ऊर्जा

देशभित्र विद्युत् कटौती गरी निर्यात गरेको कुरा सत्य हाेइन : कुलमान घिसिङ

इकागज |
असार ३, २०८० आइतबार १६:३१ बजे

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र विद्युत् कटौती गरेर निर्यात गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै घिसिङले नेपालमा उत्पादित बिजुलीको मुलुकभित्रै खपत गरेर बाँकी रहेको बिजुली मात्रै भारतमा बेच्ने गरिएको बताए । उनले अहिले तराईका क्षेत्रमा विद्युत् लोड धेरै बढेका कारण वितरण लाइन र सिस्टममा देखिएको समस्याका कारण बत्ति जाने गरेको स्पष्ट पारे ।


उनले वितरण लाइनमा समस्या भएर एक घण्टा विद्युत् अवरुद्ध हुँदा प्राधिकरणलाई ठूलो घाटा हुने गरेको र उत्पादन गरिएको विद्युत् नै खेर जाने अवस्थाको सिर्जना हुने बताए । अहिले पिकआवरभन्दा अन्य समयमा उत्पादित विद्युत् बढी नै हुने गरेको र त्यसलाई भारतमा बेच्ने गरिएको उनको भनाइ छ ।

घिसिङले अहिले नेपालको विद्युत् खपत २ हजार मेगावाट पुगेको र उत्पादन कूल उत्पादन क्षमता २७ सय मेगावाट रहेको जानकारी दिए ।​​ उनले हरेक वर्ष विद्युत उत्पादन र माग बढिरहेको भन्दै समयमा नै ट्रान्समिसन लाइन बन्न नसके उत्पादन नै खेर जान सक्ने बताए । ट्रान्समिसन लाइन निर्माणमा देखिएका समस्याहरूलाई राज्यले गम्भीर भएर सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । 


Author

थप समाचार
x