रोजगारी

भारतमा मजदुरी गर्नेहरू भन्छन् : दसैँमा घर गए गुजारा कसरी गर्नु ?

शेरबहादुर सिंह |
असोज २६, २०८० शुक्रबार २१:३७ बजे

नैनीताल (भारत)- कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिए । उनी नैनीतालमा यसरी बोक्न थालेको १८ वर्ष भयो । विक  साँझ बिहान नैनीतालस्थित एउटा होटलको नर्सरीमा काम गर्छन् । यसबाहेकको बाँकी समय भारी बोक्छन् । 

'भारी बोकेरै घरको खर्च धानेको छु, यो नगरे घरमा सबै ठप्प हुन्छ,' ४७ वर्षीय विकले भने । उनी केही दिनअघि मात्रै कालिकोट गएर नैनीताल काममा फर्किएका हुन् । उनले भने, 'घरमा छोरो बिरामी भएको खबर आयो, उपचारका लागि खर्च लगेर गएँ, अब घर ढिलै जान्छु, दसैँमा गइन्नँ ।' 


नैनीतालमा मजदुरी गरेर विकले मासिक रु ३० हजारसम्म कमाउँछन् । 'स्वदेशमै काम पाएको भए विदेश आउन मन थिएन, काम पाइहाले पनि उचित ज्याला पाइँदैन,' उनले भने, 'यहाँ दु:ख गरे अनुसारको पारिश्रमिक पाइन्छ ।' 

नैनीताललाई सुन्दर बनाउन धेरै नेपाली मजदुरको मेहेनत छ । नैनीतालको तल्ली र मल्ली ताल क्षेत्रमा सयौँ नेपाली मजदुर दिनरात भारी बोक्दै गरेको अवस्थामा भेटिन्छन् । कोही होटल त कतिपय स्थानीय साहुमहाजनको घरमा काम गरेर जीविका चलाउँदै आएका छन् । पछिल्लो समय सडक पेटीमा पसल सञ्चालन गर्ने नेपालीको सङ्ख्या बढ्दै गएको छ । नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैँको मुखमा समेत मजदुरी गर्नेको सङ्ख्या उत्तिक्कै छ । 

'दसैँमा घर परिवारसित बसेर पर्व मनाउने इच्छा कसको हुन्न र ?' कैलालीको घोडाघोडी नगरपालिका–२ का १८ वर्षीय रमेश रावतले भने, 'दसैँमा घर गए बाँकी समय गुजारा कसरी गर्नु ?' नैनीतालकै कमाइले घर परिवारको खर्च चलाएको उनको भनाइ छ । 

राजनीतिक परिवर्तन भए पनि स्वदेशमै रोजगारीका सम्भावना नदेखिनु दुःखद भएको रावतको भनाइ छ । उनी १२ कक्षाको परीक्षा दिएर मजदुरी गर्न नैनीताल आएका हुन् । रावतका बुबा पनि यतै मजदुरी गर्छन् । बुबाको साथले उनलाई मजदुरी गर्न सहज भएको छ । 'घरको परिस्थितिका कारण बुवासित यहाँ आएँ, धेरैभन्दा धेरै भारी बोकेर खर्चको जोहो गर्नु हाम्रो नियति नै बनिसक्यो,' रावतले भने । 

दसैँ तिहारमा कतिपय नेपाली घर जाँदा सो समयमा भारी बोक्ने काम बढी पाइने आशामा रावत बाबु–छोरा यसपाली नैनीतालमा बसेका छन् । यहाँ नेपाली मजदुर घरघरमा गएर तरकारी बेच्ने तथा होटलमा भाँडावर्तन सफा गर्ने काममा  बढीजसो खटिने गरेका छन् । चारैतिर पहाड अनि बीचमा आकर्षक नैनीताल अवस्थित छ । कोरोना महामारीमा सुनसान बनेको नैनीतालमा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । योसँगै नेपालीले पनि काम गर्ने अवसर पाएका छन् । 

नैनीताल, खुर्पा ताल, भीम ताललगायत क्षेत्रमा झण्डै पाँच सयको हाराहारीमा नेपाली कार्यरत छन् । नैनीताल क्षेत्रमा सिमेन्ट, छड, तरकारी, ग्यास सिलिण्डरलगायत अन्य घरायसी सामान ढुवानी गर्नमा उनीहरू दिनरात व्यस्त देखिन्छन् । दूरी तथा तौलका हिसाबले उनीहरूलाई पारिश्रमिक दिइन्छ ।  

'नेपाली नागरिक इमान्दार भएर लामो समयदेखि काम गर्दै आएका छन्,' नैनीतालका एक होटल व्यवसायीले भने, 'होटलमा तरकारी बोक्नेदेखि घर घरमा ग्यास पुर्याउने काममा नेपालीको ठूलो साथ र सहयोग छ ।'

बझाङ्गको तलकोटका नवराज विष्ट दसैँका लागि घरमा सरसामान पठाए पनि आफू भने नजाने मनस्थितिमा छन् । उनले भारी बोक्न थालेको झण्डै डेढ दशक भयो । होटलमा तरकारीको भारी बिसाउँदै गरेका विष्टले भने,  'यहाँको कमाइले घरखर्च चलाउन सहज भएको छ ।'

परिवारको पालनपोषण नैनीतालको भारी बोकाइले चल्दै आएकाले चाडपर्वको खासै महत्व नहुने उनी बताउँछन् । 'ताकत हुँदासम्म भारी बोक्ने हो, त्यसपछि घर जानु त छँदै छ,' विष्टले भने । 

कालिकोटको खानीत्रिवेणीका ५६ वर्षीय शेरबहादुर विकले भने नैनीतालमा भारी बोकेर कमाएको पैसाले छोरा जीवनलाई काठमाडौँमा लोकसेवाको तयारी गराउँदै छन् । 'छोरा पढाउन लाखौँ ऋण काढेको छु, दसैँ सम्झेर घर जाने अवस्था छैन, घर गए सब चौपट हुन्छ,' उनले भने, 'छोरो जागिरे होला र बुढेसकालमा घरमा सुखका साथ बस्न पाइला भन्ने आशामा भारी बोक्दै छु ।'

मुख्यतया सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक यहाँ रोजगारीका लागि आउने गरेका छन् । उनीहरूका लागि नैनीताल रोजगारीको प्रमुख गन्तव्य हो । बाजे, बुबादेखि नातिसम्मको पुस्ता यहाँ एकसाथ भारी बोक्ने गरेको पाइन्छ । यहाँ मजदुरी गर्ने अधिकांश नेपालीले आफ्नो कमाइ छोरा छोरीको पढाइमा खर्चिँदै आएका छन् । रासस


Author

थप समाचार
x