सम्पादकीय

सम्पादकीय

सीताका कारण नेपाल दहन नहोस्

इकागज |
असार १, २०८० शुक्रबार १८:४६ बजे

भारत र नेपालको सांस्कृतिक सम्बन्ध जटिल छ । समान सभ्यताको जगमा उभिए पनि सिमानाले केही कुरा छुट्याएको छ । जस्तो कि बुद्धको जन्म । बुद्ध बन्नुअघि उनी सिद्धार्थ गौतम थिए र उनी जन्मेको ठाउँ अहिलेको कपिलवस्तु जिल्लामा पर्छ । तर, सिद्धार्थ गौतम भारतको कुशीनगरमा गएर बुद्ध भए । यही आधारमा भारतले बुद्धलाई आफ्नो भनी दाबी गर्छ । अब बुद्ध नेपालका कि भारतका ? व्याख्याताहरूका आ-आफ्नै धारणा छन् ।

सीता भारतकी छोरी कि नेपालकी ? अहिले शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘आदिपुरुष’ ले यस्तै अर्को विभूतिको पहिचानमाथि बहस छेडेको छ । सीता भारतकी छोरी हुन् भन्ने संवादसहितको फिल्म प्रदर्शन हुन लागेपछि नेपालको सेन्सर बोर्डले यो तथ्य सच्याउन लगायो । नेपालका वितरक मात्र होइन फिल्मको निर्माण कम्पनी स्वयंले आफ्नो संवादमा त्रुटी भएको महसुस गरेर नेपालमा त्यो संवाद हटाएर चलाउने गरी मार्ग प्रशस्त खुला गरिसक्यो । यही आधारमा नेपालको सेन्सर बोर्डले फिल्मलाई प्रदर्शन अनुमति पनि दिइसकेको छ । र, नेपालका सिनेमाघरमा चलचित्र चलिरहेको पनि छ । तर, यो प्रकरणमा काठमाडौँ महानगरका बालेनको नाटकीय प्रवेशले भने चलचित्रझैँ कथामा अनेक घुम्ती आइरहेका छन् ।


उता फिल्म प्रदर्शनको तजबिज गर्ने संस्था सेन्सर बोर्डले प्रदर्शन अनुमति दिइसकेपछि बिहीबार साँझ काठमाडौँका मेयर बालेन शाहले एउटा स्ट्याटस राख्दै सीता भारतीय छोरी हुन् भन्ने शब्द नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने र यदि त्यसो नभए काठमाडौँ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिइने उल्लेख गरेका थिए । यसका लागि उनले सम्बन्धित निकायलाई तीन दिनको समय सीमा दिएको पनि उल्लेख गरेका थिए । योसँगै उनले सञ्चार मन्त्रालयलाई पत्र लेख्दै नेपालमा मात्र होइन विदेशमा पनि सो अंश हटाउनुपर्ने माग गरेका छन् । त्यसो नगरेमा उनले नेपालमा हिन्दी फिल्मको प्रदर्शन नै रोक्नुपर्ने अडान दोहोर्याएका छन् । 

उनको यो अडानलाई धेरैले सकारात्मक रूपमा लिएका छन् । केहीले मात्र सीताको जन्मस्थानलाई लिएर विवाद गर्नुपर्ने कारण नभएको बताएका छन् । तर, यही बीचमा बालेनको तीन दिनको अल्टिमेटमले भने कानुनी प्रश्न उठाएको छ । महानगरभित्र फिल्म चल्न दिने वा नदिने निर्णय गर्न सक्ने अधिकार मेयरसँग छ कि छैन ? धेरैको चासो छ ।

कानुनविदहरू भने काठमाडौँका मेयरले दाबी गरेझैँ हिन्दी फिल्म चल्न दिने वा नदिने निर्णय गर्ने अधिकार मेयरसँग नभएको बताउँछन् । महानगरपालिकासँग  त्यो क्षेत्रभित्र रहेका चलचित्र घरको कर उठाउने अधिकार मात्र रहेको उनीहरूको जिकिर छ । यस्तो अवस्थामा मेयर बालेनले जनताको ‘सेन्टिमेन्ट’सँग खेल्न मात्र यस्तो घोषणा गरेको बुझाइ बन्दै गएको छ । यता नेपालमा सेन्सर बोर्डले जेनतेन संवाद हटाए पनि भारतमा त्यहाँका निर्माताले आधिकारिक रूपमा यो संवाद हटाएको औपचारिक सूचना जारी गरेका छन् । केही भारतीय सञ्चारमाध्यमले भने निर्माताले यो संवाद हटाएको समाचार प्रसारण गरेका छन् जसलाई विश्वास गरिहाल्न सकिने ठाउँ छैन । यस्तोमा निर्माताले संवाद नसच्याउने र यता बालेनको दिएको तीन दिनको समय सीमा सकिने हो भने यो प्रकरण कसरी अगाडि बढ्ला ? यो प्रश्नले पनि पनि धेरैको उत्सुकता बढाएको छ ।

यो प्रकरणलाई थाती राखेर इतिहासतिर फर्कने हो भने विगतमा पनि भारतीय निर्माताले नेपालका भनी स्थापित भइसकेका व्यक्तित्वलाई आफ्नो भनी सिनेमामा दाबी गर्दा समस्या आएका छन् । ‘चाँदनी चौक टु चाइना’ भन्ने यस्तै भारतीय फिल्मले पनि बुद्ध भारतमा जन्मिएको संवाद राखेको थियो । नेपालमा उसबेला पनि भारतीय निर्माताको यो शैलीको आलोचना भएको थियो ।

अहिले पनि लगभग यही इतिहास दोहोरिएको हो ।

नेपाल र भारतको सम्बन्धको चर्चा गर्दा ‘रोटीबेटी’को सम्बन्ध प्राथमिकतामा पर्छ । सीता वा जानकीको प्रसंग यही सम्बन्धको दायरामा पर्छ र नेपालीहरू यही मान्यतामा विश्वास गर्दै आइरहेका छन् । त्यसैले चलचित्र वा सर्जकले यस्तो संवेदनशील कुरामा सचेत हुनु राम्रो हुन्थ्यो । तर, सर्जक भएनन् भनेर नेपाल आफैँ असंवेदनशील बन्न पनि सुहाउँदैन । किनकि धार्मिक अतिवाद र राष्ट्रियताका  मुद्दामा आगो सल्काउन त सजिलो हुन्छ, निभाउन त्यत्तिकै गाह्रो । यो प्रकरणमा नेपालको सेन्सर बोर्डले स्पष्ट र कडा निर्णय नलिएर अन्य पक्षलाई खेल्ने ठाउँ दिएको छ । तर, यो खेल निर्धारित समयमा सकिएन भने चाहिँ यसले दीर्घकालीन असर पार्न सक्छ । यसमा राज्य चनाखो हुन जरुरी छ । सीताका कारण त्रेता युगमा लंका खरानी भएको थियो । आधाअधि हनुमानबाट र बाँकी रामबाट । कलियुगमा फेरि सीताका कारण कुनै अनिष्ट नहोस् ।


Author

थप समाचार
x