सम्पादकीय

सम्पादकीय

यो जित कसको ? खेलकुदको

इकागज |
बैशाख १९, २०८० मंगलबार १७:१४ बजे

एसीसी प्रिमियर कपको फाइनलमा जुन रोमाञ्चकता र कौतूहल अपेक्षा गरिएको, त्यस्तै भयो । तर, दर्शकमा पलपलको ढुकढुकी बढाउनमा चीर परिचित प्रतिद्वन्द्वी यूएई र नेपालको खेल त छँदै थियो, यसमा पानी पनि थपियो । सोमबारका लागि तय भएको फाइनल, यही पानीका कारण मंगलबारसम्म तन्कियो । यसमा पनि नेपालले समर्थकको ढुकढुकीको परीक्षा लिँदै ७ विकेटको सजिलो जित हात पार्यो । योसँगै नेपालले एसिया कपमा स्थान बनाउन सफल भयो ।

यो प्रतियोगितामा नेपालका केही खेलाडीले कीर्तिमान पनि बनाए । तर, योभन्दा पनि क्रिकेटप्रेमीका लागि गर्विलो खबर थियो, नेपालले एसिया कपमा पाकिस्तान र भारतसँग खेल्न पाउने ।


पाकिस्तानले सेप्टेम्बरमा आयोजना गर्ने एसिया कपमा नेपालले समूह ‘ए’ मा रहेर पाकिस्तान र भारतसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउने भएको छ । एसिया कपमा नेपालसँगै एसियाली टेस्ट राष्ट्रहरू पाकिस्तान, भारत, बंगलादेश, अफगानिस्तान र श्रीलंकाको सहभागिता हुने छ ।

नेपालका लागि एसिया कपमा छनोट हुनुको अर्थ नेपालले भारत र पाकिस्तानसँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्न पाउनु हो । जुन केही महिना अघिसम्म पनि कल्पना भन्दा बाहिरको कुरा थियो । किनकि धेरै भएको छैन जब नेपाल एकदिवसीय मान्यता जोगाउन संघर्षरत थियो । तर, पछिल्ला केही महिना नेपालले विजेता टिमले झैं खेल्ने गरेको छ । ११ वटा खेलमध्ये १० मा लगातार जित हात हासिल गर्नु, विजेता टिमको लक्षण हो । यसका लागि खेलाडी र प्रशिक्षक बधाईका हकदार छन् ।

भारत र पाकिस्तानसँग खेल्ने अवसर यो पहिलो भने होइन । आजभन्दा २१ वर्ष अघि नै नेपाल भारत र पाकिस्तानजस्ता देशसँग खेल खेल्ने संघारमा थियो । 
सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपालले एसिया कपका लागि ठाउँ पक्का गरेको थियो । राजु खड्काको कप्तानीमा नेपालले एसिया कपमा स्थान बनाएपनि दुई देशबीचको तनावका कारण भारतले पाकिस्तानसँग खेल्न नमानेपछि प्रतियोगिता नै रद्द भयो । जसका कारण छनोट भएर पनि नेपालले एसिया कप खेल्न पाएन ।

अरु खेलका खेलाडी भविष्यको खोजीमा विदेसिइरहेका खबरबीच क्रिकेटले पाएको यो सफलताको उच्च महत्व छ । यसले क्रिकेटका खेलाडीलाई जोगाएको छ नै अन्य खेलका खेलाडीलाई पनि आशान्वित बनाउन सफल भएको छ ।

तर, एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले २१ वर्षपछि पुनः एसिया कपमा स्थान सुरक्षित गरेको छ । एसिया कपमा स्थान बनाउनु भनेको नेपालका लागि सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपमा सहभागिता जनाएपछि कै ठूलो उपलब्धिका रूपमा रहेको छ ।

नेपाललाई एसिया कप जस्तो चर्चित प्रतियोगितामा छनोट गराउन नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईको योगदान तारिफ योग्य छ । चार महिनाअघि मात्र मुख्य प्रशिक्षकका रूपमा नियुक्त भएका देशाईले नेपाली टिमलाई जित्ने बानी बसालिदिएका छन् ।

देशाई मुख्य प्रशिक्षक नियुक्त हुँदा नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत १२ खेल खेल्न बाँकी थियो । र देशाईले ‘ह्याप्पी ड्रेसिङ रुम’ लाई निकै महत्व दिएका थिए । नभन्दै देशाईको प्रशिक्षणमा नेपालले लिग-२ का १२ मध्ये ११ खेलमा जित हात पार्यो र जिम्बाब्वेमा हुने आईसीसी विश्वकप छनोटमा स्थान सुरक्षित गर्यो । विश्वकप छनोटमा नेपालले श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वेजस्ता टिमसँग खेल्ने अवसार पाउने छ । लिग-२ अन्तर्गत पछिल्ला १२ मध्ये ११ खेलमा जित हात पारेसँगै नेपालले आगामी चार वर्षका लागि एकदिवसीय मान्यता पनि जोगायो ।

नेपालमा भएको एसिया कपमा पनि नेपालले समूह चरणमा तीन खेल जित्दा एक खेल वर्षाका कारण प्रभावित बनेपछि अंक बाड्न बाध्य भएको थियो । सेमिफाइनल खेल पनि वर्षाका कारण प्रभावित बनेपछि समूह चरणको प्रदर्शनका आधारमा नेपालले कुवेतलाई पछि पार्दै फाइनलमा स्थान सुरक्षित गर्यो । यूएईविरुद्ध फाइनलमा पनि नेपालले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दियो ।

पछिल्ला समय नेपालले एक पछि अर्को खेल जित्दै गर्दा हरेक खेलमा छुट्टाछुट्टै खेलाडीहरू नायक साबित भइरहेका छन् । कुनै एक खेलाडीमाथि मात्र भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको देखिन्छ । नेपालले बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइरहेको छ ।

अरु खेलका खेलाडी भविष्यको खोजीमा विदेसिइरहेका खबरबीच क्रिकेटले पाएको यो सफलताको उच्च महत्व छ । यसले क्रिकेटका खेलाडीलाई जोगाएको छ नै अन्य खेलका खेलाडीलाई पनि आशान्वित बनाउन सफल भएको छ ।


Author

थप समाचार
x