ऊर्जा

प्राधिकरणका पूर्व एमडी उत्तरकुमार श्रेष्ठ पनि इप्पानकाे चुनावमा भिड्दै

इकागज |
जेठ ३१, २०८० बुधबार १३:७ बजे

काठमाडौं– भोलि हुन लागेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को कार्य समितिको निर्वाचनमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा हालका बुटवल पावर कम्पनी (बीपीसी) का प्रमु्ख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले कार्यकारी सदस्यमा उम्मेदवारी दिएका छन् ।

ऊर्जा क्षेत्रमा आजीवन लागिपरेका श्रेष्ठ इप्पानलाई पारदर्शी ढंगले अघि बढाउन ‘स्वच्छ, सबल र सशक्त इप्पान’ बनाउन सँगै काम गरौं भन्ने उद्देश्यले आफ्नो संस्थाको तर्फबाट सहभागिता जनाउन लागेको बताए । 


इप्पानका हरेक निर्णय र काम–कारबाहीलाई पारदर्शी ढंगले अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै श्रेष्ठले इकागजसँग भने, ‘गलतलाई गलत र सहीलाई सही भन्नुपर्छ, विवादास्पद निर्णयहरू आइरहेका सन्दर्भमा सबैलाई समेटेर पारदर्शी ढंगले अघि बढौं भन्ने मेरो ध्येय हो ।’

विद्युत् प्राधिकरणमा झन्डै ३० वर्ष सेवा गरी संस्थाको प्रमुखसमेत भएका श्रेष्ठ पेशाले चार्टर्ड एकाण्टेन्ट (एफसीए) हुन् । उनले प्राधिकरणको संस्थागत वित्त विभागको जिम्मेवारी सम्हाल्दा भोटेकोसी पावर कम्पनीको अनधिकृत भुक्तानी दाबी पत्ता लगाई त्यसलाई रोकेर चर्चामा आएका थिए । ३६ मेगावाटको मेसिन राखेर ४५ मेगावाट बिजुली उत्पादन गर्दै बढी भएको ९ मेगावाटको बिजुली अमेरिकी डलरमा भोटेकासीले दाबी गर्दै आएको थियो ।

प्राधिकरणलाई भोटेकोसीको उक्त दाबी रकम भुक्तानी गराउन उच्च राजनीतिक तहबाट दबाब आएको थियो । यहाँसम्म कि नेपालबाट अमेरिका निकासी हुने तयारी पोशाक (कोटारहित) बन्द गरिदिने धम्कीसमेत आएको थियो । यी सारा धम्कीको कुनै परवाह नगरी आफ्नो अडानमा अडिग रही ९ मेगावाटको छुट्टै विद्युत् खरीद (पीपीए) भएको थियो । हाल भोटेकोसी पावर कम्पनी पूर्णतः नेपाली लगानीमा सञ्चालित छ ।

पद, उमेर, अनुभवका आधारमा यति धेरै वरिष्ठ व्यक्तित्व इप्पानको कार्यकारी सदस्यमा किन उठेको भन्ने इकागजको प्रश्नमा श्रेष्ठले भने, ‘इप्पानमा म पहिलोपटक जाँदैछु, संस्थाको तर्फबाट, इप्पानको विधानमै कार्यकारी सदस्यबाहेक अरु पदाधिकारीमा उम्मेदवारी दिन नपाउने विधान छ, त्यही भएर सदस्यमा दिएको ।’

विगत १० वर्षदेखि बीपीसीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठले बीपीसी र यसका सहायक कम्पनी, प्रत्यक्ष वैदेशिक लगानीका समेत गरी झन्डै एक दर्जन जलविद्युत् तथा सौर्य ऊर्जाका परियोजनाहरू अघि बढाइरहेको छ ।

पचास वर्षको इतिहास भएको बीपीसीको यात्रा ४०० किलोवाटको तिनाउ जलविद्युतबाट सुरु भएको छ । बीपीसी आफैले बिजुली उत्पादन गरेर आफै वितरण पनि गर्दै आएको छ— स्याङ्जास्थित आँधीखोला –९.४ मेगावाट) र प्यूठानमा झिमरुक (१२.५ मेगावाट) ।

बीपीसीका सहायक कम्पनीअन्तर्गत लमजुङस्थित न्यादी (३० मेगावाट) र लमजुङकै खुदी (४ मेगावाट) सञ्चालनमा छ । बीपीसीको अर्काे सहायक कम्पनी काबेली (३७.५ मेगावाट) नयाँ प्रक्रियामा निर्माणमा गएको छ ।

यसैगरी बीपीसीले प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गत मनाङ–मस्र्याङ्दी, तल्लो मनाङ–मस्र्याङ्दी र माथिल्लो मनाङ–मस्र्याङ्दी (तीनवटा गरेर कुल ६०१ मेगावाट) अघि बढाइरहेको छ । त्यस्तै १७० मेगावाटको मुगु कर्णालीको सम्भाव्यता अध्ययन पूरा भएको छ भने ७.९ मेगावाटको सौर्य ऊर्जा परियोजना पनि अघि निर्माण हुने क्रममा छ ।

इप्पानको अध्यक्ष पदका दुवै आंकाक्षी किरण मल्ल र गणेश कार्कीले पनि श्रेष्ठलाई इप्पानमा सहभागी हुन आग्रह गरेको उनले बताए ।

इप्पानको सात सदस्यीय खुला निर्वाचनमा १० जनाको उम्मेदवारी परेको छ । कार्यकारी सदस्यमा उम्मेदवारी दिएकाहरूमा उत्तरकुमार श्रेष्ठसहित अर्का चार्टर्ड एकाउन्टेन्ट टेकनाथ आचार्य (भिजन इनर्जी एण्ड पावर लिमिटेड), विजयमोहन भट्टराई (मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि.), भरतप्रसाद पराजुली (ब्रम्हायणी हाइड्रोपवार कम्पनी लि), कुवेरमणि नेपाल (रिडी पावर कम्पनी प्रा.लि.), मिथुन चक्रवर्ती प्रसाद पौडेल (राइजिङ हाइड्रोपावर कम्पनी प्रालि) छन् ।

यसैगरी वातावरणविद तथा शंकर बस्याल (नर्थ समिट हाइड्रो प्रालि), गृष्म ओझा (सानिमामाई हाइड्रोपावर लिमिटेड), सकुन्द ओझा (सानिमा हाइड्रोपावर लिमिटेड), दीपक पौड्याल (सानी भेरी हाइड्रोपावर कम्पनी प्रा.लि) ले पनि सदस्यमा उम्मेदवारी दिएका छन् । 


 


Author

थप समाचार
x