सम्पादकीय

सम्पादकीय

समय शोषक शासकहरू

इकागज |
पुस २२, २०७९ शुक्रबार १८:६ बजे

‘समयको महत्व’ शीर्षकमा निबन्ध नलेखेका पाठक भेटाउन गाह्रै होला । तर, यस्तो लाग्छ, समयको महत्व शीर्षकमै सबैभन्दा धेरै निबन्ध लेखेर समय बर्बाद भएको छ ।

समय कति महत्वपूर्ण छ, यो सबैले थाहा पाएकै कुरा हो । समयको गुणगान गाएर यहाँहरूको समय नष्ट नगरौँ । सीधै प्रश्न गरौँ । विद्यार्थी परीक्षा दिन्छन्, रिजल्ट आउन दुई वर्ष लाग्छ । शैक्षिक सत्र सकिँदासम्म गाउँमा किताब पाइँदैन । खानेपानी आयोजना तीन दशकसम्म पूरा हुन्न । विमानस्थल तीन दशकसम्म बनिसक्दैन । पासपोर्टको कागज लिन महिनौँ कुर्नुपर्छ । सवारी लाइसेन्स दुई वर्षसम्म पाइएको छैन । रसिदले धेरैको काम चलेको छ । 


‘घरभेटी’ले विकास गरिरहेको पोखरा–काठमाडौँ सडकबाट काठमाडौँ आइपुग्न एक दिनले पुग्दैन । मान्छे सिरियस बिरामी परेको हुन्छ । सरकारी अस्पतालको चापले एक वर्षपछि अप्रेसनको पालो आउँछ । आगो लागेर सब खरानी भइसकेपछि दमकल आइपुग्छ । चोर चोरेर अर्काे १० ठाउँ चोरिसकेपछि बल्ल पुलिस आइपुग्छ । प्लेन डिले त नेपालको संस्कार नै हो । विमान सेवा प्रदायकहरू सयौँ यात्रुलाई दिनैभरि विमानस्थलमा कुराइदिन सक्छन् । 

सरकारलाई विज्ञहरूले बुझाएका प्रतिवेदन वर्षाैंवर्ष बुझिएका छैनन्, सार्वजनिक गरिएका छैनन् । कति महत्वपूर्ण विधेयक थन्केर बसेका छन् । नागरिकता जस्तो विधेयकमा ढिलाइ हुँदा कति अनागरिक भएका छन् । अनागरिक हुँदाको पीडा शिक्षा, रोजगार, विदेश यात्रासम्म जोडिएको छ । यो ढिलाइ जीवनमरणसँग जोडिएको छ । सर्भर बिग्रेको बहानामा अत्यावश्यक काम रोक्ने ? प्रेस बिजी छ भनेर छपाइ तीन वर्ष रोक्ने ? 

न्यायालय राजनीतिक मुद्दाबाहेक सबमा ढिलो छ । भ्रष्टाचारका मुद्दा दशकौँदेखि थन्केका छन् । गरिब नेपाली यो जुनीमा न्याय नपाई मरेका छन् । अदालत परिसरमा गरिबहरूबाट निस्केका सुस्केराको हावा जोड्ने हो भने हरेक नेपालीको घरमा ग्यास सिलिन्डर भर्न पुग्छ । ढिलो न्याय पनि अन्याय नै हो भन्ने यहाँ सबैलाई थाहा छ । तर, थाहा मात्र छ । 

शिक्षा र स्वास्थ्य । परीक्षा र नतिजा । उपचार र सुनुवाइ । फैसला र आदेश । पाठ्यपुस्तक र औषधी । लाइसेन्स र पासपोर्ट । खानेपानी र बाटो । दमकल र एम्बुलेन्स । यस्ता संवेदनशील विषयमा पञ्चायत अर्थात् ३० वर्षभन्दा बढी समय लगाउने सर्वाधिक गैरजिम्मेवारहरू कुर्सीमा बसेको देशको नाम हो– नेपाल । र, नेपालका स्कुलमा समयको महत्व शीर्षक सबैभन्दा ‘पपुलर’ छ । शासकले समयमै किताब नछाप्दा विद्यार्थी समयको महत्व शीर्षकको निबन्ध पढ्न नपाएर समय बिताइरहेका छन् । 


Author

थप समाचार
x