सम्पादकीय

सम्पादकीय

नेपाल प्रहरीमा ‘तालेबानी’ शैलीको यातना

इकागज |
असार २७, २०८० बुधबार १८:१९ बजे

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हातखुट्टा बाँधेर यातना दिइएको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ । महोत्तरीको जलेश्वर नगरपालिका–८ फूलहट्टा घर भई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडि बाँधेर यातना दिएको भिडियोमा देखिन्छ । कार्यालयका प्रहरी निरीक्षक हेमन्त राईले रक्सी खाएको आरोप (अस्पतालमा प्रमाणित हुन नसकेको) लगाउँदै मध्ययुगीन बर्बरताको झल्को दिने गरी यातना दिएको प्रस्टै देखिन्छ । यो घटनाले नेपाल प्रहरीको शिर निहुराएको छ ।

सरकारी कार्यालयमा पदमा पुग्ने बित्तिकै आफूलाई निकै ठूलो ठान्ने र आफूभन्दा मुनिको कर्मचारी ‘मान्छे नै होइन’ जस्तो व्यवहार गर्ने प्रवृत्ति बाक्लै छ । विशेष गरेर कतिपय सेना र प्रहरीमा निम्न तहका कर्मचारीउपर हाकिम भनिएकाले घरको नोकरलाई भन्दा पनि घृणाजन्य व्यवहार गर्दै आएका छन् । जतिसुकै राजनीतिक परिवर्तन आए पनि कर्मचारीतन्त्रमा भने अझै पनि मध्ययुगीन सोच रहेको यस्ता घटनाले उजागर गर्छन् । कहिले ‘मुस्कानसहितको सेवा’ भन्ने कहिले ‘प्रहरी मेरो साथी’ भनेर सेवा प्रवाहमा उत्कृष्टता ल्याउन नेपाल प्रहरीले बेला बेलामा लगाउने नाराहरुलाई यस्ता घटनाले जिस्काइरहेको प्रतीत हुन्छ ।


संविधान र कानुनले कुनै पनि नागरिकलाई यातना दिन निषेध गरेको छ । अझ मानव अधिकारसँग सम्बद्ध यो विषय कानुनको पालना गर्ने गराउने जिम्मेदारी पाएको प्रहरीबाट भएको हुँदा जघन्य मानिन्छ । निज रायले कुनै गल्ती नै गरेको भए पनि विभागीय र प्रहरी नियमावलीअनुसार कारबाही गर्न सकिन्छ । हातखुट्टै बाँधेर यसरी यातना दिनु भनेको तालेबानी शैली हो । त्यसै पनि मानव अधिकार उल्लंघनमा अझै पनि नेपालको नाम विश्व मञ्चमा गुञ्जिरहने गरेको छ । पक्राउ गरेर ‘इन्काउन्टर’का नाममा हत्या गर्ने, लागूऔषध खल्तीमा हालिदिएर मुद्दा चलाउने, सरकारी वकिलसँगको मिलेमतोमा आफ्ना दुष्मनलाई तहलाई पक्राउ गरी मुद्दा चलाउने लगायतका गैरकानुनी र मानव अधिकारविरोधी कार्य नभएका होइनन् । पक्राउ गरेर हत्या गर्ने क्रममा पछिल्लो पटक कुमार पौडेलको प्रकरण अझै पनि सेलाएको छैन । राष्ट्रिय मानव अधिकार आयोगले ताकेता गर्दागर्दै पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय मौन बसेका छन् ।

निश्चय पनि नेपाल प्रहरीको योगदान स्तुत्य छ । केही एकाध सनक ‘हाकिम’ का कारण पूरै संगठन बदनाम हुनु राम्रो कुरा होइन । अहिलेको सूचना प्रविधिको युगमा सत्य बाहिरै छरपस्टै भएको छ । कसैले लुकाउन सक्ने अवस्था छैन । विराटनगरमा एक युवकले साइकल यात्रीलाई ज्यानै जाने गरी हानेको सीसीटीभी फुटेजको दृष्य सामाजिक सञ्जालमा यसैगरी भाइरल बनेपछि प्रहरीले ती उद्दण्ड युवालाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ । यसमा पनि प्रहरी जवान रायमाथि भएको यो राज्य आतंकरुपी बर्बरता यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ । पहिलेको जस्तो माथिको आदेशले घटना सामसुम हुने अवस्था छैन ।

संगठनमा एकाध यस्ता छुल्यहा र सन्काहा हाकिम हुन्छन् । तर यस्तो बर्बर यातना दिनुअघि ती राइले उनीभन्दा माथि पनि निकाय छन्, उनलाई पनि कारबाही हुन्छ भन्ने हेक्का राख्न सकेनन् । आफ्नै प्रहरीलाई यस्तो यातना दिने यी हाकिमले कुनै अभियोगमा हिरासतमा आउने ‘पाहुना’लाई कस्तो व्यवहार गर्दा हुन् ? प्रहरी मुख्यालयले यो प्रकरणलाई गम्भीरतापूर्वक लिएर छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ । उन्मुक्ति दिने हो भने अन्य प्रहरीका हाकिमहरुको पनि मनोबल मात्र बढ्ने छैन, प्रहरीमा तालेबानी शैलीको अर्काे आतंक हावी हुन जानेछ ।
 


Author

थप समाचार
x