सम्पादकीय

सम्पादकीय

ग्यास प्रयोग गर्न सिकाऊ, अनुगमन र अस्पताल बढाऊ

इकागज |
फागुन ४, २०७९ बिहीबार १७:३३ बजे

नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा हिजो बेलुकी घरमा राखिएको एलपी ग्यास सिलिण्डर विस्फोटमा परेर घाइते भए । उपचारका क्रममा डा. भण्डारीकी ममतामयी आमा हरिकला भण्डारीको आज बिहान मृत्यु भयो । डा. भण्डारीको नेपालमा उपचार हुन नसकी एयर एम्बुलेन्सबाट मुम्बई लैजानु पर्‍यो । यो घटनाले हरेक नेपालीको भान्सा कति असुरक्षित रहेछ भन्ने मात्र उजागर गरेको छैन, शरीर जलेको बिरामीको उपचारका लागि उचित उपचार हुन नसक्ने सरकारी लाचारीपन पनि छताछुल्ल तुल्याएको छ । 

आजभोलि सहरमा मात्र होइन, गाउँ–गाउँका घर–घरका भन्सामा खाना पकाउने ग्यास पुगिसकेको छ । अर्थात् हरेक भन्सामा ‘सिलिन्डर बम’ राखेर नेपालीहरू बसेका छन् । विदेशबाट डलर तिरेर आयात गरिएका यस्ता ग्यासले हरेक घरलाई असुरक्षित तुल्याइदिएको छ । दिनहुँजसो ग्यास सिलिण्डर विस्फोट भएका समाचार आउने गरेका छन् । ग्यास  प्रयोग गर्न नजान्नु पनि आफैँमा एउटा दुर्घटनाको कारक त हो नै । ग्यासलाई सुरक्षित तवरले कसरी प्रयोग गर्न सकिन्छ भन्ने जानकारी कमै गृहिणीहरूलाई थाहा होला । कमसल रेगुलेटरको प्रयोगले ग्यास चुहिने डर हुन्छ । ग्यास चुहिएको थाहा पाएर पनि कसरी सुरक्षित अवतरण गराउने वा दुर्घटना हुन नदिनेतर्फ सचेतनाको कमी छ । बजारमा व्याप्त कमसल गुणस्तरका रेगुलेटर नै ग्यास सिलिण्डर विस्फोटको मुख्य कारण त छँदै छ, त्यसमाथि म्याद सकिएका सिलिण्डरहरू पनि बजारमा छ्यापछ्याप्ती भेटिनु, त्यसको कुनै अनुगमन नहुनु अर्काे मुख्य कारण हो ।


ग्यास सिलिण्डर विस्फोट हुँदा ज्यान जाने उच्च जोखिम त्यसै पनि छ । त्यसले टोल, सहरमै ठूलो आगलागीका घटनासमेत गराउँछ । ग्यास सिलिण्डर विस्फोटका कारण टोल र बस्ती नै सखाप भएका घटना पनि छन् । यसबाट धेरै ठूलो जनधनको क्षति हुँदै आएको छ । तर अनुगमन गर्नुपर्ने सरकारी निकाय निच मारेर बसेका कारण यस्ता घटना बारम्बार हुँदै आएका छन् । फुटरिङ काटेर सिलिण्डर बेच्ने, पुराना र बिग्रिएका सिलिण्डर बेचेर नाफा कमाउने र बजारमा म्याद सकिएका थोत्रा सिलिण्डरको बिगबिगी हुँदा पनि सम्बद्ध जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय चुप लागेर बस्ने गरेका छन् । 

प्रशासन र वाणिज्य विभागले यस्ता थोत्रा, म्याद सकिएका, फुटरिङ काटिएका सिलिण्डरलाई बजारबाट जफत गरी ऐनअनुसार कारबाही गर्ने हो भने यस्ता घटना बारम्बार दोहोरिने थिएन । त्यसबाहेक मुलुकमा सञ्चालित ग्यास भर्ने प्लान्ट आफैँ कति मापदण्डमा चलेका छन्, त्यो अर्काे खोजीको विषय हो । ग्यास भर्ने प्लान्ट अनुगमन गरी कारबाही गरेको समाचार सार्वजनिक हुँदैन । यसको अर्थ कि अनुमगन हुँदैन, भएर कैफियत भेटिएमा भित्र–भित्र मिलाइन्छ । फलामको भाँडोको कुनै आयु हुँदैन भन्ने गलत सोचाइका कारण गृहणीहरूले सिलिण्डरको आयुतर्फ ध्यान दिएका हुँदैनन् । अनि म्याद सकिएर पनि त्यही सिलिण्डर पटक पटक भरिरहनु अर्काे अपराध हो । व्यापारीले पैसाका लागि जे पनि गर्छन् भन्ने त सिलिण्डिर फुटरिङ परिवर्तन गरेको घटना सार्वजनिक नै भएको हो ।

अर्काेतर्फ, आज चन्द्र भण्डारीलाई नेपालमा उपचार गर्न नसकी भारतको मुम्बई लैजानु पर्‍यो । आगोले जलेका बिरामीको उचित उपचारसमेत यहाँ नहुने यसले देखायो । यसबाट नेपालको स्वास्थ्य प्रणालीमाथि नै प्रश्न उठेको छ । एक मात्र बर्न अस्पतालमा समेत उपचार गर्न सक्ने हैसियत नभएका धेरै नेपाली छन् । पैसा नहुने जलेका बिरामीहरू मृत्युवरण गर्न बाध्य हुनुपर्ने दुःखद् अवस्था छ । अझ कीर्तिपुरबाहेक देशका अन्य प्रदेश वा सहरमा यस्ता अस्पताल छैन । अन्यत्रका बिरामीलाई समेत कीर्तिपुर नै ल्याउनुपर्छ । कीर्तिपुरमा सञ्चालित अस्पताल फेरि सरकारी होइन । यो त विशुद्ध मानवीय सेवाका लागि सामाजिक रूपमा स्थापित संस्था हो । यो संस्थालाई आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउनु सरकारको दायित्व थियो । यस्तै अस्पताल अन्यत्र ठाउँमा पनि खोल्नुपर्छ भन्ने चेत कुनै पनि सरकारलाई आएन। 

ग्यास उत्पादकहरूले घर–घरमा पुगेर ग्यास सुरक्षित तरिकाले प्रयोग गर्ने तरिका सिकाउनुपर्छ । आगलागीबाट बच्ने तरिका सिकाउनुपर्छ । स्थानीय सरकार वडावडाले यसमा काम गरुन् । व्यापारीलाई जिम्मेवार बनाउन र जनचेतना बढाउन उनीहरुले काम गर्न सक्छन् । 

तसर्थ, ग्यास सिलिण्डर विस्फोट हुन नदिन सरकार तत्काल बजार र ग्यास प्लान्ट अनुगमन गर्नुपर्छ । अनि भविष्यमा विभिन्न कारणले आगजनीमा परेर जलेका बिरामीको उचित उपचारका लागि यस्ताखाले अस्पताल स्थापना गर्न ढिला भइसकेको छ । हामी नेता भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्छाैं । उनकी ममतामयी आमाको निधनमा गहिरो श्रद्धाञ्जलि अर्पण गर्दर्छाैं ।


Author

थप समाचार
x