्छ ? यति धेरै समीक्षा/प्रतिक्रिया किन हलवाला र दर्शकसम्म पुगिरहेका छैनन् ? साहित्यिक पत्रकार अश्विनी कोइरालाले भने जस्तो ‘के हाम्रा लेखकलाई आम दर्शक पत्याउँदैनन् ?’ पत्याउँछन् भने हल हाउसफुल हुनुपर्ने गरी मनग्य समीक्षा आएका छन्, लेखकहरुबाट ।

समाजमा थोरैतिनो नाम भएका यत्रा लेखक/कलाकार/पत्रकार/समीक्षकले प्रशंसा गर्दा पनि दर्शक ओइरिएनन् ? किन ? के यी नाम आमदर्शकबीच अपरिचित हुन् ? के समीक्षकले दिने फाइभ स्टार रेटिङको अर्थ आमदर्शकबीच व्यर्थ छ ? के यी नामलाई आइडल मान्‍ने दर्शक एकदमै कम छन् त ? पत्रकारिताले प्रभाव गुमाउँदै गएको छ ? के यी नामले जहाँ फेसबुक र ट्वीटरमा बढी बोले, त्यहाँ आम दर्शक खास छैनन् ? आम दर्शक टिकटक र युट्युबका भाइरल कन्टेटमा छन् ? छन् भने अर्थात् जता हाटबजार माल उतै लगेर थाप्ने कि ? 

गन्यमान्यहरुबाट यति धेरै प्रशंसा पाएको सिनेमाले आमदर्शकलाई आह्वान गर्न नसक्नु विडम्बना बनेको छ । अनि हलवालाहरुलाई कुरा बुझाउन नसक्नु पनि अर्काे तीतो यथार्थ बनेको छ ।

हिजो आफ्ना साथी/शुभचिन्तकको सिनेमा त हो नि भनेर मन नपरेरै पनि केही लेखे/बोलेको हुनाले अहिले दर्शकले पत्याएनन् कि ? चोर आयो, चोर आयो भनेर पटकपटक झुक्याएपछि साँच्चिकै चोर आउँदा झुक्याएकै त होला भनेर कोही बचाउन नआइदिए जस्तो पो भएको हो कि ? हिजो ‘राम्रो राम्रो’ भनिदिँदा आज ‘साँच्चिकै राम्रो भनेको हुँ’, ‘मनैदेखि राम्रो भनेको हुँ’ भन्‍नुपरेको छ । यसो भन्दा पनि भएको छैन । 

बीस जना दर्शकबीच कीर्तिपुरको हलमा यो सिनेमा हेरिसकेपछि युवक उप्रेतीले लेखेका छन्, ‘ऐना झ्यालको पुतली जस्ता सिनेकर्मीले व्यावसायिक हिसाबले आफूलाई बचाउने हो भने अहिलेको अवस्थामा वरिष्ठ  फिल्म समीक्षक/रजतपट अङ्कल  प्रकाश सुवेदी, अर्का सर्वज्ञ पत्रकार ऋषि धमलाका कार्यक्रमहरूतिर जाने कि ? उहाँहरुकै सिफारिस पाए मात्र दर्शक आउने हुन् कि ? भाइरल कन्टेन्ट दिने युट्युब च्यानलको उपयोग गर्ने कि ? यस्ता गम्भीर फिल्मका सर्जक टिमले आफ्नो इगो एकछिनका लागि एकातिर लुकाएर भाइरलहरूको मञ्चको बढीभन्दा बढी उपयोग गर्नु नै अहिलेको आवश्यकता देखियो । राम्रा भनिएका केही कलाकार र लेखकले सिनेमालाई राम्रो, कलात्मक, मौलिक भनिरहँदा उता निर्माता भने टाट पल्टिने अवस्था देखियो ।’

सिनेमा फगत मनोरञ्जन मात्र होइन, कलात्मक इतिहास पनि हो । यो हाम्रो साहित्य, संगीत, रंगमञ्चजस्तै व्यापक छलफल हुनुपर्ने विषय हो । सिनेमा कमजोर हुँदा कमजोर भनेर लेखियो, बोलियो भने यो क्षेत्र बिस्तारै संलिग्ँदै जान्छ । सिनेमा क्षेत्र हुल्लडबाजहरूको बेग्लै टापु हुनुहुन्‍न, जसलाई नेपाली समाज, इतिहास, संस्कृतिको कुनै अर्थ र सरोकार नहोस् । 

नराम्रो सिनेमाको आलोचनामा हामी जति शब्द खर्च गर्छाैं, राम्रोको प्रशंसामा पनि केही शब्द खर्च गरौँ । मन परेको छ भने मौन रहेर रिस गर्नुभन्दा खुलेर सिफारिस गर्नु राम्रो । उसो त राम्रो–नराम्रो सापेक्ष हो । सबैलाई उही र उस्तै लाग्नुपर्छ भन्‍ने छैन । विविधता नै लोकतन्त्रको सुन्दरता हो । तर, इकागज सम्पादकीय टिम ‘ऐना झ्यालको पुतली’जस्ता मौलिक सिनेमाबारे सम्पादकीय लेख्न पाउँदा गौरवान्वित छ ।

झ्यालबाहिर अर्थात् विदेशतिर उन्मुक्त उडेकी पुतली झ्यालभित्र अर्थात् देशभित्र झ्यालखानामा जसरी कैद हुनु सुहाउने कुरा होइन । बाहिरी मञ्चमा वाहवाही, देशमा हलवालाको कारबाही, यो मिल्दो छैन । ‘ऐना झ्यालको पुतली’ सिनेमा हेर्ने ऐना र आँखीझ्याल दुवै हो, भित्र आकृति देखिन्छ, बाहिर आकार । 

मौलिक सिनेमाको कच्ची बाटो थप फराकिलो होस् । कथा र कला गहिरो होस् । प्रभाव दीगो र अग्लो होस् । नेपाली सिनेमाले विश्वमञ्चमा आफ्नो शक्ति र सामर्थ्य बढाउँदै जाओस् ।
 


Author

थप समाचार
x