उद्यम

महिला उद्यमीका लागि सूचना प्रविधि तालिम

इकागज |
पुस १, २०७९ शुक्रबार १६:५० बजे

काठमाडौँ- रोजगारी सिर्जना र व्यावसायिक सफलताका लागि महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधिसम्बन्धी तालिम दिने भएको छ ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा महिला चेम्बरले मुलुकभरका उद्यमी महिलालाई एकवर्षे सूचना प्रविधिसम्बन्धी तालिम दिन लागेको हो । शुक्रबार काठमाडौंमा तालिमसम्बन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लीमा अधिकारी र फाउन्डेसनका अध्यक्ष पङ्कज जलानले हस्ताक्षर गरे ।


तालिममा महिला चेम्बरको समन्वयमा स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरबाटै उद्यमी महिला छनोट हुने चेम्बरले जनाएको छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिको विकास तीव्र गतिमा अघि बढिरहेका सन्दर्भमा उद्यमी महिलालाई दिइने तालिम महत्वपूर्ण भएको बताए ।

त्यस्तै महिला चेम्बरकी सचिव अधिकारीले सूचना प्रविधिका माध्यमबाट महिलाहरूलाई दक्ष बनाउनका लागि सम्झौता गरिएको बताए । महिलाहरूलाई रोजगारको अवसरका लागि र महिलाले बनाएका सामग्रीहरूलाई अनलाइन माध्यमबाट बजारीकरण गर्न मद्दत पुग्ने उद्देश्यले तालिम दिन लागिएको उनले बताए ।

उद्यमी महिलाका लागि सञ्चार क्षमता, बजार प्रवर्द्धन, वेबसाइट डिजाइनलगायत विषयमा तालिम दिइने महिला चेम्बरले जनाएको छ । तालिम पुस १५ गतेदेखि सुरु हुने बताइएको छ ।


Author

थप समाचार
x