शिक्षा

कार्यालय सहयोगीकै भरमा चलेका छन् विद्यालय

इकागज |
माघ ९, २०८० मंगलबार २०:१७ बजे

सुर्खेत- सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका आधा दर्जनभन्दा बढी विद्यालय बालविकास र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन् । आधारभूत तहलाई अनिवार्य, निःशुल्क र गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताइए पनि शिक्षकको अभावमा विद्यार्थी पढ्न वञ्चित हुँदै आएका छन् ।

बनगाड कुपिण्डे नगरपालिका वडा नं २ मा रहेको भगवती प्राथमिक विद्यालय बाहुनगाउँ, वडा नं ३ मा रहेको जनता प्रावि खरिक, वडा नं ४ मा रहेको बाललीला प्रावि देउली, वडा नं ९ मा रहेको काफलगैरी प्रावि सेरा, वडा नं १० मा रहेको प्रेमज्योति प्रावि पराजुल र वडा नं १२ मा रहेको दलित प्रावि ताल लगायतका विद्यालय शून्य दरबन्दी हुँदा बालविकास र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन् ।


सेरामा बालविकास र कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कक्षा १–३ सम्म सञ्चालन भएको उक्त विद्यालयमा २२ जना विद्यार्थी छन् । बाहुनगाउँ पनि कक्षा १–३ चलेको छ जसमा २४ जना विद्यार्थी रहेको रञ्जना आचार्य शर्माले बताइन् । बालविकास र कार्यालय सहयोगीले पढाइरहनु परेको उनको भनाइ छ ।

खरिकमा ३२ जना विद्यार्थी छन् जसमा दुई जना निजी शिक्षक र कार्यालय सहयोगीले पढाइरहेका छन् । पराजुलमा २५ जना विद्यार्थी छन् जसमा बालविकास र कार्यालय सहयोगीले पढाइरहेका छन् । यी सबै विद्यालय बालविकासदेखि ३ कक्षासम्म चलिरहेका छन् ।

नगरप्रमुख कर्णबहादुर बुढाथोकीले शिक्षामा आफ्नो पहिलो प्राथमिकता राखेको त्यस्तो ठाउँमा छिट्टै शिक्षक व्यवस्थापन गर्ने बताए । सामाजिक विकास समिति संयोजक तथा ७ नं वडाध्यक्ष जीवनसिंह ठकुरीको संयोजकत्वमा विद्यालय अनुगमन, व्यवस्थापन, दरबन्दी मिलान, विद्यालय समायोजन लगायतका काम गर्ने समिति बनेको र उक्त समितिको प्रतिवेदनअनुसार काम अघि बढाउने उनको भनाइ छ ।

प्रतिवेदनमा आएको निष्कर्षअनुसार दरबन्दी मिलान गरेर थप दरबन्दी थपघट गरेर शिक्षामा सुधार ल्याउने नगरप्रमुख बुढाथोकीको भनाइ छ । जिल्लामा ४३९ सामुदायिक विद्यालय रहेकोमा दरबन्दी र राहत गरेर १ हजार ६०२ जना मात्र शिक्षक रहेका छन् । 


Author

थप समाचार
x