रोजगारी

९२ प्रतिशत श्रमिक सीप तथा तालिमबिना वैदेशिक रोजगारीमा गइरहेका छन् : श्रम सचिव भण्डारी

इकागज |
असोज १३, २०८० शनिबार १९:३ बजे

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यो वर्ष वैदेशिक रोजगारीमा गएका ९२ प्रतिशत श्रमिक सीप तथा तालिम नभएकाहरू गएको बताएका छन् ।

शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको श्रमिक सीप विकासमा नीतिगत व्यवस्था विषयक छलफल कार्यक्रममा बोल्दै सचिव भण्डारीले यस्तो बताएका हुन् । उनले नेपालको कानुनले वैदेशिक रोजगारीमा जानका लागि सीप र तालिम अनिवार्य आवश्यक भएकाे जिकिर गरे । उनले कानुनी व्यवस्था भए पनि नेपालबाट वैदेशिक रोजगारीमा जानेहरू मध्ये ९२ प्रतिशत श्रमिक सीपबिना विदेश गइरहेको बताए ।


सचिव भण्डारीले पछिल्लो वर्ष वैदेशिक रोजगारीमा गएका साढे ३ लाख नेपालीहरू मध्ये ९२ प्रतिशत तालिमबिना गएको उल्लेख गरे । सचिव भण्डारीले तालिम र सीपको सर्टिफिकेट आवश्यक पर्ने भएकाले तालिमबिनाको सर्टिफिकेट बोकेर विदेश जाने गरेको बताए । उनले सीपबिना वैदेशिक रोजगारीमा जाने गरेकाले नेपालमा आएर सामान्य सुनचाँदी बनाउने भारतीय कालीगढहरूले गर्ने आम्दानी भन्दा पनि कम रहेको बताए ।

नेपालमा सीप विकासका लागि तालिम दिने भनेर सबै मन्त्रालय र संस्थाहरूले गरिरहेको भन्दै अब सरकारले शिक्षा र श्रम मन्त्रालयलाई श्रमिक र एडभान्स तालिम सिटिभिटीलाई मात्रै दिएर अन्य सबै बन्द गर्न आवश्यक रहेको उनकाे भनाइ छ । उनका अनुसार तालिम दिने सरकारका धेरै संस्था भए पनि श्रम बजारमा तालिम दिने श्रमिकको अभाव रहेको छ । आन्तरिक श्रम बजारमा सीप विकास तालिम भएका श्रमिककाे माग धेरै रहेको छ ।

सचिव भण्डारीले काठमाडौँमा पल्विङको काम गर्ने भारतको उडिसा प्रदेशका ७ हजार ५०० सय मानिसहरू रहेको उल्लेख गरे । उनले फर्निचर, टायल मार्बल, सुनचाँदीका कालिगडहरू सबै भारतीय रहेको भन्दै भारतीयबाट नेपालमा आएका सुनचाँदीको पसल भित्र बसेर कमाउने आम्दानी सीप भएका नेपालीले गल्फ मुलुकहरूमा कमाए भन्दा बढी रहेको दाबी गरे । उनले नेपालका टेलरिङ तथा गार्मेटहरूमा ८० प्रतिशत श्रमिकहरू भारतीय श्रमिक रहेको बताए ।

उनले नेपालको श्रम बजारमा माग ठूलो छ तर नेपाली श्रमिकहरू नेपालमा नभएको बताए । उनले नेपाली श्रम बजारमा सीपको अभाव रहेको भन्दै नेपालीहरूले १७८ देशमा काम गरिरहेका बताए । उनले सीप र क्षमता भएका मानिसहरू १७८ देशमा काम गरेको भए नेपालको रेमिटेन्स अहिले आएको भन्दा दोब्बर हुनुपर्ने बताए ।

सरकारले तालिम र सीप विकासमा लगानी गर्न आवश्यक रहेको बताउँदै उनले सीप विकास गर्ने भनेर सरकारले योजना बनायो तर शिक्षा, श्रम र तालिम दिने संस्थाहरूको स्वार्थको कारण काम नभएको दाबी गरे ।


Author

थप समाचार
x