ऊर्जा

सरकारले अरु १५/२० हजार मेगावाट विद्युत् व्यापार लक्ष्य राखेको छ : ऊर्जामन्त्री

इकागज |
जेठ ३२, २०८० बिहीबार १६:४० बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- नेपाल र भारतको ‘परिस्थितिमा आएको फेरबदल’ ले १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात सम्भव भएको ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।

उनले न नेपाल हिजोको अवस्थामा छ न त भारत नै हिजोको अवस्थामा रहेको छ भन्दै दुवै देशको ‘परिस्थिति’ मा फेरबदल आएकाले नै १० हजार मेगावाटको निर्णय सम्भव तुल्याएको बताए ।


स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २१ औं वार्षिक साधारण सभालाई आज होटल हायातमा आयोजित कार्यक्रममा ऊर्जा मन्त्री बस्नेतले त्यस्तो परिस्थिति के ? त्योचाहिं खुलाएनन् ।

गत जेठ दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने ‘प्रारम्भिक हस्ताक्षर’ भएको थियो । नेपालमा भने भारतसँगको उक्त प्रारम्भिक हस्ताक्षरलाई विश्वास गरिएको छैन ।

बरु तल्लो अरुण र फुकोट जलविद्युत् आयोजना भारतलाई दिएर त्यसको बदलामा प्रधानमन्त्री दाहालले १५ वटा मुर्रा राँगो पाएको भन्दै उडाउने गरिएको छ । 
उनले भारत भ्रमण साँच्चिकै ‘ब्रेक थ्र’ (ठूलो प्राप्ति) नै रहेको बताउँदै भने, ‘परिस्थिति पनि विकसित हुँदै गएको छ । न नेपाल हिजो अवस्थामा छ, न भारत । कसलाई लगानी गर्नुपर्नेछ । तर, परिस्थितिमा आएको फेरबदलले यो सम्भव छ १० हजार मेगावाट । केही भएर नै निर्णय भएको हो ।’

उनले दुई देशबीच भएको प्रारम्भिक सम्झौता (१० वर्षमा १० हजार विद्युत् भारतले आयात गर्ने) कार्यान्वयनमा जाने ठोकुवा गरे । ‘जुन विषय–सन्दर्भले निर्णयसम्म पुर्‍याएको छ, यो कार्यान्वयनमा जान्छ भन्ने निश्चित छ ।’

उनले परिस्थिति र बुझाइबीच ‘ग्याप’ (अन्तराल) हुने पनि बताए । ‘हामीले ग्यापलाई फिल (भर्नें गर्ने कोसिस भने गरिरहनुपर्छ आगामी दस वर्षमा दस हजार मात्र होइन, १५, २० हजार मेगावाट निर्माण गर्नुपर्ने परिस्थिति हुन सक्छ,’ मन्त्री बस्नेतको भनाइ थियो ।

उनले सम्भव भएसम्म अरुसँग पनि विद्युत व्यापार गर्ने बताए । सरकारले अरु १५, २० हजार मेगावाट व्यापार गर्ने लक्ष्य राखेका भन्दै उनले भने, ‘पहिलो हाम्रो खपत क्षमता बढाउने हो, एउटा निश्चित सीमा लक्ष्य निर्धारण गरेर क्षमता विकास गर्नेबारे सोच्नुपर्नेछ ।’

यसका लागि एउटा गुरुयोजनासहित हामी जानुपर्ने पनि मन्त्री बस्नेतले उल्लेख गरे । ‘भारत, बंगलादेश र अन्य मुलुकसँग व्यापारको एउटा स्पष्ट खाका तयार गर्नुपर्नेछ । यसका लागि प्रसारण लाइन कसरी निर्माण गर्ने भन्नेमा पनि सोच्नुपर्नेछ,’ उनको भनाइ थियो ।

विद्युत् सिष्टम (प्रणाली) लाई अझ स्मार्ट (तीक्ष्ण विवेकी) कसरी बनाउने लगायतका एकीकृत योजना आवश्यक परेको पनि मन्त्री बस्नेतले सुनाए । ‘२०, २५ हजार उत्पादन गर्ने भनेर मात्र भएन, लगानी चाहियो, लगानीका लागि वातावरण चाहियो, त्यो भनेको कानुनी, प्रशासनिक व्यवस्थाहरूलाई तदनकुल बनाउनु पर्यो,’ उनले भने ।

सेवा प्रवाहलाई चुस्त दुरुस्त लगानीमैत्री बनाउन पनि उनले सुझाए । सरकारले एउटा लक्ष्य तय गरेको ती सबै कुरा (लगानी वातावरण) लाई ध्यानमा दिएर सरकार दृढ हुने र त्यो लक्ष्य पूरा गर्ने मन्त्री बस्नेतको सपना छ । 

‘लक्ष्य पूरा गर्ने आधार छ, दृष्टिकोण, प्रतिबद्धता र इमानदारिता चाहियो । यी तीन कुरासहित यो सरकार अघि बढ्छ । जुन लक्ष्य लिएको हासिल गर्न तयार तपाईंहरूका समस्या अप्ठेरा, कुनै पनि बेला राख्न सक्नुहुन्छ,’ उनको भनाइ थियो, ‘ती समस्या समाधान गर्न सरकारले तदारुकताका साथ पहल गर्छ ।’

यति भनेपछि मन्त्री बस्नेत पुनः भारत भ्रमणका सन्दर्भमा आए र भने, ‘भारत भ्रमणमा भएका सहमति सुविचारित हो । अब राजनीति होइन, सामाजिक रूपान्तरण, आर्थिक विकास, मुलुकको विकास र प्राथमिकताका बारेमा, मुलुकको समृद्धिमा योगदान गर्ने क्षेत्रहरू के के हुन भन्ने आधारबाट हेर्दा एउटा ऊर्जा छ । त्यहाँ केन्द्रित भएर जाने ।’

भारत भ्रमणको सन्दर्भ उल्लेख गरेपछि मन्त्री बस्नेत एकैचोटि नेपालको नदी बेसिनमा आधारित प्रसारण कोरिडरका बारेमा बोल्न थाले । भने, ‘बेसिन कोरिडरहरूमा प्रसारण लाइन बनिरहेका छन् । प्रसारण लाइन निर्माण सम्पन्न भएपछि पुनः उत्पादन वृद्धिको कुरा आउँछ । वितरणलाई स्मार्ट वितरण प्रणाली बनाउँदैछौँ । आन्तरिक खपत क्षमता वृद्धि ।’

उनले विकासका लागि ऊर्जाको एउटा नयाँ अभियान सरकारले सुरु गर्न लागेको पनि जानकारी दिए । आन्तरिक खपत वृद्धि गराउन अभियानकै रुपमा अघि बढिरहेको पनि उनले बताए । ‘ऊर्जा क्षेत्रमा समग्र ‘ब्रेक थ्रु’  गर्नेमा आइपुगेका छौं । अब त्यसमा अघि बढ्ने हो । त्यसको संघारमा छौं, यो सबैको योगफल हो,’ उनले भने ।

‘ब्रेक थ्रु को सम्भावना मात्र होइन हामी देखिरहेका छौं । त्यसका लागि हाम्रो ध्यान केन्द्रित गरेका छौं । अब सरकारसँग हातेमालो गरेर,’ उनले भने । केही दिनमा विद्युत विधेयक संसदमा पुर्याउने सरकारको योजना रहेको पनि उनले सुनाए । विद्युत व्यापारमा निजी क्षेत्रलाई साथमा लिएर सरकार अघि बढ्ने प्रतिबद्धता पनि दिलाए । ‘जे जे लक्ष्य निर्धारण गरेका छौं । ती सबै पुरा गर्न तपाईं–हामी सबैको सामूहिक प्रयत्न आवश्यक छ,’ उनले भने ।

‘तपाईंहरू (निजी क्षेत्र) निश्चित र निर्धक्क भएर आउनोस् । समस्या जहाँनेर हुन्छ बसेर कुरा गरौं त्यसलाई समाधान गरिनेछ,’ मन्त्री बस्नेतको उद्घोष थियो, ‘उत्पादन वृद्धि गर्नुछ, पूर्वाधार थप गर्नुपर्ने, यी सबै काम गर्न सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेछ । खुलस्त रूपमा तपाईंहरू राख्न सक्नुहुनेछ ।’


Author

थप समाचार
x