सम्पादकीय

सम्पादकीय

यो पुन:स्थापित प्रजातन्त्र फेरि विस्थापित नहोस्

इकागज |
फागुन ७, २०७९ आइतबार १७:३२ बजे

आज प्रजातन्त्र दिवस । जहानियाँ राणाशासन अन्त्य भएको दिन । राष्ट्रप्रमुख र सरकार प्रमुख दुवै वंश विशेषको हुने परम्परामा सरकार प्रमुख चाहिँ प्रजातान्त्रिक विधिअनुसार चुनिनुपर्छ भन्ने माग सुनिएको दिन । राष्ट्रप्रमुखमा पारिवारिक शासन कायम गरेर राणाकै नेतृत्वमा साझा त्रिपक्षीय सरकार बनेको विशेष सम्झना । जे होस्, २००७ सालको परिवर्तन आधुनिक नेपालको सबैभन्दा ठूलो जनक्रान्ति हो ।

त्यो कठोर समयमा विद्रोहको शंखघोष गर्ने सबै व्यक्तिप्रति हर नेपाली श्रद्धानत हुनुपर्छ । आज नेपाल जहाँ आइपुगेको छ, त्यो तिनै वीर सहिदहरूको साहदतीको परिणाम हो । आम नागरिकले लेख्न, पढ्न, बोल्नसमेत नपाइने बन्द समाजलाई जसजसले चुनौती दिए, ती सबै नेपालनिर्माता हुन् ।


इतिहास पढ्नु भनेको ती गल्तीबाट पाठ सिक्नु भनेको हो । गल्तीबाट पाठ सिक्ने कुरामा नेपाल जहिल्यै पछि परेको छ । गल्तीबाट पाठ सिकिँदो हो त प्रजातन्त्र संस्थागत हुन्थ्यो होला । प्रजातन्त्र विरोधीहरू सल्बलाउँदैनथे होला । ७० वर्षमा पटकपटक प्रजातान्त्रिक लडाइँ लड्नुपर्ने अवस्था आउनु दुःखद् हो ।

नेता र नागरिकको यही ताल हो भने फेरि आउन सक्छ, प्रजातन्त्र । प्रजातन्त्र पुनःस्थापना, प्रजातन्त्र पुनः पुनःस्थापना भन्नु वास्तवमा लाज लाग्ने कुरा हो । प्रजातन्त्र स्थापनाका लागि लडेको नेता र दलले प्रजातन्त्र पुनःस्थापनाका लागि पनि लडेको छु भन्नु वास्तवमा गर्वभन्दा पनि लाचारी हो । एक जीवनकालमा दशक दशकमा प्रजातन्त्रका लड्नुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ । यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा जनता जाग्नुपर्छ । सबै सधैं जाग्नुपर्छ । प्रश्न र आलोचनाले प्रहार गर्नुपर्छ । ताकि उनीहरूले बाटो नबिराऊन् । 

यदाकदा सुनिन्छ, नेपालमा प्रजातन्त्र बढी भयो, नेपाली छाडा भए, अनुशासन भएन ।

यो कुरा नबुझ्ने, इतिहास नपर्गेल्ने मान्छेले भन्ने कुरा हो । प्रजातन्त्र अर्थात् लोकतन्त्र अर्थात् गणतन्त्रको सही अभ्यास भएकै छैन । गणतन्त्रका हर्ताकर्ताको खराबी गणतन्त्रले भोगिरहेको छ । यो व्यवस्था सबैभन्दा लोकतान्त्रिक व्यवस्था हो । यसको विकल्प खोज्दा फेरि पछुताउ मात्र हात पर्नेछ । लोकतन्त्र विरोधी पात्र, दल र विचारलाई स्थान त दिनुपर्छ नै । तर, प्रश्न भने गर्नुपर्छ । कोही जात विशेष, धर्म विशेष, वंश विशेषको प्रधानता हुनुभन्दा सबै प्रधान हुन सक्ने व्यवस्था राम्रो होइन र भनेर सोध्नुपर्छ ।

एकदलीय व्यवस्था जस्तै सहमतीय, सर्वसहमतीय व्यवस्था पनि हानिकारक छ । यो तरिकाले फरक मतको हत्या गर्छ । यो लोकतान्त्रिक शैली होइन । यसको पनि विरोध हुनुपर्छ । विधिको शासन र सुशासन लोकतन्त्रमै खोज्ने हो, अरु तन्त्रमा यो गाह्रो छ । मानव अधिकार र स्वतन्त्रता लोकतन्त्रमै खोज्ने हो, अरु तन्त्रमा यो गाह्रो छ ।

हामी सुशासन चाहन्छौँ तर स्वतन्त्र मिडियाको विरोध गर्छाैं भने त्यो मिल्दैन । एउटा नभई अर्काे मिडियाले कुनै न कुनै विषय त उठाएकै छन् । यत्रा मिडियाले भ्रष्टाचारका काण्ड सार्वजनिक गर्दा त दबाब पुग्दैन भने बन्द समाजमा के हाल होला ? मिडियाले लेख्नै पाएन भने नागरिकले कसरी थाहा पाउने कुशासनका कर्तुत ? सक्षम न्यायपालिका लोकतन्त्रमा मात्र टिक्छ । लोकतान्त्रिक विधिअनुसार पदमा पुगेका कर्मचारी, न्यायाधीशले मात्र राम्ररी काम गर्न सक्छन् । टिके प्रथाले हिम्मत दिँदैन कसैलाई ।

लोकतन्त्रको विरोध गर्ने हक पनि लोकतन्त्रमा मात्र संरक्षित हुन्छ । सबैलाई प्रजातन्त्र दिवसको शुभकामना । फेरि प्रजातन्त्र पुनः पुनःस्थापनाको लडाइँ लड्नु नपरोस् । 
 


Author

थप समाचार
x