शिक्षा

कक्षाकोठामा प्रवेश नपाएपछि नोबेलका विद्यार्थी सडक आन्दोलनमा

कलेज अगाडि नै प्लेकार्ड बोकेर प्रदर्शन

बाबुराम भण्डारी |
पुस १८, २०७८ आइतबार १६:८ बजे

विराटनगर । पढ्न आएका विद्यार्थीलाई सुरक्षागार्ड लगाएर गेटमै रोक्दै आएको विराटनगरस्थित नोवेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई दिएको स्पष्टिकरणमा भने नियमित रुपमा विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराइरहेको जवाफ दिएर ढाँटेको छ । 

नोवेलको अवरोधका कारण चिकित्सा शिक्षातर्फको एमबीबीएस, बीडीएस र बीएनएसमा शैक्षिक बर्ष २०२०÷२१ का लागि भर्ना भएर अध्ययनका लागि कक्षा कोठामा जान खोज्ने विद्यार्थीहरुले आइतबारसम्म पनि कलेजमा प्रवेश पाएका छैनन् । 


तर कलेजले भने भर्नाको आधिकारिक प्रक्रिया पुरा गरी सम्पर्कमा आएका विद्यार्थीहरुलाई नियमित रुपमा अध्ययन अध्यापन गराई आएको भन्दै ढाँटेको हो । नोवेलले तोकेको अतिरिक्त शुल्क तिर्न नमान्ने ७५ जना बढि विद्यार्थीहरुले मेडिकल कलेजमा आइतबारसम्म पनि प्रवेश दिइएको छैन । अतिरिक्त शुल्क नबुझाएकै कारण कलेजको कक्षा कोठामा जानबाट रोकिएका उनीहरुले कलेजको अगाडी आइतबार विहान १० बजेदेखि प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

अरिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई गेटमै सुरक्षागार्ड राखेर रोकेपछि नोवेललाई चिकित्सा शिक्षा आयोगले पुस १३ गते लिखित जवाफ पेश गर्न पत्र काटेको थियो । शुक्रबार जवाफ दिंदै नोवेलले आयोगलाई पठाएको पत्रमा ‘भर्नाको आधिकारिक प्रक्रिया पुरा गरी सम्पर्कमा आएका’ विद्यार्थीहरुलाई नियमित रुपमा अध्ययन अध्यापन गराई आएको भन्दै झुटो जवाफ पेश गरेको हो । नोवेलले यस्तो जवाफ आयोगलाई पठाइरहँदा विद्यार्थीहरु भने कलेजको कक्षा कोठामा प्रवेश नै नपाएर सडकमा आन्दोलन गर्न बाध्य बनेका छन् ।

नोवेलले इन्टर्नसिपका नाममा २ लाख ४० हजारसहित केयू सम्वन्धन, परीक्षा शुल्क, अनिवार्य होस्टल लगायतका अतिरिक्त शिर्षकमा एमवीवीएस÷विडिएस अध्ययन गर्ने विद्यार्थी र उनीहरुका अभिभावकहरुबाट थप शुल्क असुल गर्न खोजेको हो । प्रति विद्यार्थी ५ लाखभन्दा बढी असुल्न खोजेपछि विद्यार्थी र अभिभावकहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा अतिरिक्त शुल्क लिएको भौचरसहित उजुरी गरेका थिए । उनीहरुले पछि चिकित्सा शिक्षा आयोग नै गुहारेपछि आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले आएका गुनासाहरुका आधारमा सम्बन्धन खारेजसम्म हुनसक्ने चेतावनीसहित नोबेललाई स्पष्टिकरण दिन पत्र काटेका थिए । तर नोवेलले भने झुटो जवाफ दिएर आयोगलाई छल्ने प्रयास गरेको पाइएको हो ।

साथै नोवेलले आयोगलाई पठाएको विद्यार्थीहरुस“ग सम्झौता गरिने सम्झौताको प्रतिमा अरिरिक्त शुल्कको बु“दाहरु हटाएर पठाएको छ । आयोगको आँखा छल्न नोवेलले आयोगको निर्णय बमोजिम नै शुल्क लिएर अध्ययन अध्यापन गराई आएको र आयोगले तोकेभन्दा बढी कुनै शुल्क नलिएको समेत दाबी गरेको छ । 

आयोगले चिकित्सा शिक्षा स्नातक तह एमबीबीएसमा काठमाडौं उपत्यकामा ४० लाख २३ हजार र उपत्यका बाहिर ४४ लाख ३६ हजार ५२ रुपैयाँ शुल्क निर्धारण गरेको थियो । तर नोवेलले तोकिएको भन्दा अतिरिक्त शिर्षकमा विद्यार्थीहरुबाट शुल्क असुल्न खोजेपछि यतिखेर खुरुखुरु कक्षा कोठामा अध्ययन गर्नुपर्ने विद्यार्थीहरु अहिले एक्लै आन्दोलनमा उत्रिन बाध्य भएका छन् ।

यसैबीच नोवेल मेडिकल कलेजले एमवीवीएस÷विडिएस अन्तरगत मेडिकल कलेजमा पढ्न गएका विद्यार्थीहरुलाई फर्काएको भन्दै नेपाल मेडिकल विद्यार्थी एशोसिएशनले विरोध जनाएको छ । एशोसिएशनका केन्द्रीय अध्यक्ष डा. सुजन कडरियाले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाउँदै अध्ययनबाटै बंचित गराउने नोवेलको कदमप्रति कडा कानुनी कारवाही गर्न माग गरेका छन् । 

त्यसैगरी चिकित्सा शिक्षा संघर्ष अभियानका संयोजक मनिष भट्टराईले नोवेलले विद्यार्थीहरुबाट अतिरिक्त शुल्क लिन नपाउने भन्दै आफुहरु देशव्यापी रुपमा चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएको बताएका छन् । उनले केही विद्यार्थीहरुबाट लिइसकेको अतिरिक्त शुल्क समेत अविलम्ब अभिभावकहरुलाई फिर्ता गरी शैक्षिक कार्यक्रम सुचारु गर्न चेतावनी दिएका छन् ।


 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x